धनगढी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठक गर्नु गलत भएको बताएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गएका प्रधानमन्त्रीले विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु नीतिसंगत नरहेको बताए । साथै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र गोपनियताका कारण उपयुक्त नभएको पनि बताए ।
बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा नेता रावलले आधुनिक युगमा गयौं भन्दैमा अरु विषयको ख्याल नै नगरिनु राम्रो नभएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा छन् । उनले सोमबार भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक गरेका थिए ।
नेकपा स्थायी कमिटी सदस्य भीम रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताएका छन् ।
रावलले जिम्मेवार नेता डा. बाबुराम भट्टराईले टीकापुरमै आएर फेरि जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको आरोप पनि लगाए । मार्क्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन बाबुराम भट्टराई सक्रिय रहेको उनको आरोप छ ।
प्रतिक्रिया