भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दोस्रो कार्यकालका लागि झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेर शपथग्रहण गर्न राष्ट्रपति भवन जाँदै गर्दासम्म विदेशमन्त्री पदमा सुब्रमण्ड्यम जयशंकर नियुक्त होलान् भन्ने कसैले सोचेका थिएनन् । शपथग्रहण समारोहस्थलमा मन्त्रीहरूका लागि सजाइएको कुर्सीको पहिलो पंंक्तिमा जब मानिसहरूले उनलाई विराजमान भएको देखे, भाजपाका मात्र होइनन्, भारतभरिकै राजनीतिक पण्डितहरू आश्चर्यचकित भएका थिए । भाजपाका निर्वाचित सांसदहरूमै पनि दर्जनौं यस्ता सांसद थिए, जो त्यो पद सम्हाल्न योग्य र सक्षम थिए । त्यस्ता राजनीतिक व्यक्तिहरूलाई पन्छाएर विदेश सचिव पदबाट अवकाश प्राप्त गर्न नपाउँदै हठात् मन्त्री पदमा पदोन्नति र नियुक्तिको कारण र रहस्य धेरैले बुझ्न सकेका थिएनन् । अरूले पारख गर्न नसकेको गुण र क्षमताको पहिचान गरेर त्यस्ता व्यक्तिलाई प्रोत्साहित गर्नु र उसबाट सर्वोत्तम परिणाम निकाल्नु मोदीको विशेषता हो । त्यसमाथि विदेश मामलामा जयशंकरलाई मोदीका ‘ट्रबल सुटर’ मानिन्छ । यद्यपि नेपालका सन्दर्भमा मोदी र जयशंकर दुवै विफल भएका थिए– विसं २०७२ मा । विदेश सचिव भए पनि प्रधानमन्त्रीका विशेष दूतका रूपमा काठमाडौं आएर उनले संविधान निर्माणमा फास्ट ट्र्याक नअपनाउन र केही समय पर सारेर भए पनि सबैलाई समेटेर मात्र त्यो काम गर्न मोदीको सल्लाह र सुझावमा १२ बुँदे दिल्ली सम्झौताका सरोकारवालाहरूलाई मनाउन भरमग्दुर प्रयास गरेका थिए । तर भारत सरकारभित्रकै अर्को पक्षको दबाबमा त्यो प्रयास सफल भएको थिएन । त्यसपछि के भयो, त्यो निकट अतीतको घटना भएकाले सबैको स्मृतिमा ताजै छ, दोहोर्याइरहन पर्दैन ।
त्यस्तो अप्रिय प्रसंगको पृष्ठभूमिमा यसपालि जब उनले विदेश मन्त्रीका हैसियतमा नेपालको भ्रमण गर्ने सूचना प्रवाहित भयो, तब नेपालमा राजतन्त्र फर्काउने खिचडी पाक्न थालेको हल्ला, राजतन्त्रवादी अथवा विप्लववादीबाट होइन, सत्ताका शिखरमा विराजमान प्रधानमन्त्री ओली र नेकपाका पुष्पकमल दाहालले यसरी फिँजाए, मानौं उनी त्यही एजेन्डा लिएर आउन लागेका हुन् । त्यो पनि दिल्लीबाट आएका भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयलको नेतृत्वको टोली, काठमाडौंमा भ्रमण र भेटघाट सकेर फर्किएलगत्तै त्यस्तो हल्ला जंगलमा लागेको आगोजस्तै फैलिन पुगेको थियो । प्रधानमन्त्री र सत्ताधारी पार्टीका प्रमुख नेताले राजतन्त्र फर्काउने प्रयास कहाँ, कसले, कसरी गर्यो, त्यसको सुइँको दिएका छैनन्, केवल हावामा मुक्का हानेर बहादुर बन्ने कसरत गरिरहेका छन् । यथार्थमा मुख्य विषयबाट सबैको ध्यान अन्तै मोड्ने उनीहरूको पुरानै अभ्यासको पुनरुक्ति मात्र हो– राजतन्त्र फर्काउने कुरा । भारतका प्रधानमन्त्री मोदी, भाजपा र राष्ट्रिय स्वयमसेवक संघको पहिलो प्राथमिकता, राजतन्त्र होइन, हिन्दु राष्ट्रको पुनस्र्थापना हो । विश्वको एक मात्र हिन्दु राष्ट्रको गौरव र प्रतिष्ठालाई क्रिस्तान मिसनको सहयोग राशिसँग साट्ने नेपाली नेताहरूको त्यस बेलाको षड्यन्त्र भण्डाफोर हुने डरले उनीहरू अझै राजतन्त्रलाई सत्तोसराप गरेर आफ्नो अपराध छिपाउने प्रयास गर्दैछन् । कुरा त्यत्ति हो । हिन्दुराष्ट्र पुनस्र्थापित भएपछि त्यसको संरक्षकको खाँचोबोधले राजतन्त्रको आवश्यकताको स्थिति उत्पन्न होला, त्यो अर्कै पक्ष हो । अहिले जुन हौवा खडा गरिएको छ, त्यसको नियत राजतन्त्रको पुनरागमन रोक्नु होइन, हिन्दुराष्ट्रको पुनस्र्थापना रोक्न क्रिस्तान मिसनको थैलीको फुर्कोमा हात पुर्याउनु हो ।
२०५८ सालमा जब दरवार हत्याकाण्ड भएको थियो, त्यसबेला पनि यस्तै हत्कण्डा प्रयोग भएको थियो, वास्तविक हत्याराबाट सबैको ध्यान हटाउन । बाबुराम भट्टराईले कान्तिपुरमा एउटा लेख छपाएका थिए, त्यो हत्या, ज्ञानेन्द्र शाहले नै गराएका हुन् भनेर । आमरूपमा हत्याकाण्डको आरोप जतातिर तेर्सिरहेको थियो, उनी त्यसलाई अर्को दिशातिर मोड्न प्रयोग भएका पात्र मात्र थिए भन्ने तब पुष्टि भयो, जब उनी आफैं प्रधानमन्त्री हुँदा अपराधीलाई कारबाही गर्न सिन्को भाँचेचेनन् । प्रसंग र पात्र भिन्न भए पनि प्रवृत्ति उही छ ।
यति केलाई सकेपछि प्रधानमन्त्री तथा नेकपाका आधा अध्यक्ष केपी शर्मा ओलीलाई हिजोआज राजतन्त्रको ‘मसाने’ प्रेतले किन तर्साउन थालेको रहेछ, त्यसमाथि थप प्रकाश पारिरहन परेन । त्यही पार्टीका अर्का आधा अध्यक्ष पुष्पकमल दाहाललाई १७ हजार नेपालीको हत्याको अपराधबोधको पश्चातापले हेग पुर्याएको दुस्वप्नले पछ्याउने र लघार्ने गरेको छ । कुनै व्यक्ति अथवा संस्था दुर्घटनामा परेर भौतिक रूपले मरिसकेको ठानेर सतगत गरे पनि त्यसको आयु सकिएको रहेनछ भने उसको आत्मा, प्रेत बनेर वायुमण्डलमा विचरण गरिरहन्छ । त्यसको विधि र प्रक्रिया पुर्याएर क्रियाकर्म नगरेसम्म प्रेतयोनीबाट मुक्ति पाउने र पितृमा रूपान्तरित हुन सम्भव छैन भन्ने बाहुनवादी सोच र संस्कारबाट माथि उठ्न नसकेका ओली र दाहाललाई हिन्दु धर्मको कर्मकाण्डमाथि अविश्वासको हदसम्मको विश्वास रहेछ, त्यसैले उनीहरू दुवैजना चिहानमा पुगेको राजतन्त्रको चिन्तनमा आकण्ठ डुब्न पुगेका मात्र छैनन्, त्यसको भयानकताबाट आतंकित पनि बन्न पुगेका छन् । त्यो वास्तविकतालाई ओलीको सिंगापुरको ओहोरदोहोरमा भएको वृद्धिले पारेको मनोवैज्ञानिक असर कति गहिरो र प्रभावशाली रहेछ, आफैंले चिहानमा पुर्याएको दाबी गरेको राजतन्त्रप्रतिको सत्तोसरापले पुष्टि गरेकै छ ।
उता दाहाल, जो नेपाल कम्युनिस्ट पार्टीका आधा, त्यसैले अधुरा अध्यक्ष हुने, उनलाई पनि हिजोआज हेगको फोबियाले त्यसैगरी सताउने गरेको छ, जसरी १२ बुँदे दिल्ली सम्झौतामा हस्ताक्षर गरिसकेपछि जुन संसदीय व्यवस्थालाई प्रतिक्रियावादी घोषित गरेर त्यसलाई ध्वस्त पार्न र त्यही ध्वंसमा चीनका माउत्सेतुङले स्थापना गरेजस्तो कम्युनिस्ट पार्टीको एकदलीय तानाशाही स्थापना गर्न जनयुद्ध थालेका थिए, १० वर्षमा १७ हजार नेपालीको निर्मम हत्या गरिसकेपछि त्यही व्यवस्था अपनाउन बाध्य भएको घटनाले आत्मग्लानी मात्र भएको थिएन, पश्चाताप पनि लागेको थियो । त्यसमाथि प्रजातन्त्रको बदला लोकतन्त्रको भारी बोकाएर भारतले उनलाई दिल्लीबाट काठमाडौं फर्काउन लाग्दा त्यहाँका माओवादीले उनलाई गद्दार भनेर निन्दा गरेपछि १७ हजारको भूतले लघार्ने नै भयो । झन् कार्यकर्ताको चित्त कसरी बुझाउने, शेष विश्वले गर्ने प्रश्नको जवाफ कसरी दिने होला भन्ने सवालले लघार्ने गरेको थियो । तर हेगसम्म कुरो पुग्ला भन्ने चाहिँ पटक्कै लागेको थिएन । समय बित्दै गएपछि सबैले बिर्सिंदै जान्छन् भन्ठानेका थिए, उनले । तर कालले छाड्ला, हेगको अदालतले छाड्दो रहेनछ । त्यसपछि उनलाई निद्रा लाग्न छाडेको र बर्बराउने रोग थपिन पुगेको हो ।
नेपालका नेताहरूमा प्रचण्ड र ओली दुवै प्रष्ट वक्ता हुन् भन्नेमा कसैको दुई मत नहोला । उनीहरूले एकअर्कालाई विभिन्न सन्दर्भ र अवसरमा के भनेका थिए, तिनलाई मात्र संग्रह गरेर विश्लेषण गर्ने हो भने सबै कुरा छर्लङ्ग हुन्छ, थप दसी प्रमाण खोजिरहनै पर्दैन । एक प्रसंगमा उनले भनेका थिए– नेपालका राजनीतिक दलका नेताहरू, जो त्यो सम्झौता पढ्नसम्म नपाई त्यसको अंग बन्न पुगेका थिए, उनीहरूले भारतका माओवादीको जति पनि नैतिकता र चरित्र देखाउन सकेनन् । यहाँका कम्युनिस्टले मात्र होइन, प्रजातन्त्रवादी भन्नेहरूले पनि राष्ट्रियता र सिद्धान्तका प्रतिको निष्ठा प्रदर्शन गर्न उठाउनै पर्ने सैद्धान्तिक तथा नैतिक सवालसमेत कसैले उठाएनन् । त्यसको अपराधबोधले प्रचण्डलाई लघार्न छाडेको थिएन, त्यसैले उनले अनेक पटक पश्चाताप गरे र भने– हामीले भारतलाई प्रयोग गरिरहेछौं भन्ठानेका थियौ तर परिणामले देखायो, भारतले पो हामीलाई प्रयोग गरेको रहेछ ।
प्रचण्डको त्यस्तो आत्मस्वीकृतिको कारण मनोवैज्ञानिक तथा आध्यत्मिक दुवै हो । हाम्रो शास्त्रले भनेको छ, मानिस सबैलाई ढाँट्न सक्छ तर आफैंलाई सक्तैन । मनोविज्ञानले पनि त्यसको पुष्टि गरेको छ । प्रचण्डलाई हेगको भूत र ओलीलाई राजतन्त्रको मसानले लघार्न नछाडेको मुख्य कारण त्यही हो ।
प्रतिक्रिया