घनेन्द्र ओझा
भोजराज घिमिरे नेपाली साहित्यका गीत, कविता र गजलका क्षेत्रमा सुपरिचित स्रष्टा हुन् । नेपालको प्रशासनिक क्षेत्रको उच्च तहबाट सेवा निवृत्त घिमिरेले कूटनीतिक क्षेत्रमा समेत योगदान गरेका छन् । सेवा निवृत्तपछिको जीवन साहित्य लेखनमा क्रियाशील गराइरहेका घिमिरेले आफ्ना सिर्जनामा आफ्नै भोगाइ, देखाइ र अनुभूतिहरूलाई प्रकट गरेका छन् ।
गीत लेखनबाट कविता हुँदै गजल लेखनमा निकै रमाएका घिमिरेका चारवटा गजलसंग्रह (एउटा छन्द/बहरबद्धसहित), एकएकवटा कविता र गीतसंग्रह प्रकाशित छन् ।
आख्यान लेखनमा पनि सक्रिय घिमिरेले कथा र उपन्यास पनि लेखिरहेका छन् । प्रस्तुत कथासंग्रह ‘अन्तिम प्रश्न’ १६ वटा कथाहरूको संग्रह हो ।
प्रस्तुत कथाकृतिमा संकलित कथाहरूमा पनि घिमिरेले आफूले बाँचेको समाज, भोगेको, देखेको र अनुभूत गरेको सामाजिक/राजनीतिक परिवेशलाई अनेक प्रकृतिका र परिवेशका पात्रका माध्यमले उद्घाटन गरेका छन् ।
आजको नेपाली समाजको मनोदशा, नेपालीहरूको बिदेसिनुपर्ने अवस्था, विदेश पुगेका नेपालीको विशेषगरी वैवाहिक/यौनिक/सामाजिक मनोदशा र व्यवहार, विकृत नेपाली राजनीतिको कुरूप पक्ष र शान्त, सुखी अनि समृद्ध समाजको कामना जस्ता विषय–भाव घिमिरेका कथाले बोकेका छन् ।
‘अन्तिम प्रश्न’भित्रका कथाहरू पढिरहँदा कथाभित्रका पात्र र परिवेशमा पाठकले आफैंलाई भेट्न सक्छ । नेपाली समाजका सामाजिक कार्यव्यवहार, सांस्कृतिक रूपान्तरणका प्रयत्नले निम्त्याएको सम्बन्धको सकस, विकृत र विसंगत राजनीतिको चपेटामा परेको मुलुक र मुलुकवासीको कष्टकर दैनिकी, अन्धविश्वास र रुढिग्रस्त मानसिकताले तोडेको प्रेमजस्ता विषय साँच्चै कारुणिक रूपमा प्रस्तुत गरिएको छ कथामा ।
केही ऐतिहासिक सन्दर्भलाई जोडेर तत्कालीन समयको दरबारको चित्र उद्घाटनको प्रयास पनि गरिएको छ भने ‘कार्यव्यसन’ र ‘सेतो घोडा’ कथामा कथाकारले आफ्नो प्रतिविम्ब दिने प्रयास गरेका छन् । यी कथाले एउटा सरकारी कर्मचारीको यथार्थ मनोदशा प्रकट गरेका छन् । कथाकार आफैंले अनुभूत गरेकै विषय–सन्दर्भलाई यति सुन्दर र सशक्त ढंगले प्रस्तुत गरिएको छ कि हरेक सेवा निवृत्त कर्मचारीले यी कथामा आफ्नै छाया भेट्न सक्छ ।
आख्यान लेखनका अनेक शिल्प प्रयोग र प्रचलनमा छन् । पछिल्लो समय पाश्चात्य साहित्यमा बढी रुचि राख्नेहरूले नेपाली साहित्यमा अनेक प्रयोग गर्ने कोसिस गरेका छन् । यद्यपि, यस्ता प्रयोग कतिपय सन्दर्भमा ‘लेखकको अहं’का रूपमा मात्र पनि भइरहेका छन् । मानक भाषालाई बिगारेर वाक्य गठन गर्ने, अति स्वैरकाल्पनिक वा उडन्ते कुराहरूमा पाठकलाई रुमल्याउने, अश्लील र उत्तेजक शब्दको अप्रासंगिक र अनावश्यक प्रयोग गरेर साहित्यलाई कुरूप बनाउने प्रयत्न पनि भइरहेका छन् ।
भोजराज घिमिरे भने यस्ता ‘दोष’हरूबाट मुक्त छन् । उनका कथामा न त अनावश्यक अश्लील शब्दहरूको प्रयोग छ, न स्वैरकाल्पनिक उडानमा पाठकलाई भुलाएर समयको बर्बादी गराउने काम नै भएको छ । घिमिरेले सकेसम्म मानक नेपाली भाषाको प्रयोग गर्ने कोसिस गरेका छन् । पाश्चात्य मुलुकका सन्दर्भ र परिवेशका कथामा पनि मानक नेपाली भाषाकै प्रयोगले कथारचना गर्नुले घिमिरेको नेपाली भाषाप्रतिको इमान्दार प्रयोग र विश्वास अत्यधिक रहेको प्रस्ट हुन्छ ।
घिमिरेका कथाहरूको विशेषतालाई यसरी हेर्न सकिन्छ ।
– उहाँका कथाका विषय ‘आम’ विषय हुन । अर्थात घिमिरेले हरेक व्यक्तिले देखेका, भोगेका र अनुभूत गरेका विषयलाई कथामा उतारेका छन् ।
– घिमिरेका कथामा कथाकार एकदमै थोरै मात्र बोल्छ । उनका कथाका पात्रले नै आपसमा बढी संवाद गर्छन । विवाद गर्छन् । सम्झौता गर्छन् । कतिपय कथामा पात्र मानसिक रूपमा यति उत्तेजित र उद्वेलित हुन्छन् तर भौतिक हिंसामा जाँदैनन् । मानसिक हिंसाका सिकार भएका पात्रहरू पनि अत्यन्त संयमित देखिन्छन् कथामा । यसो हुनुमा लाग्छ– कथाकारको व्यक्तिगत र व्यावसायिक जीवनको प्रभाव हुनुपर्छ ।
– यस कृतिभित्रका कथामा हरेक पात्र ‘ब’ र ‘व’ बाट नाम भएकाहरू छन् । यो पात्र प्रयोगमा नौलो हुन सक्छ । सन्दर्भ र परिवेशअनुसारका पात्रको चयन गर्न सक्नु लेखकको खुबी हो ।
– कथामा यौनका सन्दर्भ छन् तर ती उत्तेजित र पछिल्लो समय नेपाली साहित्यमा प्रयोग भएझैँ विक्षिप्त वा विद्रुप छैनन् । स्वस्थ, स्वाभाविक, पाच्य सन्दर्भमा यौनका सन्दर्भ आएका छन र ती भद्र अनि शालीन छन् ।
समग्रमा, प्रस्तुत कथाकृतिभित्रका कथाहरूमा पाठकले आफ्नै कथा, आफ्नै व्यथा र आफ्नै भोगाइ, देखाइ अनि अनुभूति भेट्टाउन सक्छन् । र, यही नै घिमिरेका कथाको शक्ति पनि हो ।
प्रतिक्रिया