स्पेनिस क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेलमा नापोलीलाई हराएको छ । अमेरिकाको मिसिगनमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ईटालियन क्लब नापोलीलाई ४–० गोल अन्तरले हराएको हो ।
बार्सिलोनामा आबद्व भएपछि ग्रिजम्यानले क्लबका लागि पहिलो गोल गरे । लुईस स्वारेजले दुई तथा उसमान डेम्बेलेले एक गोल थपे ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको हो ।
स्वारेजले ४८ औ मिनेटमा गोल गर्दै बार्सालाई सुरुवाती अग्रता दिलाएका थिए । ५६ औ मिनेटमा ग्रिजम्यानले बार्सिलोनाको जर्सीमा पहिलो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । उनी यसै सिजन १ सय २० मिलियन पाउण्डमा एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका थिए ।
त्यसको दुई मिनेटपछि स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को स्थितीमा पुर्याए । ६३ औ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
चोटका कारण कप्तान लियोनल मेस्सी मैत्रीपूर्ण खेलमा अनुपस्थित रहेका थिए ।
फ्लोरिडामा भएको पहिलो लेगको खेलमा बार्सिलोनाले नापोलीलाई २–१ ले हराएको थियो । बार्सिलोनाले अगष्ट १६ मा एथ्लेटिको बिल्बाओसंग खेल्दै स्पेसिन लिगको सुरुवात गर्नेछ ।
प्रतिक्रिया