विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठबीच उमेरका हिसाबले करिब १० वर्ष फरक थियो । त्यो महत्वपूर्ण कुरा भएन । उमेरको फरक भए पनि उहाँहरू दुवै एउटै युगका सन्तान हुनुहुन्थ्यो । प्रथम विश्वयुद्वले सिंगो संसारलाई भष्मीभूत ग¥यो । त्यतिबेलाको दुनियाँका सर्वाधिक शक्तिशाली चार वटा साम्राज्य शासकसहित समाप्त भए । विभिन्न राष्ट्रहरूका उदय भयो । यी सारा घटनाहरूका बीचमा लेनिनको नेतृत्वमा भएको सोभियत क्रान्तिले विश्व हल्लायो ।
एक अमेरिकन पत्रकार जोन रिडले ‘ती १० दिन जसले विश्व हल्लायो’ भनी पुस्तक लेखेका थिए । त्यो पुस्तकको शीर्षक निराधार थिएन । बीपी कोइराला र पुष्पलाल दुवै सोभियत क्रान्तिबाट गहिरो रूपमा प्रभावित थिए । सोभियत क्रान्तिको लक्ष्य थियो– समाजवाद । समाजवादमा पुग्ने बाटोमा बीपी र पुष्पलालमा मौलिक मतभेद थियो । होइन भने समाजवादको लक्ष्यलाई लिएर दुवैमा अन्तर थिएन ।
बीपी कोइरालाको नेतृत्वमा २००३ सालमा कोलकातामा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो । पुष्पलाल प्रारम्भमा नेपाली राष्ट्रिय कांग्रेससँग सम्बद्ध हुनुहुन्थ्यो । पछि बीपी र डाक्टर डिल्लीरमण रेग्मीबीच तीव्र कचिंगल भयो । त्यस मतभेदमा पुष्पलालले डाक्टर रेग्मीलाई समर्थन गर्नुभयो । तर, रेग्मीसँग पुष्पलालको सहकार्य लामो समयसम्म चलेन । सुस्तरी उहाँ माक्र्सवादतिर आकर्षित हुनुभयो ।
१५ सेप्टेम्बर १९४९ तदअनुसार २००६ सालमा पुष्पलालको नेतृत्वमा कोलकातामा कम्युनिस्ट पार्टीको स्थापना भयो । कम्युनिस्ट पार्टीको स्थापनाको परिघटना भने अन्य विषयजस्तै नेपालको कम्युनिस्ट आन्दोलनमा विवादको प्रश्न छ । यसै मितिमा कम्युनिस्ट पार्टी फलानो, फलानो गठन भयो भन्ने छैन तर, कम्युनिस्ट पार्टीको स्थापना दिवसका रूपमा १५ सेप्टेम्बरलाई करिब करिब मान्यता मिलेको छ ।
राष्ट्रिय कांग्रेसको सम्मेलनमा भारतका समाजवादी नेताहरूले उत्साहपूर्वक भाग लिएका थिए । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाताका त्यसको उद्देश्यको स्पष्टीकरणमा डा. राममनोहर लोहियाको हात थियो । जयप्रकाश नारायण बीपी कोइरालाका मित्र एवं प्रेरणाको स्रोत हुन् । जयप्रकाश र लोहियाले नेपालमा त्यसै चासो लिएका थिएनन् । दुवै नै हनुमाननगर सप्तरीमा तत्कालीन समयमा गिरफ्तार भएका थिए ।
उनीहरूलाई नेपाली कांग्रेसका रामेश्वरप्रसाद सिंह र भारतका सुरजनारायण सिंहको नेतृत्वमा रिहा गरिएको थियो । हानथापको त्यस घडीमा एउटा नेपाली युवकको देहान्त भएको थियो । जयप्रकाश र लोहियाले यो कुरालाई आजीवन बिर्सिएनन् । फलस्वरूप उनीहरू नेपालका प्रति सधैँ भावुक रहे । नेपाल कम्युनिस्ट पार्टीको स्थापना पनि भारतीय कम्युनिस्टसँग प्रत्यक्ष रूपमा सम्बन्धित थियो ।
प्रवासका क्रममा पुष्पलालले दार्जिलिङका कम्युनिस्ट नेता रत्नलाल ब्राह्मणसँग घनिष्ट सम्बन्ध बनाउनु भएको थियो । रत्नलाल ब्राह्मण दार्जिलिङका एक स्थापित कम्युनिस्ट नेता थिए । रत्नलालको व्यक्तित्वलाई नै लिएर रूपनारायण सिंहले ‘आमा’ भन्ने कथा लेखेको भन्ने कथन छ । रूपनारायणको त्यस कथामा रत्नलालालको नामसमेत पनि मिल्दोजुल्दो गरी नायकको नाम राखेका छन् ‘मणिलाल’ । जेहोस्, यो एउटा विषयान्तरको कुरा भयो ।
पुष्पलालको कम्युनिस्ट पार्टी स्थापनाका दौरानमा र पछि पनि अयोध्याप्रसाद सिंह भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधि थिए । शोधकर्ताहरूका अनुसार, उनलाई विधिवत् रूपमा नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य भनेर लामो समयसम्म भन्ने गरिन्थ्यो । २००७ सालको क्रान्तिमा एक भारतीय समाजवादी कुलदीप झा सहिद भएका थिए । कुलदीप झाबाहेक पनि भोला चटर्जी २००७ सालको क्रान्तिमा अग्रपंक्तिमा थिए ।
२००७ सालको क्रान्तिमा बर्माबाट नेपालमा हतियार उपलब्ध गराउने कार्यमा भोला चटर्जी आफैं संलग्न थिए । पछि भोला चटर्जी विराटनगर मोर्चामा समेत भाग लिन पुगेका थिए । अहिले नेपाल र भारतबीचको सम्बन्धको गाथा अर्कै मोडमा आएको छ । सीमासँगको हामीहरूको सहकार्य र विभाजन ध्यानमा राख्नुपर्ने कुरा छ ।
होइन भने, युवा बीपी कोइराला र पुष्पलालले अन्तर्राष्ट्रिय समाजवादको मान्यता अनुरूप भारतीय नेता अयोध्याप्रसाद सिंह, ब्राह्मण र लोहियालाई ऐतिहासिक नेताका रूपमा सहकार्य गर्न अप्ठ्यारो मानेका थिएनन् । आज बीपी र पुष्पलाललाई सम्झिँदाखेरि त्यो स्मृति एक सुखद पक्ष हो । बीपी कोइराला आफ्नो प्रारम्भिक राजनीतिक कालदेखि अहिलेसम्म नेपाली कांग्रेसको संस्थापक नेताका रूपमा स्थापित हुनुहुन्छ ।
यस अर्थमा उहाँलाई भाग्यमानी मान्नुपर्छ । उहाँको नेतृत्व कालमा कांग्रेसभित्र कुनै विवाद भएन भन्ने होइन । थोर बहुत विवाद भयो तर, त्यसमा विवाद गर्ने पक्ष जहिले पनि पराजित भयो । उनीहरू चोइटिएर गए । एक ठाउँमा पनि रहेनन् । ठीक त्यसको विपरीत पुष्पलालका लागि कम्युनिस्ट आन्दोलनमा आफूलाई उपस्थित गराउन अत्यन्त नै अप्ठ्यारो भयो । आफूलाई कम्युनिस्ट भन्नेहरूले नै पुष्पलाललाई ‘गद्दार’ भन्ने सिलसिला लामो समयसम्म चल्यो ।
‘गद्दार पुष्पलाल’ भन्ने बहुचर्चित पुस्तक २०२७ सालमा आजका कम्युनिस्ट आन्दोलनका वरिष्ठ र जेष्ठतम् सदस्य रहनुभएका कमरेड मोहनविक्रम सिंहले लेख्नुभएको थियो । राजनीतिक हिसाबले ‘गद्दार पुष्पलाल’ भन्नु एउटा विस्फोटक र गम्भीर अभिव्यक्ति थियो । होइन भने, मोहनविक्रमको आरोपभन्दा अगाडि नै पुष्पलाललाई एकातिर तुलसीलाल पक्ष अर्कातिर रायमाझी पक्ष र अर्कोतिर मनमोहन पक्षले पुष्पलालको उग्र विरोध गरिसकेको थियो ।
मोहनविक्रमको अभिव्यक्तिभन्दा पहिले नै नेपालको कम्युनिस्ट आन्दोलन चार शिविरमा बाँडिएको थियो । पुष्पलाल, तुलसीलाल, केशरजंग रायमाझी, कम्युनिस्ट आन्दोलनको आदि पुरुष त म पो हुँ त भनेर दुई चारजना साथी लिएर अलग्गिएका थिए । मनमोहन अधिकारीले पार्टीको रूपमा आफूलाई अगाडि सार्नु भएको थिएन । उहाँले आफ्ना भाइ भरतमोहनलगायतका साथीहरूलाई लिएर बेग्लै समूह चलाउनु भएको थियो ।
काठमाडौंका साथीहरू शम्भुरामजीको नेतृत्वमा अथवा कृष्णदासको नेतृत्वमा आफ्नै हिसाबले साना साना समूह बनाएर बसेका थिए । पुष्पलालको आफ्नो समूहको बाहेक बाँकी सबै समूहसँग उहाँ मतभेद राख्नुहुन्थ्यो र पुष्पलालको आफ्नै समूह पनि स्थिर र सुदृढ थिएन । उदाहरणका लागि सम्झिँदा, नेकपा मालेमा मिस्सिएका मदन भण्डारी, जीवराज आश्रित प्रारम्भमा पुष्पलालसँगै सक्रिय हुनुहुन्थ्यो ।
त्यस समय लुम्बिनी अञ्चलको ठूलो नेता मानिएका केशरमणि पोखरेल पनि पुष्पलालसँगै कार्यरत हुनुहुन्थ्यो । मोदनाथ प्रश्रित पुष्पलालको सांस्कृतिक विभागको अध्यक्ष हुनुहुन्थ्यो । यी सबै पुष्पलालसँगै थिए । हेर्दाहेर्दै यी सबैले एकपछि अर्को गर्दै छाड्दै गए ।
यस्तो विचलन बीपी कोइरालाका समर्थकहरूमा आएन भनेर एक हदसम्म भन्न सकिन्छ । तर, यसको अर्थ बीपी कोइराला पनि पुष्पलालभन्दा कम एकांकी हुनुहुन्नथ्यो । बीपीले सुवर्ण शमशेरबाहेक अरूसँग ठूलो झगडा गर्नुभएन । तर, बीपीको राजनीतिलाई गलत हो, भारतमा बसेर कुनै पनि हालतमा सशस्त्र क्रान्ति गर्न सकिँदैन भन्ने विषयमा बीपीलाई सम्मान गर्ने र बीपीसँग सहमति नजनाउने ठूलो जमात थियो ।
बनारसमा बसेर क्रान्तिको आह्वान गर्ने विषयमा त्यसो गर्नु मूर्खता हो भन्नेमा सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि एकमत थिए । दुई नेताले यस प्रकारले कार्यकर्ता र सहयोगीहरूको लामो विरोध खप्नु परेको थियो । तर, नेपाली कांग्रेसमा गालीगलौज भएन ।
पुष्पलाललाई गद्दार भनेजस्तो बीपीलाई गद्दार भन्ने परिपाटी कांग्रेसमा बसेन । बीपीको सर्वाधिक कडा आलोचना गर्नुपर्ने रामराजलाई थियो तर, उनले पनि कडा भाषा प्रयोग गरेको देखिएन । बीपीका बारेमा कडा भाषा प्रयोग गर्ने मान्छे सर्वाधिक दुर्गा सुवेदीको लेखमा पनि त्यो देखिँदैन ।
बीपी र पुष्पलालमा यहाँ एउटा समानता छ । दुवै राजनीतिक पार्टीमा मिलिजुली होइन, एक्लै हिँड्न चाहन्थे । भनिन्छ, एक्लै हिँड्ने मान्छेको आफ्नै विशेषता हुन्छ । ऊ सके धेरै छिटो छिटो हिँड्न चाहन्छ । तर, छिटो हिँडाइले राजनीतिमा सफलता दिँदैन । हूलमा हिँड्ने मान्छे कम तनावमा हुन्छ । ढिलो र एक्लै हिँड्ने मान्छे हिँड्न त हिँड्छ तर, कतिपय समयमा गन्तव्यमा नपुग्न पनि सक्छ ।
बीपीको राजनीतिक जीवनको उत्तरार्ध असफलतामा बित्यो । त्यो असफलताको कारण के थियो भने, उहाँले कहिल्यै पनि असफलताको त्यस चरणमा आफ्ना समवयस्क, सहधर्मी साथीहरूसँग एकता गर्ने प्रयास गर्नु भएन । पुष्पलालको पनि यस्तै थियो । पुष्पलालमा बीपीको कोटीको अहम्मान्यता थिएन भन्न सकिन्न । यी भए नेतृत्वका कुरा । सिद्धान्तका हकमा बीपीलाई आजको नेपालको हकमा मुख्यतयः राष्ट्रिय मेलमिलापको सिद्धान्तले जानिन्छ ।
पुष्पलाललाई संयुक्त जनआन्दोलनका विचारक वा प्रणेताका रूपमा प्रचारित गरिएको छ । बीपीले समाजवादका बारेमा उल्लेख्य रूपमा त्यति लेख्नु भएको छैन । लेख्न सजिलो पनि थिएन । यस्तो लेखनमा आज पनि सजिलो छैन । पुष्पलालले नेपाली इतिहासका बारेमा अनेकानेक लेखहरू लेख्नु भएको छ । पुष्पलालसँग औपचारिक शिक्षा थिएन । म्याट्रिक जति पढ्नु भएको थियो । म्याट्रिक जति पढ्दा पनि उहाँमा जान्ने र सिक्ने इच्छा कति ज्यादा थियो भन्ने कुरा उहाँको टिपोटबाट थाहा हुन्छ ।
पुष्पलालको नामबाट उहाँका सहयोगी र अनुयायीहरूले करिब ८÷१० वटा पुस्तकहरू छापेका छन् । त्यी पुस्तकहरूमध्ये एउटा ‘पुष्पलालस् नोट्स’ भन्ने पुस्तक छ । त्यसमा उहाँले पुस्तकहरू पढ्दै टिप्पणी लेख्दै गरी राख्नु भएको एउटा रोचक सम्झना छ । त्यो बाहेक पनि उहाँले प्रत्यक्ष शासनताका प्रवासमा रहँदा वनारसबाट नेपाल पत्र भन्ने लेख प्रकाशित गर्नु भएको छ । नेपाल बन्द भन्ने प्रकाशनमा नेपालको इतिहासलाई जनवादी दृष्टिकोणले व्याख्या गर्ने पहिलो गम्भीर प्रयास उहाँले गर्नुभएको छ ।
बीपी कोइरालाले त्यति गम्भिरतापूर्वक लेख्नु भएन । यद्यपि उहाँमा ज्यादा प्रतिभा र त्योभन्दा ज्यादा साधनस्रोतको सम्पन्नता थिया होला तर, के कारणले हो पुष्पलालले जस्तो मेहनत गरेर लेख्नु भएन । बीपीसँग मेरो निकट सम्बन्ध थियो, पुष्पलालजीसँग निरन्तर भेट हुन्थ्यो । उहाँसँग मेरो ज्यादा भेट राजघाटस्थित गान्धी विद्यासंस्था नामको पुस्तकालयमा भेट हुन्थ्यो । त्यो संस्था अहिले लगभग बन्द भइसकेको छ ।
त्यस संस्थाका संस्थापक जयप्रकाश नारायण हुनुहुन्थ्यो । आज यी दुई जनाको पुण्य स्मरण गर्दा पुष्पलालजीका लेख रचनाहरू र उहाँले मरिमेटेका पाटाहरूको सम्झना गर्दा सम्झनु पर्ने कुरा के छ भने, बीपीले लेख्नु भएको ‘राजतन्त्र’ भन्ने लेख र पुष्पलालले लेख्नु भएको ‘नेपालको जनवादी इतिहास’ अथवा बीपीले भन्नु भएको राष्ट्रिय मेलमिलापको रणनीति अथवा पुष्पलालले भन्नु भएको संयुक्त जनआन्दोलनको नारामा के छ ?
म यसमा स्पष्ट भन्न चाहन्छु, समय बदलिइसकेको छ । पुष्पलाल र बीपी कोइराला एउटा युगका सन्तान थिए । त्यो युग १९८९ मा समाप्त भयो । एकजना प्रसिद्ध इतिहासकार एरिक हाब्सहाम जसको सिंगो संसारमा नाम चलेको छ, उनले आजको विश्व इतिहास लेखेका छन्ः कुनै शताब्दी अचम्मको हुन्छ । त्यो शताब्दीको सम्पूर्ण सार सन्देश पहिलेका शताब्दी जस्तै १७औं शताब्दी १७ मा सिद्धिदैन, १८ मा आएर लम्बिएर पसारिन्छ र १८ र १९ मा जान्छ ।
२०औं शताब्दीको सारतत्व भनेको १९१४ देखि १९८९ सम्ममा खतम भयो । पुरानो व्यवस्थाको अवशान १९१४ मा भयो । त्यतिबेला एकसाथ जर्मन, रसियन साम्राज्य, टर्की साम्राज्य, अस्ट्रियन साम्राज्य गरी चार वटा साम्राज्य समाप्त भए । आज एसिया र युरोपमा देखिएका थुप्रा देशहरू यिनै चार साम्राज्यभित्र अटाएका थिए । अहिलेको इजिप्ट, लेबनान, सुडान, इथियोपिया लगायत जति पनि मिडलइष्टका देशहरू छन् सबै टर्कीको अधीनमा एउटै राज्यअन्तर्गत थिए । सुप्रिम सम्राट् थिए ।
जति पनि मुलुकहरू अहिले युरोपमा छन् हंगेरी, पोल्यान्ड, चेक, स्लोभाकियालगायत झन्डै १० वटा देशहरू त्यतिबेला अस्ट्रियाको अन्तर्गत थिए । अस्ट्रोहंग्रो एम्पायर भनिन्थ्यो । बोस्निया, सर्विया, हर्जगोभिनिया लगायतका मुलुक पनि एउटै देशमा थिए । १९८९ को महत्व के हो भने, सोभियत शासन पनि सिद्धियो, सोभियत साम्राज्य पनि सिद्धियो र काजकिस्तान, तुर्किस्थान, ताजिकिस्तान, जर्जियालगायत विभिन्न देश बने । यो त साम्राज्यको हिसाबले भयो । सबैभन्दा ठूलो कुरा विश्वमा अब एक्लो महाशक्ति रहयो– अमेरिका ।
व्यक्तिका हिसाबले पनि १९१४ मा जन्मिनु भएका बीपी कोइराला १९८३ मा बित्नुभयो अनि १९२४ मा जन्मिनुभएका पुष्पलाल १९७८ मा बित्नु भयो । त्यसैले उहाँहरूले त्यतिबेलाको समयमा नेतृत्व गर्नु भएको विचार, धारणा, प्रस्तुति, शब्द र अक्षरका रूपमा राखेका कुराहरू आज पनि महत्वपूर्ण छन् भन्नु गलत हुनेछ । बीपीका आखिरी वर्षहरूमा आफ्नो सम्पूर्ण चिन्तन राजतन्त्रको अस्थित्वको वरिपरि अल्मलिनु भएको थियो । कहाँसम्म थियो भने, राजा नभए देश रहँदैन भन्ने थियो र मेरो र राजाको घाँटी जोडिएको छ भन्नुभयो । पुष्पलालको सम्पूर्ण सार संयुक्त जनआन्दोलनमा थियो ।
आज नेपालमा बहुदलीय व्यवस्था आइसकेको छ । अब यिनीहरूले संयुक्त जनआन्दोलन हुन्छ त ? कांग्रेस र कम्युनिस्टले कुन कुरामा संयुक्त आन्दोलन गर्ने त ? गर्दा के का पछाडि वा के का निमित्त गर्ने ? चल्न त संयुक्त आन्दोलन चलेको छ तर, यो संयुक्त आन्दोलनको सार के छ भने हामीमध्ये को प्रधानमन्त्री बन्ने भन्ने । त्यसैलाई हामीले संयुक्त प्रयास भन्ने हो भने बेग्लै कुरा हो होइन भने कांग्रेस र कम्युनिस्ट अहिले संयुक्त रूपमा काम गर्न तयार छैनन् ।
यिनीहरूको अब के बाँकी छ त ? अब हामीले यति कुरालाई बिर्सिएर २०औं शताब्दीमा उनीहरूको प्रशिक्षण, उनीहरूले लेखेका पुस्तक, शिक्षा, अगाडि सारेका राजनीतिक नीहरूले लेखे, छापे, बोले त्यसैलाई आज पनि दोहो¥याउनुको कुनै मतलव छैन । तर, दुर्भाग्य के छ भने, बीपी कोइरालाका अनुयायीका नाउँमा, पुष्पलाल, कृष्णप्रसाद भट्टराई मनमोहनका नाउँमा उनीहरूले बोलेका र लेखेका उद्दरण दोहो¥याएर समकालीन परिस्थितिको व्य ाख्या र विवेचना गरिँदैछ । यो निरर्थक छ । (हिमाल दैनिक डट कमबाट)
प्रतिक्रिया