देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले लिनुपर्ने निर्णयः अर्जुननरसिंह केसी

देशान्तर

अहिले लामो समयदेखि बैठक बसेको हुनाले नेपाली कांग्रेसको केन्द्रीय समितिबाट आउने निर्णय सबैको प्रतीक्षाको विषय बनेको छ । सम्भवतः आज या भोलि भित्रमा हामी निर्णयमा पुग्ने छौ । अहिले सबै केन्द्रीय सदस्यहरूले आआफ्नो विचारहरू राखिरहनु भएको छ र गएको निर्वाचनपछि कांग्रेसमा बढेको एक खालको आलोचनात्मक प्रवृत्तिले पनि अहिलेसम्म जरा गाडेर बसेको छ ।

किनभने अहिलेको केन्द्र्रीय समितिको बैठकमा साथीहरूले दिएका राम्रा सुझावहरूलाई पनि ग्रहण गर्न पार्टी नेतृत्वलाई सकस परिरहेको छ । १३औ महाधिवेशनदेखि नै नेतृत्वमा प्रश्न उठ्न थालेका कारण पनि अहिलेको नेतृत्वले राम्रा सुझावहरूलाई पनि आलोचनाको दृष्टिकोणले हेरिरहेको छ ।

तर, कांग्रेस एक इतिहास बोकेको पार्टी हो भन्ने कुराको समेत नेतृत्वले विचार पु¥याएन कि भन्ने हो । यस कारणले पनि अहिले नेतृत्वमा सती जाने र पार्टीलाई बचाएर पुरानो अवस्थामा पु¥याउने बीचमा कांग्रेसभित्र निरन्तर छलफल चलिरहेको छ । कांग्रेसको इतिहास यो मोडमा विगतमा आएको थिएन । तर, हाम्रा पूर्वज नेताहरूले दिएको पाठअनुसार यो सिंगो पार्टी कुनै अमूक विषयमा बन्धक भएर बस्न सक्दैन ।

अरूलाई अहिलेसम्म लोकतन्त्र सिकाउँदै संसद् नमान्नेहरू र बन्दुकबाट राज्य कब्जा गर्नेहरूलाई समेत संसदीय मूल्य र मान्यतामा ल्याउन सफल भएको कांग्रेस अमुक व्यक्तिमा नेतृत्व गयो भन्दैमा हार खाएर बस्नुपर्ने अवस्था छैन । अहिलेसम्म सबै कांग्रेसका जिम्मेवार नेताहरूले आफ्नाआफ्ना दृष्टिकोणहरू राखिरहनु भएको छ । सबैको विचार आएपछि निर्णय हुन्छ ।

अर्को कुरा अहिले कांग्रेसलाई जुन रूपमा विवादित देखाउन खोजिएको छ । भित्री रूपमा कांग्रेसका त्यस्तो विवाद छैन । १४औं महाधिवेशन गर्नै पर्छ यो सभापतिले रोकेर रोकिने विषय नै होइन । सभापतिलाई आफ्नो तरिकाले जान पाए कांग्रेसमा सुधार आउने थियो भन्ने लागिरहेकै छ भने अरू नेताहरूमा पनि यो हिसाबले पार्टीलाई अगाडि लान सकिएका भोलि पार्टी र त्योभन्दा पछि आउने नेताहरूको पनि भविष्य सुरक्षित हुने थियो भन्ने लागेकै छ ।

त्यसकारण यी विषय भनेका हाम्रा आन्तरिक बहसका विषय हुन् । यसमा अरूले कुनै किसिमको चिन्ता लिनुपर्ने आवश्यकता पनि छैन । अहिले हाम्रो आवश्यकता भनेको सकेसम्म चाँडो महाधिवेशनको मिति घोषणा गर्ने र रिक्त रहेका पार्टीका संरचनाहरूलाई पूर्णता दिने नै मुख्य हो ।

पार्टीको महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने छोटो समय र महाधिवेशन लम्बिँदा पछि गएर स्थानीय तहको निर्वाचनमा कसरी प्रस्तुत हुने भन्नेमै अहिले हामी केन्द्रित भएका छौ । यो अहिलेको कांग्रेसको आवश्यकता हो यो न त सभापति एक्लैको हो न त अरू कुनै नेता एक्लैको हो ।

यसलाई सकेसम्म सहमतिमा र नसके पनि विधिअनुसार भएपछि जानुपर्ने अवस्था छ । नेपाली कांग्रेसले आफ्नो विधान जुन आन्तरिक व्यवस्था गरेको छ त्योअनुसार कार्यतालिका बनाएर गएको खण्डमा अहिले पनि ठूलो समस्या छैन ।

विधानमा भएको प्रावधानअनुसार पार्टीको संरचना पछि मात्रै कार्यतालिकाको काम आउने भएको हुनाले बाहिरबाट हेर्दा केही अलमल भएको जस्तो देखिएको पनि छ । यसमा लामो बहस र छलफल चलिरहेकाले विधानत संरचनाहरूलाई पूर्णता दिने र त्यसपछि महाधिवेशनको कार्यतालिका दिनुपर्ने भएकाले यी विषयलाई अगाडि र पछाडि महत्वको हिसाबले अहिले निर्णय गरेर जाऊ भन्ने नै हो सबैको धारणा ।

अब जति गरे पनि समयभित्र हामीले १४औं महाधिवेशन गराउन सक्दैनौं र समयमा महाधिवेशन गराउन सकिँदैन भनेर मिति सार्दा त्यसपछि आउने स्थानीय निर्वाचनलाई पनि हामीले ध्यान दिने समय भइसकेको छ ।

अहिले पार्टी सभापतिबाट पाँच वर्षमा महाधिवेशन गराउँछु भन्ने कुरा आइरहेको छ । चार वर्षे कार्यकालमा एक वर्ष समय थप गर्दा अर्को एक वर्ष हामीले महाधिवेशनको तयारीमा लाग्नुपर्छ । महाधिवेशनको तयारीमा रहेका समयमा हुने स्थानीय निर्वाचनमा हामीले कति उपलब्धि हासिल गर्न सकौंला ? यो प्रश्न निकै गम्भीर रूपमा उठेको छ ।

त्यसकारण समयभित्र महाधिवेशन सम्पन्न गर्न नसकिए पनि केही समय लम्ब्याएर एक वर्षभित्रमा त महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने मनस्थितिमा कांग्रेस जान आवश्यक छ । अहिलेदेखि महाधिवेशन र संरचनाहरूलाई पूर्णता दिने विषयमा मिति तोकेर नै लागियो भने अर्को असोज कात्तिकमा महाधिवेशन सकिन्छ र पार्टी एउटा लाइनमा जान्छ ।

त्यसपछि महाधिवेशनमा भएको हारजितको एक खालको उतारचढावलाई सम्बोधन गर्दै हामी स्थानीय निर्वाचनमा पार्टीलाई सहज रूपमा लिएर जान सक्छौ । त्यसकारण पनि ढिलोमा पनि निर्वाचन आउनुभन्दा १० महिना अगाडि नेपाली कांग्रेसले आफ्नो १४ औं सम्पन्न गर्न सक्यो भने महाधिवेशनका क्रममा भएका कमजोरीहरूलाई व्यवस्थापन गर्दै निर्वाचनमा जान सजिलो हुन्छ ।

यो विषयलाई केन्द्रीय समितिमा रहेका सबै साथीहरू र पार्टीको नेतृत्वमा रहनु भएका सबै पदाधिकारीले यो कुरालाई मनन् गरेर गम्भीर रूपको निर्णय गर्न सक्नुपर्छ । यसका लागि तत्कालै कामको सुरुआत गर्नुपर्छ ।

अहिले कार्यतालिका बनाएर काम सुरु गरेपछि बीचमा आउने समस्याहरूको हामी मिलेर समाधान गर्न सक्छौं । समय त लाग्छ तर, मन, वचन र कर्मले पार्टीलाई सुधार गर्दै निर्वाचनमा पनि अपेक्षाकृत उपलब्धि हासिल गर्ने हो भने कांग्रेसले सहज रूपमा पहिलेको भन्दा निर्वाचनमा बढी उपलब्धि हात पार्न सक्छ ।

पार्टीमा मतभेद हुने र त्यसलाई मिलाउनका लागि मध्यस्थता हुन भने पार्टी जीवनका सामान्य विषय हुन् । पार्टीको केन्द्रीय समितिको बैठकमा राखिएका फरक मतका कुरालाई विवादको रूपमा लिन पनि हुँदैन । महाधिवेशन गराउने विषयमा अहिले पनि दुई मत छैन । समयको घोषणा गर्ने र अन्तरिम व्यवस्थापनका कुरामा केही मिश्रित विचारहरू आइरहेका छन् ।

यसले पनि महाधिवेशनलाई नै लक्षित गरेको भए पनि जतिसक्दो चाँडो महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने कुरामा त कसैको विमति देखिएको छैन । पार्टी सभापतिले पनि यो कुरा बुझिनै रहनु भएको छ कि हामीले महाधिवेशनलाई ढिला गर्ने बित्तिकै अब आउने निर्वाचनमा पनि राम्रो परिणाम ल्याउन सक्दैनांै र सोचे अनुसारको परिणाम पाउनका लागि समयभित्र नसकिए पनि चाँडो महाधिवेशन सक्ने र पार्टीलाई निर्वाचनमा लाने कुरामा विमति देखाउनु भएको छैन ।

खाली सभापतिलाई अहिले मिति घोषणा गर्दा र निर्वाचनको प्रक्रियामा जाँदा आफू अल्पमतमा पर्ने हो कि भन्ने चिन्ता छ । सिंगो पार्टीको नेतृत्व गरेको व्यक्तिले आफूलाई हेर्ने होइन । पार्टीलाई हेर्ने हो । अहिले हामीसँग सबै पुराना संरचनाहरू छन् । ती सबै संरचनालाई नयाँ नबनाएसम्म महाधिवेशनको प्रक्रिया नै प्रारम्भ हँुदैन । विधानले दिएको अवसरलाई प्रयोग गरेर जाँदा पनि हामीले सबैभन्दा पहिले संरचनाहरूको निर्माण गर्नु नै पर्छ र त्यसपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु हुने हो ।

यसका लागि पनि पार्टीका संरचनाहरूलाई पूर्णता दिने समय र महाधिवेशन सम्पन्न गर्ने समयको कार्यतालिका बनाएर गएको खण्डमा पहिलो चरण र दोस्रो चरणको काम गर्न सहज हुन्छ । त्यसकारण अहिले विधानले जे व्यवस्था गरेको त्यो व्यवस्थाअनुसार पार्टीका संरचनाहरूलाई व्यवस्थापन गर्नुपर्छ ।

पछि आउने नेतृत्वमा कसलाई लिने भन्ने विषय पछिका हुन् र यो विषयमा हामी पछि गएर पनि सहमति गर्न सक्छौं । अहिलेलाई अन्तरिक व्यवस्थाअनुसार सबैको सहमति आवश्यक छ । अहिले केन्द्रीय समितिको बैठकमा नियमावलीका प्रावधानमाथि पनि केही विचारहरू आएका छन् ।

यसलाई त्यो समितिको सभापतिले नै व्यवस्थापन गर्न सक्नुहुन्छ भन्ने हामीलाई लागेको छ । अरू भनेका अहिले तपसिलका विषय हुन् । अहिलेको मुख्य विषय भनेको पार्टीका संरचनालाई आन्तरिक व्यवस्थापन गर्ने र महाधिवेशनमा जाने नै हो । यस विषयमा केन्द्रीय समितिले सहमति पूर्ण निर्णय गर्छ भन्ने विश्वास सबैले लिनुपर्छ ।