देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन महिनाको लागि मेस्सीमाथि प्रतिबन्ध

देशान्तर

अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । उनीमाथि तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो । क्लब प्रतिस्पर्धामा भने उनी सहभागी हुन पाउने छन् ।

गएको महिना ब्राजिलमा सम्पन्न भएको कोपा अमेरिका फुटबलको क्रममा मेस्सीले दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय (कोनमेबोल) ले आयोजना गरेको कोपा अमेरिका फुटबल भ्रष्ट रहेको बताएका थिए । सोही टिप्पणीका कारण मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको हो ।

बार्सिलोनाका ३२ वर्षे कप्तान मेस्सीले कोपा अमेरिकाको तेस्रो स्थानका लागि चिलेसँगको भएको खेलको क्रममा रातो कार्ड पाएका थिए । सो खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो । उनले सो खेलपछि कोपा अमेरिका आयोजकहरु भ्रष्ट रहेको र कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि ‘फिक्स’ गरेको आरोप लगाएका थिए ।

मेस्सीले ५० हजार अमेरिकी डलर जरिवाना तिर्नु पर्ने निर्णय पनि कोनमेबोलले गरेको छ । कोनमेबोलको निर्णय विरुद्ध मेस्सीले अपिल गर्न पाउने छन्, त्यसका लागि सात दिनको समय दिइएको छ ।

तीन महिने प्रतिबन्धविरुद्धको अपिल खारेज भएमा आउँदो सेप्टेम्बर र अक्टोबरमा हुने चिले, मेक्सिको र जर्मनीसँगको मैत्रीपूर्ण खेलमा मेस्सी अर्जेन्टिनाको टिममा हुने छैनन् ।

सन् २०२२ को कतार विश्वकपमा लागि अर्जेन्टिनाको छनौट खेल सन् २०२० को मार्चदेखि सुरु हुनेछ।

ब्राजिलमा भएको कोपा अमेरिका फुटबलको क्रममा अर्जेन्टिना सेमिफाइनलमा घरेलु टोलीसँग २–० ले पराजित भएको थियो । त्यसपछि अर्जेन्टिनाको फुटबल एसोसिएसनले सो खेलमा रेफ्रीले गम्भीर गल्ती गरेको गुनासो गरेको थियो । सो खेलमा आफूहरुले पाउनै पर्ने कम्तिमा दुई पेनाल्टी नपाएको अर्जेन्टिनाको भनाई थियो ।

त्यसको जवाफमा कोनमेबोलले कोपा अमेरिकामाथि लगाइएको आरोप आधारहिन रहेको र यसले सम्मानको अभाव देखाएको बताएको थियो ।

तेस्रो स्थानका लागि भएको चिलेसँगको खेलमा मेस्सीले ३७ औँ मिनेटमा रातो कार्ड पाएका थिए । चिलेका ग्यारी मेडेलले पनि रातो कार्ड पाएका थिए ।

मेस्सीले सिनियर खेल जीवनमा पाएको यो दोस्रो रातो कार्ड थियो । उनले १४ वर्षअघि सन् २००५ मा अर्जेन्टिनाबाट डेब्यु गरेको खेलमा रातो कार्ड पाएका थिए ।