देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकप क्रिकेट : नेपाल र कतार भिड्दै

देशान्तर

आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता सोमबारदेखि सिंगापुरमा सुरु भएको छ । प्रतियोगितामा नेपालले सोमबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली शनिबार सिंगापुर पुगेको हो । त्यसअघि नेपाली टोलीले मलेसियामा एक साता प्रतियोगिताको तयारी गरेको थियो।

नेपालले मलेसियासँग दुईवटा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट पनि खेलेको थियो । दुवै खेलमा नेपालले मलेसियालाई हराएको थियो । पहिलो खेलमा मलेसियालाई सात विकेटले हराएको नेपालले दोस्रो खेलमा ६ रनको रोमाञ्चक जित हात पारेको थियो । एसियाली क्षेत्रको विश्वकप छनोट प्रतियोगितामा नेपाललाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ ।

छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ८ गते मलेसियासँग दोस्रो, साउन ११ गते कुवेतसँग तेस्रो र साउन १२ गते आयोजक सिंगापुरसँग चौथो खेल खेल्नेछ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाइनेछ ।

उक्त प्रतियोगिताको शीर्ष स्थानमा आउने एउटा टोलीले टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर (विश्वस्तरीय छनोट) खेल्ने अवसर पाउनेछ । विश्वस्तरीय छनोट प्रतियोगिता आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुनेछ । १४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन् ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, शरद भेषावकर, सन्दीप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, अभिनाश बोहरा, करण केसी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, पवन सर्राफ र प्रदीप ऐरी रहेका छन् । नेपाल र कतारबीच हालसम्म दुईवटा टीट्वेन्टी खेल भएको छ । ती दुवै खेलमा नेपाली टोली विजयी भएको छ ।