देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार नागरिकको गोपनियता माथि धावा बोल्न लाग्यो : देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको दूरसञ्चारसम्बन्धी विधेयकमार्फत् टेलिफोन प्रयोगकर्तामाथि गर्न लागिएको कडाइप्रति कडा आपत्ति जनाएका छन् ।

३७ औं वीपी स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले टेलिफोनबाट गाली बेइज्जती गरे कारबाही गर्ने बहाना बनाएर सरकारले नागरिकको गोपनियताको हक माथि धावा बोल्न लागेको आरोप लगाए ।

उनले अभिव्यक्ति स्वतन्त्रता र मिडिया काउन्सिल विधेयकमार्फत प्रेस स्वतन्त्रता हनन गरी सरकार अधिनायकवादी बाटोमा लागेको बताए ।

सभापति देउवाले वीपीले स्वतन्त्रता र राष्ट्रियताका लागि ठूलो लडाईं लडेको भन्दै केपी ओली नेतृत्वको सरकारले ल्याएका यस्ता स्वतन्त्रता र मौलिक हक अधिकारविरुद्धको विधेयक संसद्बाट कुनै हालतमा पारित हुन नदिने भन्दै आवश्यक परे सडक संघर्ष थाल्ने चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका बारेमा वीपीले धेरै वकालत गरेको भन्दै उनले अंकिकार गरेको प्रणालीअन्तर्गत नै अहिलेको शासन प्रणाली स्थापना भएको बताए ।

शासन प्रणाली सही भए पनि वर्तमान शासक परिवर्तनको खिलापमा रहेकाले व्यवस्था मजबुत बन्न नसकेको उनको भनाइ थियो ।