नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ ।
कांग्रेसका शीर्ष नेताहरूसँग भेटघाट भएको राजपा अध्यक्ष मण्डलका संयोजक अनील झाले स्वीकार गर्नुभयो । उहाँले भेटघाटमा लोकतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यता जोगाउन मिलेर अघि बढ्नुपर्छ भन्ने बिषयमा छलफल भएको बताउनुभयो । साझा मुद्दा बनाएर अघि बढ्ने विषयमा दुवै पार्टी सकारात्मक भएको जानकारी दिँदै उहाँले एकदुई दिनमा थप छलफल हुने बताउनुभयो । विभिन्न तहमा भएका वार्तामा सहभागी नेताका अनुसार लोकतन्त्र र लोकतान्त्रिक र मूल्य–मान्यता जोगाउन दुई पार्टी मिलेर अघि बढ्नुपर्ने निचोड निकालिएको छ । सरकारले संसद् र संसदीय समितिलाई कमजोर बनाउँदै लगेको विषयमा पनि सदनमा कडा रुपमा प्रस्तुत हुने सहमति भएको छ ।
प्रतिक्रिया