देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय समितिः संगठन संरचनामा नीतिभन्दा सहमतिको प्रयास

देशान्तर

काठमाडौं । नजिकिँदै गएको १४औं महाधिवेशनको मितिभित्र पार्टी सबै संरचनाहरूलाई कसरी पूर्णता दिने भन्ने विषयमा छलफल गर्न आजबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठकमा मूलतः संगठन संरचनालाई पूर्णता दिने र भ्रातृसंस्थाहरूको महाधिवेशन गराउने विषयमा बढी छलफल हुने नेताहरूले बताएका छन् । छोटो समय पार्टी सबै संरचनाहरूलाई चलायमान बनाउन समय कम भएपछि कांग्रेसले नियमावलीमा समेत केही परिवर्तन गर्दैछ ।

पहिलो चरणको जागरण अभियानको छलफल सकेर पार्टीलाई तलको तहमा कसरी लाने र कार्यकर्ताहरूको माग र भनाइलाई लिएर जागरण अभियानमा गएका प्रतिनिधिहरूले दिएका प्रतिवेदनहरूमाथि पनि केन्द्रीय समितिमा छलफल हुनेछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देशान्तरलाई दिएको जानकारीअनुसार पार्टीको सांगठानिक संरचना, नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत पाटीको नियमावली, पहिलो चरणको जागरण अभियान र त्यसबाट आएको सुझावहरूको समीक्षा, भ्रातृ संस्थाको अधिवेशन र राष्ट्रिय राजनीतिका विषयहरू छलफलका एजेन्डा बनोका छन् ।

१४औं महाधिवेशन आउन अब आठ महिनामात्र बाँकी छ । तोकिएको समयमा महाधिवेशन गराउने गरी संगठनको संरचना बनाउन कि महाधिवेशन केही पर सार्ने विषय पनि बैठकमा प्रमुखताका साथ उठ्ने भएका छन् । फागुनमा महाधिवेशन सम्भव नहुनेभन्दा वैशाख वा जेठमा पु¥याउनुपर्ने माग पनि पार्टीमा उठेका छन् । तर, महाधिवेशनको समय एक वर्ष थप गरिएकोमा पार्टी फेरि संकटमा पर्ने चेतावनी पनि नेतृत्वलाई नेताहरूले दिएका छन् ।

आजबाट सुरु हुने केन्द्रीय समितिको बैठकका एजेन्डाहरू जे भए पनि विशेषगरी पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच तल्तो तहको सांगठानिक संरचनालाई पूर्णता दिने विषयमा सहमतिको खोजी बैठकमा गरिनेछ । यसअघिको केन्द्रीय समितिको बैठकले अनुमोदन गरिसकेको विधानअनुसार पार्टीका आठ तहका संरचनाअनुसार टोल, वडा, गाउँ, नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी पार्टीका ८ तहका संरचनाको व्यवस्था गरेको छ । त िसंरचनालाई कसरी पूर्णता दिने भन्ने विषयमा केन्द्रीय समिति र सभापति तथा वरिष्ठ नेता पौडेलबीच समहमति जुटाउन अहिले पनि नेताहरूले दुईपक्षीय छलफल जारी राखेका छन् ।

पार्टीको संरचनालाई पूर्ण दिनेदेखि डेढ महिना पछि सुरु हुन लागेको दोस्रो चरणका जागरण अभियानका विषयमा पनि छलफल हुनेछ । अहिलेकै सांगठानिक संरचनाअनुसार दोस्रो चरणको जागरण अभियान जान नसक्ने पहिलो चरणमा खटिएका प्रतिनिधिहरूले पार्टीलाई अवगत गराइसकेका छन् । देशान्तरसँगको कुराकानीमा प्रवक्ता शर्माले बीपी जयन्तीबाट सुरु हुने पूर्वघोषित दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि नै संघीय व्यवस्थाको नयाँ ढाँचाअनुसार पार्टीको संगठनात्मक संरचना बनाउने निधो बैठकले गर्ने बताएका छन् ।

यता, बैठकको तयारी भइरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पनि दुवै खालका छलफलहरू चलिरहेका छन् । कतै दुई नेता औपचारिक छलफलमा रहेका छन भने दोस्रो तहका नेताहरूले पनि दुवैतर्फ सहमति जुटाउने प्रयास गरिरहेका छन् । समय अभावका कारण सबै ठाउँमा निर्वाचन गराउन सम्भाव नभएको र तदर्थ वा मनोनयन गरी रिक्त संरचनाहरूलाई पूर्णता दिँदा विधान विपरीत हुने भएकाले अहिले भएका संरचना तथा पहिलेकै कार्यसमितिलाई निरन्तरता दिएर महाधिवेशनसम्म जाने गरी सहमति खोजिएको छ ।

सहमतिका आधारमा नेतृत्व चयन गर्ने वा निर्वाचनमै जाने भन्नेबारे कुनै टुंगो नलागे पनि पौडेल पक्ष मनोनयनबाट नेतृत्व ल्याउने कुरामा लचिलो देखिएको छैन । सिटौला समूहले मनोनयनको विषयलाई अस्वीकार गरिसकेको छ । देउवाले सिटौलासँग सहमतिको वातावरण बनाउन केही नेताहरूलाई जिम्मा दिएको बुझिएको छ । सहमतिबाट अन्तरिम नेतृत्व खोजेर संगठनलाई पूर्णता दिनुपर्ने पक्षमा लगभग सबैको सहमति छ ।

१४औं महाधिवेशन नहुञ्जेल अन्तरिम अवधिका लागि वडा, क्षेत्र, गाउँ, नगर र प्रदेश संरचना बनाउने कांग्रेसको तयारी छ । कांग्रेसको सिंगो संगठनमा अहिले संस्थापन पक्ष अल्पमतमा देखिएको छ । पार्टीका तल्ला तहहरूमा संस्थापन इतरपक्षको राम्रो उपस्थित देखिएको छ । १३औं महाधिवेशनमा नराम्रो नतिजामा पुगेको सिटौला पक्ष आउँदो महाधिवेशनमा पनि उम्मेदवारी दिने पक्षमा छ । सिटौला समूहले अलग प्यानल खडा गरेको अवस्थामा देउवासँग पौडेलको टक्कर हुनेछ । अहिले सिटौलाले महामन्त्री र कोषाध्यक्षको पद मागिरहेका छन् ।

सभापति देउवाले दुई पद दिए सिटौला यही केन्द्रीय समितिको बैठकबाट देउवाको पक्षमा जाने निश्चित छ । पार्टीमा अहिले चार थरीको समूह देखिएको छ । सभापति देउवा समूह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह, कोइराला समूह र सिटौला समूह । कोइराला समूहले पनि पहिलो पटक पार्टीको नेतृत्व गर्ने दाबी गरेको छ भने पौडेल र सिटौलाले पराजयको स्वाद चाखिसकेका छन् । पौडेल समूहभित्र पनि विभिन्न गुट भएकाले ती गुटहरूलाई विभाजित गर्न सकिए मात्र पनि अर्को कार्यकालका लागि आफूलाई सहज हुने देउवाको ठम्याइ छ ।

तर, आजबाट सुरु हुन बैठकमा नेताहरूको धारणा कस्तो आउने त्यो नआएसम्म पार्टीको संरचना कस्तो र कसरी बन्छ यकिनका साथ भन्न सकिने अवस्था छैन । आजको उक्त बैठकले नियमावली पारित गर्दै बुथ, प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेश कार्यसमिति निर्वाचन कि मनोनयनबाट गठन कुराको टुंगो लगाउनेछ । तर पार्टी नियमावली मस्यौदा समितिमा नै निर्वाचन कि मनोनयन भन्ने विषय संस्थापन र इतरपक्षबीच विवाद परेको छ ।

नियमावली मस्यौदा समितिले मनोनयनको बाटो खुला गर्ने प्रावधान पारित गर्ने लागेपछि इतरपक्षले विमति जनाएको छ । नियमावली समितिका सदस्यहरूले पनि फरकफरक धारण दिइरहेका छन् । विधानको धारा ७२ को उपधारा ४ को ख, ग र घ को बमोजिम हुने व्यवस्था केन्द्रीय कार्यसमितिले निर्णय गरेअनुसार कार्यान्वयन हुनेछ भनेर नियमावलीमा छिराइएको छ । तर, यही बुदाँमा पनि समितिका सदस्यहरू सहमत छैनन् ।

विधानको धारा ७२ को उपधारा ४ का (ख), (ग) र (घ) ले प्रदेश कार्यसमिति तत्कालीन महाधिवेशन प्रतिनिधि र त्यस तलका कार्यसमितिहरू क्षेत्रीय प्रतिनिधिबाट निर्वाचित हुने व्यवस्था गरेको छ । केन्द्रीय कार्यसमितिको बहुमतले निर्णय गरे मनोनयनबाट समेत गठन गर्न सकिने प्रस्तावित नियमावलीमा शब्दहरू परेको अहिले आएर नेताहरूले खोल्न थालेका छन् । नियमावली हुबहु पारित हुन नदिने पक्षमा संस्थापन इतर पक्ष देखिएको छ ।

पार्टी विधानले सबै तहको चयन निर्वाचनबाट हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर, नेताहरूबीच सहमति भयो र सहमतिपूर्वक मनोनयन गर्न वातावरणको विकास भयो भने राजनीतिमा सहमतिभन्दा ठूलो विधान नहुने तर्क पनि आइरहेका छन् । नेताहरूबीच सहमतिको वातावरण बन्न नसकेको अवस्थामा निर्वाचनको विकल्प मात्र विधानले दिएको छ । विधानविपरीत गएर मनोनयनका लागि पार्टीभित्रका सबै पक्षबीच सहमति आवश्यक पर्छ । तर, अहिलेसम्म मनोनयनमा कसैको पनि मत मिलेको छैन ।