काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्ड समारोहलाई सरकारले नाफा आर्जनका लागि स्वीकृति दिएको बताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा उनले पैसा दिने विषयमा भने कुरै नभएको दाबी गरे ।
नेपाल सरकारले घाटाको व्यापार गर्दैन, नाफाको व्यापार गर्ने हो,’ मन्त्री बाँस्कोटाले भने, ‘सम्झौता हुनै बाँकी छ । सैद्धान्तिक प्रस्ताव मात्र आएको हो ।’
उनले यो अवार्ड समारोह ५० र ६० करोड मानिसले एकसाथ हेर्ने र नेपालप्रति जिज्ञासा बढ्ने दाबी गरे । ‘यो एउटा ठूलो इभेन्ट हो । उनीहरूले यहाँ एउटा टेन्ट नै ५६ करोडको राख्दै छन् । हामीले ४४ करोड दिइहाल्यौं भने पनि पुग्दैन । त्यसैले हामीले सुरक्षाका कुरा गर्नुपर्छ,’ उनले भने ।
मन्त्री बाँस्कोटाले अवार्ड समारोह आयोजना गर्नुलाई चुनौती र अवसरका रूपमा लिनुपर्ने बताए । ‘सरकारले यसमा पैसा खर्च गर्ने सोचाइ बनाएको छैन । भ्रमण वर्ष २०२० लाई पनि हामीले सम्झिनुपर्छ ।’ उनले श्रीलंकामा अवार्ड समारोह आयोजना गर्दा सरकारले २ बिलियन लगानी गरेको र त्यसबाट ४ बिलियनभन्दा बढी आम्दानी गरेको देखिएको दाबी गरे ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने नेपाली चलचित्र उद्योगलाई प्रवर्द्धन गर्ने गरी र नेपालको माग वा आवश्यकतामा सञ्चालन हुने गरी मात्रै आइफाजस्ता समारोह नेपाली भूमिमा आयोजना गर्नुपर्ने बताए ।
पूर्वसांसद मञ्चले मंगलबार बानेश्वरमा आयोजना गरेको वार्षिक साधारणसभामा उनले नेपाल सरकारले विदेशी आयोजकको हितमा मनोमानी रूपमा प्रायोजक बन्न बन्द गर्नुपर्ने सुझाव दिए ।
प्रतिक्रिया