काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन् । प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको पनि स्पष्ट पारेका छन् ।
निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकारवाहीमा सुधार नभए सरकार त्यसको सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पारे ।
उनले निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आउनुपनेृ र नभए त्यसको संचालनका लागि सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुने बताए । निजी क्षेत्रले चलाउन सक्ने विमान किन निगमले चलाउन सक्दैन ? प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाए ।
उनले सरकार निगमको साथमा रहेको तर निगमले विमान सञ्चालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरे । प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरुलाई चुस्त राख्न पनि सचेत गराए ।
आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगट्ने गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो । उनले विमान सञ्चालनको स्पष्ट योजनाका साथ काम गर्न पनि निगम व्यवस्थापनलाई सचेत गराए ।
प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्न गरेका थिए । “वायु सेवा निगम ६१ बर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो ? प्रधानमन्त्री ओलीले भने, यथास्थितिमा निगमलाई सरकारले एक पैसा पनि दिँदैन ।
प्रतिक्रिया