अहिले नेकपा नेतृत्वको सरकारले कम्युनिस्ट सत्ता निर्माणको प्रयास गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा मनपर्ने देश कम्बोडिया पक्षमा देखिएका छन् । यसबाट नेपाल कम्युनिस्ट पार्टीको बहुमत सरकार चलाउने नभएर कम्युनिस्ट सत्ता निर्माण गर्न खोजेको प्रस्ट हँुदै गएको छ । सरकारले संसद्लाई समेत पंगु बनाउन खोजेको छ । अदालत सरकारको छायाँ जस्तो भएको छ । कानुन उल्लंघन गर्नेमाथि प्रश्न उठाइनु पर्नेमा सरकार अहिले पुराना व्यवस्था उल्लंघन हुने गरी कानुन बनाउन लागेको छ ।
सरकारले संसद्भित्रको शक्ति दुरुपयोग गर्दै एकपछि अर्को कानुन बनाउँदै आएको छ । अहिले कांग्रेसले चाहेर पनि सरकार बदल्न सक्ने अवस्था छैन त्यसकारण अबको साढे तीन वर्ष यही सरकार चल्छ । तर, सरकारलाई राम्रोसँग चल्न दिने र ठीक ठाउँमा राख्ने तागत कांग्रेसमा आन्तरिक कारणले देखिएको छैन । सरकारलाई ठेगान लगाउनका लागि कांग्रेसमा वैचारिक स्पष्टता चाहिने आवश्यकता देखिएको छ ।
नयाँ संविधान जारी भएपछि भएको चुनावबाट नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार बन्यो । उसले दुई तिहाइको सरकार बनाउन नपाउने हैन । कम्युनिस्ट पार्टीले चुनाव जित्नै नपाउने होइन । आज कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीले चुनाव जित्यो र यस कारणले बर्बाद भयो भनेर मात्र हुँदैन । यसका लागि कांग्रेसले आफूमा पनि सुधार गर्नुपर्छ । हिजो हामीले यही नेपाल कम्युनिस्ट पार्टीसँग मिलेर आन्दोलन गरेका हौं । नेपाल कम्युनिस्ट पार्टीले भोलि दुई तिहाइ होइन तीन चौथाइ पनि ल्याउन सक्छ ।
अहिले कांग्रेससँग भएका सबै सिटमा उनीहरू निर्वाचित भएर आउन सक्छन् । यसमा अब कांग्रेसले चिन्ता लिने कि नलिने ? अहिले कांग्रेसको मूल चिन्ता यो हुनुपर्ने र त्यो अवस्था आउन नदिनका लागि आफूलाई रूपान्तरण गर्दै लाने हो । अहिले नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार छ ।
हामीले बनाएको संविधान कार्यान्वयनबाट यहाँसम्म आइपुगेका छौं । जनताले हामीलाई प्रतिपक्षको जिम्मेवारी दिएका छन् । साढे तीन वर्षपछि चुनाव हुन्छ । त्यसो भएको भए आज हामी देशको परिस्थितिका आधारमा कांग्रेसको भूमिका होइन, अर्को चुनावमा कांग्रेसले के गर्ने भनेर छलफल गरिरहेको हुनुपथ्र्यो । हामी त्यो नगरेर फेरि किन देशको परिस्थितिबारे छलफल गर्न बाध्य भइरहेका छौं ।
अहिले सरकारले गर्नुपर्ने नियमित कामहरू भनेका शान्ति, सुरक्षा र सुशासन मुख्य हुन् । तर, सरकार यी कामहरू गर्न चुकेको छ । जताततै चुकेको छ र आफ्नो क्षमता देखाउन पनि सकेको छैन । नागरिक भएर चित्त दुखाउने कुरामा मात्रै कांग्रेस भएर खुसी हुने कुरा गरेर अब हँुदैन । यो सरकारले धेरै राम्रो काम गरेन भने साढे तीन वर्षपछि हामी राम्रो काम गर्छौं भनेर आउन सक्ने परिस्थिति निर्माण गरेर जानुपर्ने चुनौती छ ।
अहिले कांग्रेस चिन्तित बन्नुपर्ने अवस्था यसकारण पनि आएको हो कि दुई कम्युनिस्ट पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि यसले जसरी शासन सत्ता चलायो, संसद्मा आएको विधेयकहरू जसरी आएका छन् । त्यसले सबै पक्षलाई त्रसिद बनाएको छ र लोकतन्त्रमा अरूभन्दा धेरै लडेको कांग्रेसले यस्ता विधेयकहरू सच्याउन पहल गरोस् भन्ने चहना सबैमा छ । गुठी विधेयक उस्तै आयो । मिडिया काउन्सिल विधेयक उस्तै छ ।
मानवअधिकारदेखि नागरिकता र राहदानीजस्ता विधेयकहरू एकपछि अर्को गर्दै सबै पारित भयो भने र कांग्रेस अहिलेको जस्तो कमजोर भयो भने नेपालको अवस्था कस्तो होला ? यसमा अहिले हामीले सोच्ने कि नसोच्ने । म थोरै सरकार र अहिलेका हाम्रा विषयमा पनि भन्न चाहन्छु । हाम्रा प्रधानमन्त्रीलाई सबैभन्दा मन पर्ने देश कम्बोडिया । कम्बोडियामा सन् २०१४ सालमा चुनाव भयो । हुन सेन प्रधानमन्त्री हुनुभयो ।
विपक्षी दलले चुनावमा धाँधली भयो भन्यो र ठूलो आन्दोलन भयो । आन्दोलनसँग सम्झौता भयो, छिटो चुनाव गर्ने भनियो । तर उनीहरूले सम्झौता मानेनन् र २०१८ मा चुनाव भयो । २०१८ सम्म आइपुग्दा नपुग्दै हुन सेनले नेपाली कांग्रेस जस्तै प्रमुख प्रतिपक्षी दलको नेता विदेश गएको बेला अहिले हामीकहाँ छलफल भएको जस्तै त्यहाँ पनि छलफल थियो, एउटा दुईटा भ्रष्टाचारका प्रकरण थिए ।
त्यसमा मुद्दा लगाएर विदेश गएका प्रमुख प्रतिपक्षी दलका नेतालाई देश छिर्न दिइएन । पार्टीले बाध्य भएर नयाँ सभापति बनायो । नयाँ सभापतिलाई राजद्रोहको मुद्दा लगाइयो । राजद्रोहको मुद्दा लगाउनु गलत भनेर पत्रिकाले लेख्यो । प्रधानमन्त्री हुन सेनले त्यो पत्रिकाको सम्पादकलाई थुन्नुभयो । थुन्नका लागि चाहिने सबै कानुन बनाइयो ।
यतिले पुगेन, चुनावभन्दा ठीक केही महिना अगाडि हुन सेनको सरकारले प्रमुख प्रतिपक्षी दलमाथि नै प्रतिबन्ध लगाइदियो । प्रतिबन्ध लगाउन चाहिने कानुन त्यहाँको संसद्ले पारित ग¥यो र अहिले अदालतमा गयो भने पनि मुद्दा लाग्दैन । अहिले कम्बोडियामा हुन सेनको पार्टीको सरकार छ । बहुदल पनि छ । प्रेस पनि छ । अदालत पनि छ । सबै कुरा छ । संसारमा अनुदारवादी लोकतन्त्र कस्तो हुन्छ भन्ने पछिल्लो उदाहरण हो यो ।
अब मानिसहरू बन्दुक बोकेर आएर निर्वाचित सरकारलाई अपदस्थ गर्दैन, चुनावबाट यसरी नै आउँछ । त्यसैले समस्या नेपाल कम्युनिस्ट पार्टीको सरकार होइन । सरकार त नेपाल कम्युनिस्ट पार्टीको बनेको छ । साढे तीन वर्षपछि यसलाई बदलौंला । हामी चुनाव जितेर आउँला । राम्रो काम गरे फेरि जितौंला, नराम्रो काम गरे हारौंला । फेरि नेकपा आउँछ । अनन्तकालसम्म हामी जित्छौं भन्ने पनि छैन । हार्छौं भन्ने पनि होइन । समस्या नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्यो भन्ने होइन । सरकार चलाउने नसकेको नेपाल कम्युनिस्ट पार्टीले कम्युनिस्ट सत्ता निर्माण गर्न खोज्यो ।
हाम्रो संविधानले स्पष्टसँग सरकारसँग कति अधिकार छ । संसद्सँग कति अधिकार छ । अदालतसँग कति अधिकार छ । संवैधानिक आयोगसँग कति अधिकार छ । नागरिकसँग कति अधिकार छ भन्ने बन्दोबस्त गरेको छ । तर, अहिले सरकार संसद्सँग भएको अधिकार मान्दैन । अदालत सरकारको छायाँ जस्तो भएको छ । कांग्रेसले सधैं यो नियति व्यहोर्नुपर्ने ? २०१५ सालमा जित्ने, ०१७ सालमा हारिहाल्नुपर्ने ? २०४६ सालमा जित्ने, २०५१ मा हारिहाल्नुपर्ने ? फेरि अहिले यत्रो लामो यात्राबाट देश शान्ति र स्थिरतामा गयो भन्नासाथ दुई तीन वर्षमा गडबढी सुरु भइहाल्नुपर्ने फेरि ? ।
यो प्रणाली गइहाल्नुपर्ने ? यो व्यवस्था नजोगाउने ? अहिले कांग्रेसले खोज्नुपर्ने र लिनुपर्ने चिन्ताको विषय भनेको यही हो । यसका निम्ति कांग्रेस वैचारिक हिसाबले स्पष्ट भएन भने सम्भव छैन । कमल थापाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति पार्टीको मार्गदर्शक सिद्धान्त भयो भनेर भाषण गरेका छन् । बाबुराम भट्टराईले ट्विटमा भनेका छन्— बीपीलाई अपहरण गरेर लगे, जोगाऊ, जोगाऊ । यसको समीक्षा गर्न कांग्रेस तयार हुन कि नहुने ? यो चुनावको कुरा मात्र होइन । हाम्रो वैचारिक कुरा पनि हो । (मन्तव्यका आधारमा)
प्रतिक्रिया