काठमाडाैँ । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार लर्डसमा भएको खेलमा अस्ट्रेलियाले न्युजिल्याण्डमाथि ८६ रनको सहज जित दर्ता गरेको छ । २४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४३ ओभर चार बलमा सबै विकेट गुमाएर मात्रै १५७ रन बनायो ।
न्युजिल्याण्डले १२५ रन बनाउँदा ६ गुमाइसकेको थियो । यसरी धरापमा परेको उसका लागि त्यसपछि आएका ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान केन विलियम्सले ४०, रोस टेलरले ३० तथा मार्टिन गुप्टिलले २० रन बनाए ।
अस्ट्रेलियाका मिचेल स्टार्कले मात्रै २६ रन दिएर पाँच विकेट लिए । जेसर बहर्नडोर्फले ३१ रन दिएर दुई तथा प्याट कमिन्स, नाथन लियन र स्टिभ स्मिथले एक एक विकेट लिए ।
पहिले ब्याटिङ्ग गरेको अस्ट्रेलियाले ९ विकेटमा २४३ रन बनायो । उसका लागि उस्मान ख्वाजाले ८८ तथा एलेक्स केरीले ७१ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले चार विकेट लिए ।
जितपछि शीर्ष स्थानको अस्ट्रेलियाको ८ खेलबाट १४ अंक भएको छ भने तेस्रो स्थानमा रहेको न्युजिल्याण्डको ११ अंक छ ।
प्रतिक्रिया