देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेससँग मिलेर जानुको विकल्प छैनः अध्यक्ष दाहाल

देशान्तर

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले कांग्रेसलाई चिडाएर हैन साथलिएर अगाडी बढ्न आवस्यक भएको बताएका छन । उनले प्रतिपक्षको भूमिकालाई कम्जोर बनाउने रणनितिले गर्दा सरकारले सोचेजस्तो सफलता नपाएको बताएका छन ।

दाहालले देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल कांग्रेससँग मिलेर जानु पर्ने र कांग्रेसलाई छाडेर शान्ति प्रक्रियाको काम पनि पुरा नहुने बताएका छन् । भरतपुर महानगरपालिकाको चौथोँ नगरसभाको उद्घाटनमा उनले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा कांग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका हुन् ।

दाहालले ‘हामीले नचाहे पनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ भन्दै प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा आफुबीच लगातार छलफल भइरहेको पनि बताए । उनले भने, हामी एक्लै हिड्न सक्ने अवस्थामा छैनौँ, शान्ति प्रक्रिया मिलेर गयौँ, संविधान मिलेर ल्यायौँ, हामी एउटै डुङ्गामा यसरी चढेका छौँ कि त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनु हो ।’

अध्यक्ष दाहालले नेत्रविक्रम चन्द समूहको नेकपाका नेता ढिलो चाँडो आफ्नै पार्टीमा आउने विश्वास व्यक्त गरे । अरु साथी फर्के जसरी विप्लवजी पनि आउने उनले बताए । शान्ति सम्झौतापछि दुई वर्षसम्म चन्द आफ्नो सचिवालयको मुख्य सचिवको रुपमा रहेर काम गरेको स्मरण गर्दै उनले केही असन्तुष्टि भने त्यतिबेला पनि देखिएको बताए ।

पैसाको अभावमा भरतपुरमा निर्माण हुन लागेको रङ्गशालाको काम रोकिन नदिने विश्वास दिलाए । महानगरलाई नमूना बनाउन सुझाव दिँदै उनले भ्रष्टाचाररहित महानगर बनाउनु पर्ने बताए । भरतपुरको विकास समग्र देशसँग जोडिने भएकाले सोहीअनुसार काम गर्न उनले आग्रह गरे । महानगरले आव २०७६(७७ का लागि तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार बजेट विनियोजन गरेको छ ।