पार्टीको औपचारिक कार्यक्रमको सन्दर्भ पारेर परिवारसहित डेनमार्क पुगेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आफ्नो विवाहको २८ औं बर्षगाँठ मनाएका छन् ।
श्रीमती अनामिका निधि र परिवारका अन्य सदस्यसहित निधी युरोप भ्रमणमा छन् । नेता कार्यकर्ता माझ निधी दम्पतिले पुराना दिनहरुको यादमा एक अर्कालाई समर्पित गर्दै गीतसमेत सुनाए ।
अनौपचारिकरुपमा कार्यक्रम गरिएको भए पनि वातावरण उल्लासमय रहेको एक प्रतिनिधिले बताए । नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने भेलालाई निधीले शुक्रबार कोपनहेगनस्थित रिचमण्ड होटलमा उदघाटन गरेका थिए । लगत्तै नेपाली जनसम्पर्क समिति डेनमार्कले आफ्नो चौधौं बार्षिकोत्सव मनायो ।
वार्षिकोत्सवको समापन हुँदै गर्दा पार्टीको मञ्चबाट नै उदघोष भयो, यस कार्यक्रमको समापनसँगै पार्टी उपसभापतिको २८ औं वैवाहिक बर्षगाँठ पुगेको अवसरमा जनसम्पर्क समिति डेनमार्कको तर्फबाट बधाई सहित केक काटेर सामुहिकरुपमा मनाउने व्यवस्था गरेका छौँ । सहभागिताका लागि अनुरोध गर्दछौं ।’
निधी दम्पत्तिलाई महामन्त्री शशांक कोइराला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस नेताहरु डा।मिनेन्द्र रिजाल, भीष्मराज आङ्गदम्बे, धनराज गुरुङ्, गोविन्द भट्टराईलगायत नेताहरुले सफल दाम्पत्य जीवनको शुभकामाना दिए ।
भेलामा सहभागी एक प्रतिनिधिले भने यस्ता गतिविधिले गलत सन्देश जाने हुँदा पारिवारिकरुपमा नै मनाएको भए राम्रो हुने प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया