देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलाइ प्रधानमन्त्री बन्न हतार छैन : दाहाल

देशान्तर

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रधानमन्त्री बन्न हतार नगरेको बताएका छन् । प्रेस संगठन नेपाल कास्कीले पोखरामा बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले आफू प्रधानमन्त्री बन्नका लागि हतार नभएको स्पष्ट पारेका हुन् ।
उनले सरकार र पार्टीका बारेमा आलोपालो विषयमा आफूले राखेका धारणाभन्दा फरक सार्वजनिक भएको भन्दै आपत्तिसमेत जनाए । उनले बजेट पारितपछि केही मन्त्रीहरू भने हेरफेर हुने खुलासा गरेका छन् । भने भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको बेलामा जतिबेला पनि मन्त्रिमण्डल पुनर्गठन हुनेछ ।’ यसबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको जानकारी दिँदै उनले भने, ‘मन्त्रीमण्डल हेरफेरको अधिकार प्रधानमन्त्रीलाई छ । अब सरकार सशक्त रूपमा अगाडि बढेर जटिल किसिमका निर्णय गर्नुछ ।’

उनले पार्टी एकताबारे बोल्दै बुधबार मात्र प्रधानमन्त्री र आफूबीच लामो छलफल भएको र सो छलफलबाट सरकारका कामकारबाही प्रभावकारी र पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने कुरा भएको जानकारी दिए । साथै शनिबार सचिवालयको बैठक बोलाइएको र एकता प्रक्रियालाई अन्तिम रुप दिने बताए ।
‘दुई धारबाट आएको पार्टी मिलाएर अगाडि बढ्न कठिन छ, यसमा खेल्नेहरु पनि धेरै छन्, एकता प्रक्रिया हल्काफुल्कारुपमा लिने छुट कसैलाई छैन, सरकारको कार्यकाल सफल भएको मान्नुपर्छ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘मानव अधिकारसम्वन्धी कानून बनायौ, अघिल्लो वर्ष लोकप्रिय बजेट आउन सकेन । यस वर्ष लोकप्रिय बजेट ल्याएका छौं ।’
त्यस्तै, उनले गुठी विधेयक विरोधमा देखिएको जनअसन्तुष्टि र प्रदर्शनकै कारण सरकारले उक्त विधेयक फिर्ता लिएको बताए ।
त्यस्तै अर्को एक प्रसंगमा उनले जनआन्दोलनबाट प्राप्त उपलब्धि विप्लवसहित भएको उपलब्धि हो भन्दै विप्लव माओवादी राजनीतिको मूल धारमा आउनैपर्ने सुझाव दिए । ‘उनीहरुको बाटो गलत छ, वार्ताबाटै राजनीतिक मूलधारमा आउन बाटो खुला छ, केही दिनअघि राजधानीमा विप्लवका चार युवाको अनाहकमा ज्यान गयो, यदि उनीहरु द्वन्द्व नै सृजना गरी अगाडि बढ्छन् भने सरकार पनि चुप लागेर बस्दैन,’ उनले चेतावनी दिए ।