देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ ५ वर्षयताकै उच्च ; तोलाको ६४ हजारमा कारोबार

देशान्तर

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ ५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले आगामी दिनमा ब्याजदरमा थप कटौती हुन सक्ने बताएसँगै सुनको भाउ बढेको हो ।

बिहीवार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्समा बिहानदेखि नै सुनको भाउ बढेको थियो । बिहीवार सुनको भाउ अधिकतम प्रतिऔंस १ हजार ३८६ डलर ६० सेन्टसम्म पुगेको थियो । यो ५ वर्षयताकै उच्च हो । यो समाचार तयार पार्दासम्म साँझ ४ः५५ बजे स्पट गोल्डको भाउ प्रतिऔंस १ हजार ३८१ डलर ७८ सेन्ट कायम थियो । यो अघिल्लो दिनको तुलनामा १ दशलमव ५३ प्रतिशत बढी हो । गोल्ड फ्युचर्सको भाउ पनि ३ प्रतिशत बढेर अधिकतम १ हजार ३९७ डलर ७० सेन्टसम्म पुगेको थियो । यो समाचार तयार पार्दासम्म भने १ हजार ३८५ डलर ४० सेन्टमा आइपुगेको थियो ।

बुधवार अमेरिकी केन्द्रीय बैैंक फेडेरल रिजर्भ फेड ले ब्याजदर यथावत् राख्ने बताएको थियो । आगामी दिनमा भने त्यसमा कटौती गर्न सकिने उल्लेख छ । अमेरिकाको सरकारी ऋणपत्रको १० वर्षे प्रतिलब्धि दर पनि २ प्रतिशतभन्दा धेरै घटेको छ । सन् २०१६ को नोभेम्बरयता पहिलो पटक यति ठूलो कमी आएको हो । सरकारी ऋणपत्रको प्रतिलब्धि दरमा आएको कमीका कारण सुनको भाउ बढेको विश्लेषकहरूको भनाइ छ ।