काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीका ठेकेदारबाट धोका भएको बताएका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यकक्षमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे आफैंलाई गलत रिर्पो्टिङ गरिएको बताए ।
यसअघि जुन समयमा मेलम्ची आयोजनाको निर्माण सम्पन्न हुन्छ भनिएको थियो । त्यो गलत तथ्यांक रहेको ओलीले दाबि गरे । “मेलम्चीमा ठेकेदारबाट धोका भयो, ठेकेदार भाग्नुभन्दा पहिला नै टुङ्गिएको म्याद मलाई बताइएन“, उनले भने, “हामी अप्ठ्यारो परिस्थितीमा छौँ । असहयोगको भावना धेरैतिरबाट भएको छ । खुलेर राजनैतिक पार्टी र सरकारी निकायबाटै असहयोग भएको छ । यो कुरामा पनि सजग हुनुपर्छ । कसैले भन्न नपाउनेगरी काम गर्नुपर्छ ।“
सम्बन्धित मन्त्रालयले अनुगमन चुस्त पार्नुपर्ने उनको भनाई थियो । ओलीले नीतिगत तहमा हुने भ्रष्टाचारले सरकारको छवी धुमिल्याएको बताएका छन् ।
उनले सरकारी कार्यालयमै भ्रष्टाचार बढिरहेको र यसले सरकारको बदनाम भइरहेको भन्दै भ्रष्टाचार रोक्न सबै मन्त्री र सचिवहरुलाई निर्देशनसमेत दिएका छन् । नीति नियमको अधिनमा रहेर जनताको सेवा गर्न सरोकारवाला सबैलाई निर्देशन दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारले प्राथमिकता दिएका तथा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति राम्रो नभएको भन्दै सम्बन्धित मन्त्रीहरुलाई जिम्मेवार बन्न निर्देशन दिए ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सबैजसो प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारले दिने सशर्त अनुदान दिने कम भएको भन्दै गुनासो गरेको भन्दै प्रदेश सरकारको पुँजीगत खर्च क्षमताका आधारमा सशर्त अनुदानको दायरा मिलाइएको बताए । बैठकमा मन्त्रीहरुले आफ्नो कार्यालय अन्तर्गतका आयोजनाहरुको अवस्थाबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया