देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोकिएन गुठीको आन्दोलन तीनमन्त्रीको राजिनामा माग

देशान्तर

काठमाडौँ । सरकारले संघीय संसद्मा दर्ता गरेको गुठी विधेयक खारेजीको माग गर्दै गुठीयार, सम्पदा संरक्षण अभियन्ता, संरक्षणविद् सडकमा आएका छन् । गुठी विधेयक खारेजी हुनुपर्ने भन्दै उनीहरुले राजधानीको माइतीघर ४ घण्टा ठप्प पारेका हुन् ।

विधेयक खारेज नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी थियो। प्रदर्शनकारीले आफ्नो धर्म, संस्कृतिमाथि आक्रमण गर्ने प्रयास गरेर सुतेको बाघलाई जिस्काएको प्रतिक्रिया दिए ।

परापूर्वकालदेखि चल्दै आएको गुठी परम्परालाईं ध्वस्त पार्न खोज्ने सरकारविरुद्ध सडकमा आउँदा भाडाका मान्छे आएको, गुठी प्रथालाई सामन्तवाद भनेको प्रति उनीहरुले चर्को आक्रोश पोखे। ‘तपाईहरु हामीलाई भाडाका मान्छे देख्नुहुन्छ । उक्साहटमा आएको देख्नुहुन्छ ।

सामन्तवादी देख्नुहुन्छ,’ नेवा देय दवुका अध्यक्ष द्वारिकामान तण्डुकारले भने, ‘हामीचाहिँ तपाईले ल्याएको विधेयकको पानापानामा मार्सी भात देख्छौं । होली वाइन देख्छौं ।’

गुठी पक्षधरहरुले बुधबार काठमाडौंको माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरेका छन् । जनआन्दोलन २०६२–६३ को झल्को दिनेगरी जनप्रदर्शन भएको थियो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किएको जुलुस माइतीघर मण्डलामा जम्मा भएका थिए ।

सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयक खारेजी हुनुपर्ने उनीहरुको मुख्य माग थियो । बुधबार गर्ने भनिएको प्रदर्शनको पूर्वसन्ध्यामा सरकारले उक्त विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।

तर प्रधानमन्त्री र भूमिसुधार मन्त्रीले व्यक्त गरेका धारणाले आफूहरुलाई आक्रोशित बनाएको सहभागीको प्रतिक्रिया थियो । जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, भूमिसुधार मन्त्री पद्मा अर्यालको राजीनामा माग गरिएको थियो । गुठी विधेयक फिर्ता होइन, खारेजी गर्नुपर्ने सहभागीहरुको माग थियो ।

प्रर्दशनमा हजारौं गुठी पक्षधरको सहभागिता थियो । राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमि व्यवस्था मन्त्री अर्यालले मंगलबार फिर्ता लिएकी थिइन् । उनले सरोकारवालासँगको छलफलका लागि विधेयक फिर्ता लिएको बताएकी थिइन् । प्रर्दशनकारीले सरकारले संस्कृति मास्न खोजेको भन्दै समयमै नसच्चिए सरकार नै मासिने चेतावनी दिएका थिए ।

उनीहरुले हाम्रो सम्पदा मास्न पाइँदैन, सम्पदा कसैको दाइजो होइन लगायतका नारा पनि लगाएका थिए । गुठियारहरुले भुमि व्इास्थामन्त्री पद्मा अर्याल, गृहमन्त्री रामबाहादुर थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटको राजिनामा मागेका छन् ।