काठमाडौँ । चालू आर्थिक वर्षको १० महिनामा मुलुकको घाटा (शोधनान्तर स्थिति) ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले घाटामा थियो ।
मुलुक भित्रिने भन्दा बाहिरिने रकम बढेकाले शोधनान्तर घाटा फराकिलो बन्दै गएको हो। यसको अर्थ मुलुकबाट बाहिरिने रकम निरन्तर रुपमा बढिरहेको छ भन्ने हो । यो वर्षको सुरुदेखि बढ्दो दरमा रहेको शोधनान्तर गत माघ महिनासम्म सुध्रिदो अवस्थामा देखिएको थियो। त्यो सुधार धेरै समय टिकेन। फागुन र चैतदेखि पुनः उकालो लाग्न थालेको हो ।
यही क्रममा बैशाखसम्म शोधनान्तर घाटा सवा ६८ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिमा यस्तो उल्लेख छ ।
गत चैतमा मुलुकको शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो। ०७५ चैतमा शोधनान्तर घाटा १४ अर्ब ६० करोड रुपैयाँ थियो। त्यसो त भुक्तानी सन्तुलन ऋणात्मक भएको यो पहिलो घटना होइन। गत दुई आर्थिक वर्षका अधिकांश महिना शोधनान्तर ऋणात्मक थियो । यो वर्षपनि सोही प्रवृतिले निरन्तरता पाएको हो ।
मुलुकबाट बाहिरिने र भित्रिने रकमबीचको अन्तर देखाउने सूचकलाई शोधनान्तर (भुक्तानी सन्तुलन) भनिन्छ । पछिल्ला वर्षमा आयात उच्च दरले बढनुका साथै अध्ययन, स्वास्थ्य उपचार, घुमफिर लगायत कारण ठूलो मात्रामा विदेश मुद्रा बाहिरिएकाले शोधनान्तर घाटामा रहेको विज्ञहरु बताउँछन ।
निरन्तर रुपमा शोधनान्तर घाटा बढी रहनु राष्ट्रका लागि खतरनाक अवस्था भएको अर्थ्विद्हरु बताउँछन्। घाटा नियन्त्रणका लागि सरकारले विशेष रुपमा पहल नगरे अर्थतन्त्रमा नकारात्मक असर पुग्ने उनीहरुको भनाइ छ । निरन्तर बढ्दो शोधनान्तर घाटाले निम्त्याउने समस्या समाधानका लागि सरकारले अल्पकाल, मध्यकाल र दीर्घकालका लागि छुट्टाछुट्टै विशेष योजना बनाउनुपर्ने उनीहरुको सुझाव छ ।
शोधनान्तर घाटामा रहँदा विदेशी लगानी निरुत्साहित हुन्छ। उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनियम सञ्चितिमा ह्रास आउने विज्ञहरु बताउँछन् ।
प्रतिक्रिया