विहार । भारतको विहारमा फैलिएको भाइरल इन्सेफ्लाइटिसका कारण ९० जना बालबालिकाको मृत्यु भएको छ । करिब दुई सयजना बिरामी छन् । उनीहरु सबै १० वर्ष मुनिका बालबालिका भएको जनाइएको छ । उनीहरुको उपचार विहारका दुईवटा अस्पतालमा भइरहेको छ ।
विहार राज्यका सरकारी अधिकारीहरुका अनुसार धेरैको मृत्यु हाइपोग्लिकेमिया अर्थात् लो ब्लड सुगरका कारण भएको छ । सन् १९७० को दशकमा इन्सेफ्लाइटिस पहिलोपटक देखिएपछि अहिले सम्म विहारमा हजारौं बालबालिकाको मृत्यु भइसकेको छ ।
भारत सरकारले बिरामीका परिवारलाई सम्भावित सबै सहयोग हुने जनाएको छ । पछिल्लो पटक विहारमा इन्सेफ्लाइटिस यही जुन महिनाको शुरुबाट फैलिएको हो । धेरै बालबालिकाको मृत्यु स्थानीय मुजफ्फरपुर क्षेत्रमा भएको छ । मनसुनको बेलामा अधिकांश समयमा यो प्रकोप विहारमा फैलिने गरेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया