देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग कांग्रेसकाे माग

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

उनले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृतिक, सामाजिक मूल्यमान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरी सरकारले विधेयक ल्याएको दाबी गरे । गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति सिर्जना हुन सक्नेतर्फ समयमै सचेत नभए उत्पन्न गम्भीर परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुनेतर्फ पनि उनले सचेत गराए । प्रधानमन्त्रीले ‘सोचिने छ, विचार गरिने छ भन्ने ‘र सरकारकै प्रवक्ताले ‘सामन्ती अवशेष समाप्त पारि छाडिने’ भन्ने अभिव्यक्ति दिँदै आएको भन्दै उनले ‘कुटे जस्तो र रोए जस्तो’ सरकारको दोहोरो चरित्र कदापि स्वीकार्य नहुने भन्दै विधेयक फिर्ता लिन माग गरे ।

सभामुख कृष्णबहादुर महराले  बैठक प्रारम्भ भएको जानकारी गराएलगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले सांसद बडू र राजपाका सांसद लक्ष्मणलाल कर्णलाई बोल्नका लागि समय दिएका थिए ।