काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद लक्ष्मणलाल कर्णले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन पालना हुनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले संसदीय समितिको निर्देशन नमान्ने भनेर अभिव्यक्ति दिँदै आएका मन्त्रीलाई संकेत गर्दै उनले प्रश्न गरे, ‘मन्त्री आकाशबाट आएको होइन, मन्त्रीले बुझ्नु पर्छ, यो संसदले जन्माएको हो मन्त्री ।’
उनले संसदीय समिति पनि संसद नै भएकाले समितिले दिएको निर्देशन पालना गदिँनँ भन्नु संसदीय व्यवस्थाकै उपहास हुने प्रष्ट पारे ।
‘समितिले लोकसेवाको विज्ञापन रद्द गर्न भनिरहेको छ, अति आवश्यक छ भने करारमा भर्ना गर्न भनिरहेको छ,’ उनले भने । समितिले विकल्पसमेत दिएर निर्देशन दिएको उनको जिकिर थियो । अति आवश्यक भएको अवस्थामा करारमा कर्मचारी भर्ना गर्न समितिले बाटो खोलेको उनको भनाइ थियो ।
उनले संसदको निर्देशन नमान्ने हो भने कसको कुरा मान्ने ? भनेर प्रश्नसमेत गरे । ‘संविधान पनि नमान्ने, कानुन पनि नमान्ने, संसद पनि नमान्ने हो भने यो देश कसले चलाइरहेको छ ?’ उनले प्रश्न गरे, ‘एक जना मन्त्री र एउटा लोकसेवा आयोगले चलाउन सक्छ यो देश ?’
प्रतिक्रिया