काठमाडौं । इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा निरन्तरको वर्षाले गर्दा खेलहरु अवरुद्ध हुँदै आएपछि प्रतियोगिता नै खल्लो बन्न थालेको छ । केही खेलहरु वर्षा हुँदा ओभर घटाएर भएपनि ‘डकवर्थ लेविस’ नियमानुसार निर्णय हुँदै आएकामा अहिलेसम्म तीन खेल वर्षाले पूरा नै हुन सकेनन् ।
जसका कारण मंगलबार श्रीलंका र बंगलादेशबीच टससमेत हुन नसकेपछि खेल रद्द हुँदा एक/एक अंक बाँड्न पुगे । यसअघि, श्रीलंका र पाकिस्तान तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल पनि रद्द भएको थियो ।
कुनैपनि विश्वकपमा तीन खेल रद्द भएको यो पहिलोपटक हो । यसअघि, तीन विश्वकपमा दुई खेल वर्षाका कारण रद्द भएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले वैकल्पिक व्यवस्था गर्न सकेको छैन । सेमिफाइनल र फाइनलका लागिमात्र ‘रिजर्भ’ दिन राखिएको छ ।
रिजर्भ दिनमा पनि खेल हुन नसके लिग चरणको स्थानका आधारमा सेमिफाइनलबाट फाइनल पुग्ने व्यवस्था आइसीसीले गरेको छ । फाइनलको रिजर्भ दिनमासमेत खेल हुन नसके दुवै टिमलाई विजेता घोषणा गरिनेछ ।
प्रतिक्रिया