इस्लामावाद । पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसाको अभाव रहेको जनाएका छन् । हालै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले मुलुकको आर्थिक अवस्था नाजुक बन्दै गएको जनाएका हुन् । सम्बोधनका क्रममा उनले मुलुकको आर्थिक अवस्थालाई उकास्नका लागि नागरिकलाई कर तिर्न समेत आह्वान गरे ।
त्यसका लागि आगामी जुन ३० सम्म नागरिकलाई आफ्नो सम्पत्ति विवरणको घोषणा गर्न आग्रह गरेका छन् । यसबाट अवैध कालो धन पत्ता लाग्ने र सरकारले जफत गर्ने समेत खानको भनाइ छ । उनले कालो धनलाई सरकारले जफत गरी आर्थिक अवस्था सुधारमा खर्च गर्ने समेत बताए ।
पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६० खर्ब रुपैयाँबाट ३ सय खर्ब रुपैयाँ पुगेको भन्दै प्रधानमन्त्री खानले वार्षिक ४० खर्ब रुपैयाँ बराबरको कर उठाउने लक्ष्य रहेको र आधा पैसा ऋण तिर्न खर्च गरिने जनाए ।
पाकिस्तानीहरुले निकै कम मात्र कर तिर्ने गरेको भएपनि पाकिस्तानीहरु नै सबैभन्दा धेरै ऋणको बोझमा रहेको प्रधानमन्त्री खानको भनाइ छ । उनले पाकिस्तानीहरु तयार रहे हरेक वर्ष १ सय खर्ब रुपैयाँसम्म उठाउन सकिने जनाए ।
प्रतिक्रिया