देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिकेट रङ्गशालाको बार भत्काउने सवै आरोपीलाई रिहा

देशान्तर

काठमाडौँ । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो ।

प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, ध्रुव चापागाईं, सुरेन्द्र विकलाई रिहा गरेको हो । मुलुकी अपराधसंहितामा उल्लेख भएको व्यवस्थाअनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानमा टेकेर उनीहरुलाई रिहा गरिएको मल्लले जानकारी दिए ।

उनले उनीहरुलाई नियमित हाजिर हुने र मुद्दा चल्दाको अवस्थामा कुनै गैरकानुनी काम नगर्ने गरी छोडिएको बताए । प्रहरीको हिरासतमा रहेका चार जनाले आइतबार राति भावावेशमा घटना हुन गएको भन्दै क्षमा याचनासमेत मागेका थिए ।

प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले घटनाले देश विदेशमा रहेका सहयोगीदाताको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गर्दै अबका दिनमा रङ्गशाला निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिबद्धता गरेसँगै उनीहरुलाई प्रहरीले रिहा गरेको हो । उनीहरुलाई भरतपुर महानगर प्रमुख रेणु दाहाल, प्रदेशसभा सदस्य विजय सुवेदीको रोहवरमा छाडिएको हो ।

जेठ १५ गते भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालामा बाटोको विवादका क्रममा उनीहरुले डोजर लगाएर बार भत्काएका थिए । त्यही घटनामा पक्राउ परेका अन्य १४ जनालाई जेठ २० गते प्रहरीले हाजिरी जमानीमा छोडेको थियो ।