काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेको ६ महिना बितिसक्दा पनि स्थानीय मजदूर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय सङ्घर्ष समिति थप आक्रोशित बनेको छ ।
समितिले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय ठेकेदार र मजदूरको रकम भुक्तानी नभई आयोजनास्थलमा जो कोही नयाँ ठेकेदार काम गर्न आए जस्तालाई त्यस्तै शैलीमा जवाफ दिने र जुनसुकै अप्रिय परिणाममा स्वयं व्यक्ति वा संस्था जिम्मेवार हुनेसमेत चेतावनी दिएको छ ।
इटालियन ठेकेदार कम्पनी सिएमसीले आयोजनाको काम छाडेर गएपछि गएको फागुनमा पनि आयोजनाका मजदूर, कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका थिए । आयोजनाका कर्मचारीले दुईदेखि सात महीनासम्मको काम गरेको तलब पाएका छैनन् ।
स्थानीय आपूर्तिकर्ताले पनि झण्डै १७ करोड रुपैयाँ रकम नपाएको आयोजना पीडित स्थानीय सङ्घर्ष समितिका संयोजक उत्तरकुमार श्रेष्ठले बताए ।
आयोजनाको सुरुङलगायत संरचना निर्माणको जिम्मा लिएको सिएमसी भागेपछि कर्मचारी र आपूर्तिकर्ताले चिन्ता व्यक्त गरेका छन् ।
सिएमसीले आयोजनाको काममा लगाएका झण्डै ७०० स्थानीय मजदूरले कम्पनीसँग दुईदेखि आठ महीनासम्मको भुक्तानी लिन बाँकी रहेको बताएका छन ।
प्रतिक्रिया