देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डद्वारा आलोपालो सरकार संचालन गर्ने सहमतिको खुलासा

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अबको १५ महिनापछि अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा आफुलाई हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । २०७५ जेठ २ गते गरिएको सहमतिमा इमान्दारिता कायम नभए परिस्थितिले अर्को बाटो तय गर्ने चेतावनी पनि उनले दिएका छन् ।

दुई नेताले पार्टीका अरु दुई नेतालाई सँगै राखेर गरेको उक्त सहमतिलाई आधार मान्दा (नेकपा)मा अहिले दुई अध्यक्ष छन् । एक अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘वोइटिङ इन प्राइममिनिष्टर’ का रुपमा । नेकपा एमाले र माओवादी केन्द्र जोडेर नेकपा बनाउने समयमा दुई नेताबीच पाँच बुँदे सहमति गर्दा प्रधानमन्त्रीको कार्यकाल भने आधा आधा अर्थात् अढाई अढाई वर्ष भागबण्डा गर्ने तय भएको पनि खुलासा भएको छ ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता घोषणाको ठीक एक दिनअघि ०७४ साल जेठ २ गते ओली र दाहालबीच गरिएको सहमतिको चौथो बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको थियो । गोप्य भनिएको तर पछि सार्वजनिक उक्त सहमतिका साक्षी थिए विष्णु पौडेल र जनार्दन शर्मा । अहिले दाहाल स्वयंले पत्रकार ऋषी धमलालाई दिएको टेलिभिजन अन्तर्वार्तामार्फत् उक्त सहमति पालना हुनुपर्ने जिकीर गरेका हुन् । पार्टी एकता हुँदा नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको जिकीर गर्दै दाहालले अबको १५ महिनापछि आफूलाई सत्ता हस्तान्तरण गर्दै ओलीले सहमति पालना गर्ने विश्वास व्यक्त गरे ।

उनले पार्टी एकताका समयमा गरेको सहमतिबाट कसैले दायाँबायाँ गर्न खोजे या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने चेतावनी पनि दिएका छन् । अध्यक्ष दाहालले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री स्वीकार्ने शर्तका रुपमा भने आफुलाई आगामी महाधिवेशनबाट एकल अध्यक्ष बनाउनुपर्ने बाटो पनि खोलिदिएका छन् । उनका अनुसार ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री मान्न पार्टी अध्यक्षको जिम्मेवारी पाउनु पर्छ ।

यसवीचमा सरकारले राम्रो काम गर्यो र पार्टी सन्तुष्ट भयो भने ओलीले ५ वर्ष नै सरकार चलाउन सक्ने भन्दै उनले कतिपय सन्दर्भमा सरकारको कामकारवाहीप्रति असन्तुष्टी पनि झल्काएका छन् । अन्तर्वार्ताका क्रममा दाहालले भनेका छन, ‘हिजो हामीले एकता गर्दा जे सहमति गरेका थियौं, त्यो सहमतिप्रति हामी सबैले इमान्दार त हुनैपर्छ । म अहिले कसैप्रति आशंका गर्दिनँ । म के विश्वास गर्छु भने कामरेड केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न उहाँले नै अप्ठ्यारो मान्नुहुन्न । मैले लिन नि अप्ठ्यारो मान्दिनँ । राम्रो काम भयो र सहमति पार्टीभित्र भयो भने उहाँलाई नै पाँचै वर्ष चलाउन दिन मैले केही नै अप्ठ्यारो मान्दिनँ । उहाँले पनि पार्टी सञ्चालन तपाईले राम्रोसँग गर्नुहोस् भनेर दिन उहाँले अप्ठ्यारो मान्न हुँदैन ।’

ओलीजीले छाड्नुभएन भने रु भन्ने पत्रकार धमलाको प्रतिप्रश्नमा दाहाल भन्छन्, ‘सबैचिज सहमतिबाट हुनुपर्छ । त्यो त पार्टीले गर्ने कुरा हो । त्यस्तो कुराको म अहिले कल्पना गर्न चाहँदिनँ । मैले प्रधानमन्त्रीजीलाई दुःख–सुख, अप्ठ्यारो सबैमा रक्षा गर्न मैले मेरो ठाउँबाट बल गरिराखेकै छु । तपाईहरुले देखिराख्नुभएकै छ । त्यसकारण भोलि उहाँले छोड्नुहुन्न भन्ने म कल्पना गर्न चाहन्न ।’

विषयलाई प्रष्ट गर्दै अध्यक्ष दाहाल थप्छन्, ‘दोस्रो, म फेरि पनि के भन्न चाहन्छु भने सवाल सुशासन र जनताको विकास र समृद्धिको आकांक्षालाई सम्वोधन गर्ने कुरा हो । जनताले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भएका बेलामा सुशासनको अनुभूति गर्यो कि गरेन ? यो एउटा सवाल हो भने जनताले अबचाहिँ देशमा विकास हुने भयो, भ्रष्टाचारमुक्त समाजतिर पनि यो अगाडि बढ्यो, विकास र समृद्धितिर पनि अगाडि गयो, सरकार र पार्टीका नेताहरुको अर्को कुनै स्वार्थ छैन भन्ने कुरा जनताले बुझ्यो, चिज एक ढंगले जान्छ । जनताले होइन, भ्रष्टाचार त उस्तै छ, झन बढी बढेको पो छ, विकास पनि भन्याजस्तो गरी अगाडि आइराख्या छैन भन्ने ठान्यो भने परिस्थिति अर्को ढंगले जान्छ । कुरा बुझ्नु भो त रु पार्टीभित्र सबै कुरा छलफलले, हिजो हामीले एकता गर्दा जे सहमति भएको छ, त्यो स्पिरिटमा हामी अगाडि बढ्यौं भने चिजहरु एक ढंगले जान्छ । त्यो सहमतिभन्दा विपरीत कुराहरु गर्न थालियो भने चिजहरु अर्को ढंगले जान्छ ।’

एक प्रसंगमा दाहाल भन्छन्, ‘तर, त्योबाट दायाँबायाँ भयो भने त्यो घमण्डको अन्तिम परिणति राम्रो हुँदैन । दायाँबायाँ कोही गर्न खोज्यो भने त्यो टिक्नेवाला छैन भन्ने छ मेरो । मैले गर्न खोजें भने म टिक्दिनँ । अर्कोले गर्न खोज्यो भने अर्को पनि टिक्दैन ।’