काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेस नेता डा. रामशरण महतले सरकारको चरित्र देखिने गरी बजेट तयार पारिएको प्रतिक्रिया दिएका छन्। बजारमा आफ्नो प्रशंसा मात्रै रुचाउने चरित्र, आफ्ना कुरालाई मात्र बढाई चढाई गर्ने चरित्र र आत्मरतिमा रमाउन चरित्र सरकारमा रहेको भन्दै बजेटले पनि त्यही चरित्रलाई प्रतिबिम्बित गरेको धारणा महतले राखेका हुन्।
‘सरकारले आफ्नो बढाईचढाई मात्र गर्न चाहेको छ, जस्तो कि वित्तीय संघीयता पूर्ण रुपमा कार्यान्वयनमा आईसक्यो, विकास निर्माणका कामले गति लिएका छन्, मुद्रास्फीति घटेको छ, लगानीको वातावरण बनेको छ भनेर दाबी गरिएको कुरामा कति सत्यता छ सरकारलाई नै जानकारी होला। लोकप्रिय बन्नका लागि आफ्नो बढाई चढाई मात्रै सरकारले गरेको छ। बजेटका कार्यक्रम पनि त्यस्तै छन्,’ महतले भने। अघिल्लो वर्षका बजेटले भनेका कुरा पुरा भए कि भएनन् भनेर सरकारले कहिँ कतै स्वमुल्यांङ्कन नगरेको उनको भनाई छ। मेलम्ची, तामाकोशी, फास्ट ट्रयाकलगायत विभिन्न आयोजनाहरुमा काम हुन नसकेको भएपनि सरकारले त्यसलाई कहिँ कतै नबोलेको महत बताउँछन्।
‘व्यापार घाटा बढेको छ। मुल्यवृद्धि आकासिँदो छ। यस्ता कुरा दवाएर सरकार आत्मरतिमा रमाएको छ,’ उनले भने। महतले आगामी आर्थिक वर्षको बजेट संघिय चरित्रको नभएको पनि धारणा राखेका छन्। प्रदेश र स्थानिय सरकारलाई आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा पनि कम बजेट विनियोजन गरेको र त्यसको कार्यान्वयन पनि स्थानिय निकायले नभई केन्द्रले नै गर्न खोजेको देखिएको महतको भनाई छ। बजेटले संघीय चरित्र निभाउन नसकेका कारण सरकार संघियताको विरोधी हो वा हिमायती हो भन्ने कुरामै शंका देखिएको उनले बताए।
त्यसैगरी, सरकारमा रहेको दलले आफ्ना नेताका नाममा तथा तिनका पदका नाममा विभिन्न कार्यक्रमहरु ल्याएर लोकप्रिय बन्न खोजेको आरोप महतको छ। ‘राष्ट्रपतिका नाममा कार्यक्रम आएका छन्, प्रधानमन्त्रीका नाममा कार्यक्रम आएका, नेताका नाममा कार्यक्रम आएका छन् तर जनताका नाममा कार्यक्रम किन आएनन,’ महतले प्रश्न गरे। बजेटको आकार पनि अस्वभाविक रुपमा बढेको उनको भनाई छ। ‘अहिले सरकारले ठूलो रकममा ऋण लिएर बजेटको आकार अस्वभाविक रुपमा बढाएपनि त्यसको असर आगामी पूस्तालाई पर्छ, उनले भने। बढी ऋणकै कारण तरलता अभाव लगायतका समस्या आइलागेको उनको भनाइ थियो।
प्रतिक्रिया