देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज अर्थमन्त्री डा. युवराज खतिवडाको अन्तिम बजेट भाषण

देशान्तर

काठमाडौँ । आर्थिक वर्ष २०७६–७७ को बजेट आज अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट संविधानमा उल्लेख भएअनुसार जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा पेस गर्नेछन् ।

संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने प्रचलन छ । आज सांसदलाई अपराह्न पौने ४ बजेभित्र सभाहलमा प्रवेश गरिसक्न आग्रह गरिएको छ । खतिवडाले प्रस्तुत गर्न लागेको बजेट उनको आफ्नो कार्यकालको दोस्रो बजेट हो ।

चालू आर्थिक वर्षको बजेट पनि अर्थमन्त्री खतिवडाले नै पेश गरेका थिए । यो बजेट अर्थमन्त्रीका रुपमा खतिवडाले प्रस्तुत गर्ने सम्भवतः अन्तिम बजेट पनि हुनेछ । राष्ट्रिय सभाका सदस्य खतिवडाको सांसद रहने कार्यकाल यही वर्ष सकिँदैछ ।

नेकपा नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो । बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । बजेट लेखनको सम्पूर्ण तयारी सकिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । करीब १५ खर्ब ५० अर्ब माथि बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सीमा तोकेको छ ।

चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको सरकारले आगामी आवको बजेटलाई बढी व्यवहारिक र कार्यान्वयमुखी बनाउने लक्ष्य राखेको छ । आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढेको सरकारले बजेटमा केही नयाँ र आकर्षक कार्यक्रमसमेत राखेको बुझिएको छ ।

चालू आवका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख विनियोजन गरिएको थियो ।

सरकारले आगामी आर्थिक बर्ष २०७६ र ०७७ को बजेट प्रतिव्यक्ति आय १ हजार १ सय २० डलर बनाउने गरी ल्याउँदैछ । चालू आर्थिक बर्षको सर्वेक्षणले यो वर्ष प्रतिव्यक्ति आय १ हजार ३४ डलर रहने प्रक्षेपण गरेको छ । यस आधारमा सरकारले एक बर्षमै एक व्यक्तिको आम्दानी ८६ डलरले बढाउने महत्वकाँक्षी योजना बजेटमार्फत ल्याउँदैछ ।

योजना आयोगका सदस्य डा.रामकुमार फुयालले ६० वटा सूचकाङ्कलाई आधार मानेर बजेट ल्याउन लागेको बताए । चालू वर्ष ७ प्रतिशतको आर्थिक बृद्धिदर रहने अनुमान सरकारले गरेको छ तर आगामी बर्ष साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरलाई फोकस गरेर बजेट आउने फुयालले बताए । यसैगरी व्यक्तिको औसत आयू ७०.५ वर्ष पुर्याउने बजेटकोमा उल्लेख हुनेछ । अहिले ७०.१ वर्ष अपेक्षित आयु छ ।

यसैगरी आगामी बजेटले सडक कालोपत्रेलाई पनि व्यापकता दिँदैछ । अहिले कालोपत्रे भएको सडक ८ हजार ३ सय १६ किलोमिटर छ । यसलाई एक बर्षमा ९ हजार ६ सय ५० किलोमिटर पुर्याउने बजेटको नीति हुनेछ । यता विद्युतको पहुँच विस्तारमा पनि बजेटले जोड दिँदैछ । आगामी बर्षसम्म विद्युतको पहुँच प्राप्त परिवार ९३.५ प्रतिशत बनाउने लक्ष्य बजेटले अघि सार्दैछ ।

यस्तै निरपेक्ष गरीबीलाई एक बर्षमा १६.१ प्रतिशतमा झारिसक्ने गरी बजेटले सम्बोधन गर्नेछ । यता राष्ट्रिय परिचयपत्र प्राप्त नेपालका नेपाली नागरिक ३० प्रतिशत पुर्याउने उच्च आकांक्षी योजना बजेटले ल्याउँदैछ । अहिले यस्तो नागरिकको संख्या १० प्रतिशत छ । यस्तै आगामी वर्ष श्रम उत्पादकत्व २१५ डलर हुनेछ । अहिले १९९.८ डलर छ । बेरोजगारीलाई कम गर्न बजेटको फोकस हुनेछ । बजेटले आगामी वर्ष बेरोजगारीदर ९.६ प्रतिशतमा झार्ने गरी प्रस्तुत हुँदैछ ।

बृद्धाभत्ता हजार रुपैयाँ बढाउने, कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने आगामी आर्थिक बर्षको बजेटले बृद्धा भत्ता र कर्मचारीको तलब बृद्धि गर्ने निश्चित भइसकेको छ । हालसम्म बृद्धाभत्ता हजार रुपैयाँसम्म बढाउने तयारी छ । तर स्रोत नपुग्ने अवस्थामा भने ५ सय मात्र पनि बढ्न सक्ने योजना आयोगका एक अधिकारीले बताए । यता कर्मचारीको तलब पनि १५ देखि २५ प्रतिशतसम्म बढाउँने तयारी भएको ती अधिकारीले बताए ।

यस आधारमा पनि समाजिक सुरक्षा खर्च आगामी बर्ष १२.१ प्रतिशत हुने ती अधिकारीले बताए । अहिले सामाजिक सुरक्षा खर्च ११.७ प्रतिशत छ । सरकारका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार साँझ ४ बजे संघीय संसदको प्रतिनिधिसभामा आगामी आर्थिक बर्षको बजेट पेश गर्दैछन् । बजेट १५ खर्ब देखि साढे १५ खर्बसम्म आउने बताइएको छ ।