देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुद्ध एयरले काठमाडौँबाट कोलकत्ता सिधा उडान गर्ने

देशान्तर

काठमाडौँ । बुद्ध एयरले एटीआर विमानमार्फत सोमबारदेखि काठमाडौँबाट भारतको कोलकत्ता सिधा उडान गर्ने भएको छ । १२ वटा विमान भएको बुद्धका लागि कोलकत्ता चौथो अन्तर्राष्ट्रिय गन्तव्य हो ।

यसअघि बुद्धले भुटानको पारो, भारतको लखनउमा काठमाडौँबाट सिधा उडान गरेको थियो । आर्थिक हिसाबले फाइदा नभएपछि हाललाई यी दुवै रुटमा उडान बन्द गरिएका छन् ।

भारतको बनारसमा भने बुद्धले सातामा दुई उडान भर्दै आएको छ । २२ वर्षअघि स्थापना भएको यस एयरलाइन्सले सोमबारदेखि चौथो गन्तव्यका रूपमा कोलकत्ता उडान थाल्दै छ । यसलगत्तै पाँचौँ गन्तव्यका रूपमा पूर्वोत्तर भारतको आसाममाको राजधानी गुवाहाटीमा पनि उडान थाल्ने घोषणा गरेको छ ।

बुद्ध एयरक प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले भने, ‘गुवाहाटी उडानमा सैद्धान्तिक सहमति पाइसक्यौँ । केही समयभित्रै उडान थाल्दै छौँ ।’

बुद्ध एयरले ७० सिट क्षमताको एटीआर–७२ विमानबाट यो रुटमा सातामा तीनवटा उडान गर्ने भएको जानकारी दिइएको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कोलकत्तास्थित नेताजी सुवाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान अवधि डेढ घन्टाको हुनेछ । बुद्धले यस रुटको दुईतर्फी भाडा २२ हजार हाराहारी तय गरेको छ । ७० सिट क्षमताको एटीआरले एकतर्फी उडानमा ६५ यात्रुसम्म बोक्ने छ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भम्रण वर्ष २०२० तथा पछिल्ला वर्ष होटेल लगायत पर्यटन क्षेत्रमा निजी क्षेत्रले बढाएको लगानीलाई आधार मान्दै बुद्धले यो रुटमा उडान थालेको जनाएको छ ।

प्रवन्ध निर्देशक बस्नेतले बुद्धले कम्तीमा ६ महिना यो रुटमा उडान गर्ने जानकारी दिएका छन् । ‘अहिले नाफाघाटा हेर्दैनौँ, ६ महिनापछि हिसाब गर्ने छौँ । यदि कोलकत्ता, गुवाहाटी उडान सफल भइहाले भारतका अन्य सेक्टरमा उडान भर्नु हाम्रा लागि चुनौती हुने छैन ।’ उनले भने ।