काठमाडौं । आईटी विज्ञको परिचय बनाएका आनन्दराज खनालको अर्को परिचय पनि थपिएको छ । दुई साताअघि नेपाल टेलिभिजनको एक कार्यक्रमबाट गीति संग्रह ‘तिम्रो साथ’ विमोचन भए पछि खनाल गीतकारको रूपमा पनि परिचित भएका छन् । खनालको गीति एल्बम ‘तिम्रो साथ’का गीतहरूलाई यतिबेला श्रोताहरूले गुनगुनाउन थालेका छन् ।
खनाल तनहुँ जिल्लाको दमौलीमा जन्मेहुर्केका हुन् । विद्यालय पढ्दा उनी कहिल्यै दोस्रो भएनन् । आई एस्सीमा बोर्ड फिफ्थ भए । सानैदेखि रेडियोमा गीत सुन्दा उनी गीतबाट मोहित त हुन्थे नै सँगै रेडियो कसरी बच्छ भन्नेबारेमा घोत्लिन्थे पनि । त्यही भएर उनी पढाइले आईटी विज्ञ भए भने गीतको मधुरता मन परेकाले यतिबेला गीतकार पनि बनेका छन् ।
इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्जिनियरिङ पढेका खनाल हाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक हुन् । उनी सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नीति, कानुन, नियमन (प्रारूप निर्माण, समग्र सामाजिक आर्थिक विकासका लागि प्रविधिको प्रयोगको क्षेत्रमा राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय मञ्चहरूमा क्रियाशील छन् । उनले गीत लेख्न थालेको भने धेरै भएको छैन । करिब दुई वर्ष अघिदेखि मात्र उनको यस क्षेत्रमा प्रवेश भएको हो । प्राध्यापक डाक्टर कृष्णहरि बराल लिखित– ‘गीत कसरी लेख्ने’ पुस्तक प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीबाट किनेर पढेसँगै लेख्न हौसिएका खनालले आशिष अविरलले संगीत गरेको पहिलो गीत ‘तिमीलाई मन पराएँ’ रेकर्ड भए पछि पछाडि फर्केर हेर्नु परेको छैन ।
यस गीति संग्रहमा तिमीलाई मन पराएँ, बोल्न मन लाग्दो रैछ, सम्झनामा नआऊ तिमी जस्ता गीतहरूमा महिला तथा पुरुष दुवैको आवाजमा मनै लोभ्याउने गरी प्रस्तुत गरिएका छन् । पाँच वटा गीत रहेको सो संग्रहको बजार व्यवस्थापन विन्ध्यवासिनी म्युजिक प्रालिले गरेको छ । सिक्दै, लेख्दै गर्दा दुई सयभन्दा बढी गीत रचना गरिसकेका खनालको यो पहिलो गीति संग्रह हो । ‘तिम्रो साथ’मा संगीता राना प्रधान, सरिता मिश्र, आशिष अविरल, भरत सिटौला र बानिका प्रधानले स्वर र संगीत दिएका छन् ।
प्रतिक्रिया