सिर्जना व्यक्ति विशेषका भावाभिव्यक्त गर्ने माध्यम हो । व्यक्तिको जीवन भोगाइको प्रतिबिम्ब उसको सिर्जनामा आउने गर्छ । यद्यपि, सबैले एकनासले प्रभावकारी प्रस्तुति दिन नसक्लान् तर उसका आशा, निराशा, विद्रोह, असन्तुष्टिको अभिव्यक्ति कलात्मक र लाक्षणिक रूपमा सिर्जनामार्फत गरिरहेको हुन्छ ।
काव्य वा कविता साहित्यको प्राचीन विधा हो । छोटा पंक्तिहरूमा गहन भाव स्रप्रेषण गर्न सकिने काव्यमा कलम चलाउनेहरू निकै धेरै छन् । तथापि, काव्यका पनि लघुत्तमदेखि बृहत्तर रूपसम्म आइसकेका छन् । चतुष्पदी वा मुक्तक, रुवाइ, हाइकु, गजल, गीत, कवितालगायत खण्डकाव्य र महाकाव्यसम्म काव्यका रूप पाइन्छन् ।
चतुष्पदी वा मुक्तक काव्यको लघु रूप हो । चार पंक्तिमा विशिष्ट र गहन भाव अभिव्यक्त गरिने मुक्तक पढ्न छिटो, सुन्न प्रभावकारी र बुझ्न सहज हुने गर्छ । नेपाली स्रष्टाहरू पनि मुक्तकतिर निकै आकर्षित देखिन्छन् । स्थापितदेखि नवसर्जकसम्म मुक्तक लेखनमा जमेका पाइन्छ ।
पोखरा आफैमा साहित्य र संगीतको उर्वर भूमि हो । मुक्तकको विकास र विस्तारमा पोखराकै स्रष्टाहरूको अत्यन्त ठूलो र महत्वपूर्ण योगदान रहँदै आएको छ । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पंगेनीलगायतका अग्रज तथा ईश्वरमणि अधिकारी, दीपक समीप, रूपिन्द्र प्रभावीलगायतका स्रष्टाहरू पोखराका सुन्दर सम्पत्ति हुन् । उनीहरूलगायतको योगदानलाई पोखराले मात्र होइन, समग्र नेपाली साहित्यले सम्झिरहनेछ ।
यही मेसोमा पोखराकै माटोले हुर्काएका स्रष्टा मुक्तककृति मनको पहिरो लिएर आएका छन् । यस कृतिभित्र उनले आफूले देखेका, भोगेका र अनुभव गरेका विषयहरूलाई नै मुक्तकका विषय बनाएका छन् । समाजको बदलिँदो रूप, मानिसको स्वार्थी र अमानवीय व्यवहार, राजनीतिक विकृति र विसंगतिप्रति व्यंग्य, हराउँदो सभ्यता र संस्कृतिप्रतिको चिन्ता उनका मुक्तकका विषय हुन् ।
लोकजीवन र लोकभाकालाई मन पराउने देवु सकेसम्म आफ्ना रचनामा पनि लोकशब्द र लोकशैली नै प्रयोग गर्न रुचाउँछन् । उनका मुक्तकले उनी जन्मे हुर्केकै गाउँ र परिवेशलाई बढी बोकेका छन् ।
उनका मुक्तकले मुलुकमा व्याप्त विकृति र विसंगतिलाई तीव्र प्रहार गरेका छन् । अमानवीयता, हिंसा, द्वन्द्व, आतंकका विरुद्धमा छन् उनी ।
मानिसमा नैतिकता र इमानको हराउँदो अवस्थाबारे चिन्तित पनि छन् देवु ।
कुटिलतालाई च्यापेर इमान कहिलेसम्म बन्धक राखिरहन्छौ हजुर !
मन्दिर अगाडि उभिएर झूटलाई साँचो बनाउन देउता भाकिरहन्छौ हजुर !
अगाडि–पछाडि, भित्र–बाहिर, तल–माथि सबै देख्छ रे दैवले त भन्छन्,
सत्य ओकल्न नसकेर दमित कुण्ठाभित्र पिल्सिँदै कति ढाकिरहन्छौ हजुर !
गरिबले सदैव गरिबीमै बाँच्नुपर्ने, दुर्गममा सिटामोल नपाइने तर नेता भने आरामदायी वातानुकूलित कोठामा रमाउने प्रवृत्तिप्रतिको व्यंग्य यसरी प्रकट भएको छ ।
पानी, बत्ती र पापी पेटले पिरोलिरहन्छ जिन्दगी,
सिटामोल र जीवनजलको अभावले गिजोलिरहन्छ जिन्दगी,
सहर बिहानै ढुंगेधारामा जर्किन र बाल्टीको लाममा बसेको छ,
बाँच्न अभिसप्त छ जनता र यसरी छिचोलिरहन्छ जिन्दगी ।
वातानुकूलित कोठाको आरामदायी बिछ्यौनाले बिझाउँछ कसैलाई,
महँगो नयाँ तर धुजाधुजा पारेको एक चौथाइ ढाक्ने लुगाले गिज्याउँछ कसैलाई,
पोकापोका परेको पुरानो सिरक चारैतिर जस्ताले बेरेको महलमा भोक निदाउँछ,
हररात भोड्का र चिकेन रोस्टमा रम्दा कठै देशको चिन्ताले सताउँछ कसैलाई ।
बिना कामको मान्छेभित्रको अहम् र दम्भ अनि स्वार्थले मानिसलाई मानिस रहन नदिएको उनको बुझाइ छ । जति स्वार्थी र दम्भी बने पनि आखिर दुःख सबैलाई पर्ने कुराप्रति उनले सचेत गराएका छन् ।
कैंची चलाउँदा चलाउँदै एक दिन आफ्नै तार चुँडिन्छ मान्छेको,
अरूलाई दुःखाउँदा एक दिन आफ्नै मन कुँडिन्छ मान्छेको,
भुइँचालो कसैलाई नभनी आउँदोरहेछ जिन्दगीमा देखियो,
चुलिएर दम्भको पर्खाल धृतराष्ट्र बन्दा पाप उधिनिन्छ मान्छेको ।
नेपाली साहित्यमा यस कृतिले राम्रो स्थान लेओस्, मुक्तककार देवुको साहित्ययात्रा अझ समृद्ध र परिष्कृत बनोस्, हार्दिक शुभकामना ।
प्रतिक्रिया