देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस अभियानः नेताहरुलाई सच्चिएर आउन कार्यकर्ताको दबाब

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले जारी राष्ट्रिय जगरण अभियानमा उल्लेख्य सहभागिता रहने गरेको जनाएको छ । देशव्यापी रुपमा आयोजना गरिएको जागरण अभियानमा पार्टी कार्यकर्ताहरुले भने नेताहरुलाई प्रश्न तेर्साउन थालेका छन ।

कांग्रेसले पार्टीको संगठन सुदृढीकरण, आन्तरिक एकता र सरकारका गलत क्रियाकलापको भन्डाफोर गर्न ७७ वटै जिल्लामा जागरण अभियान चलाएको हो । २५ वैशाखदेखि सबै जिल्लामा एकसाथ सुरु भएको जागरण अभियानका क्रममा कार्यकर्ताले नेतृत्व सुध्रिए मात्रै पार्टी सुध्रिने भन्दै दबाब पनि दिइरहेका छन ।

एक महिनासम्म चल्ने जागरण अभियानमा कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ । अभियानभर छरितो भेला, सदस्यता वितरण व्यापक बनाउने, स्वदेश र विदेशका सबै तहमा बृहत्तर रूपले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कांग्रेसको योजना छ ।

संघर्षकालका ऐतिहासिक घटनास्थलहरूमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गर्ने, पार्टीका पुराना अग्रजहरूलाई घरमै पुगेर सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसी स्थिति बुझ्नुका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाब लिने काम पनि अभियानका क्रममा गरिएको नेताहरुले बताएका छन ।

सरकारका गलत कामको भन्डाफोरलाई स्थानीय तहसम्मका नेता–कार्यकर्ता पंक्तिमा पुर्याउने काम पनि भइरहेको कांग्रेसले जनाएको छ । जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले केन्द्रको निर्देशनअनुसार जिल्लामा समन्वय गर्दै अभियानका कार्यक्रमलाई व्यवस्थित बनाउदै आएका छन । अभियानमा नेविसंघ, तरुण दल, महिला संघ, दलित संघसहितका सबै भ्रातृसंस्थालाई पनि सक्रिय हुन पार्टीले निर्देशन दिएको छ ।

महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानले गरेका प्रावधानबारे पार्टी कार्यकर्ता र आमशुभचिन्तकलाई प्रस्ट पार्ने घोषणा कांग्रेसले गरेको छ । राष्ट्रव्यापी रूपमा पार्टीपंक्तिमा एकता, समन्वय, हार्दिकता बढाउँदै पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउन पार्टीपंक्तिमा जागरण अभिवृद्धि गर्ने कांग्रेसले जनाएको छ ।