नेपाली कांग्रेसले लोकतन्त्र दिवसको दिन ११ वैशाख देखि राष्ट्रिय जागरण अभियान प्रारम्भ गर्ने भनेको थियो । आदरणीय नेता रामकृष्ण ताम्राकारको दुःखद् देहावसानका कारण यो सरेर वैशाख २५ बाट सुरु हुँदैछ । यो अभियान ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस’ भन्ने नाराका साथ राष्ट्रिय जागरण अभियान संक्षेपमा ‘हिमतप’ नामबाट सम्बोधन हुँदै छ । यो दिनबाट सुरु भएको यो अभियान नेपाली कांग्रेसको ऐतिहासिक पर्व मेलमिलाप दिवस (पुस १६) का दिन समापन हुनेछ । यसको अर्थ हो यो अभियान निरन्तर आठ महिना चल्नेछ ।
राजनीतिक दलका लागि कुनै पनि कार्यक्रम त्यो आफ्नो संगठनको तल्लो तहसम्म नै पुग्छ भने त्यसले एउटा जीवन्तताको सन्देश दिन्छ नै । यसको सबैभन्दा महत्वपूर्ण पक्ष हो नेतृत्व र कार्यकर्ताबीच प्रत्यक्ष सम्पर्क र सम्बन्ध कायम हुनु । एकअर्का बीचमा संगठन परिचालन र यसबेला अवलम्बन भएका नीति र कार्यक्रममा कुनै अन्योल छन् भने यस्तो कार्यक्रमले त्यसलाई समाप्त पार्न र नयाँ उत्साह पैदा गराउँछ । तर यसको सर्त हो यसको प्रस्तुति त्यही प्रकारले हुनुपर्छ । केन्द्रबाट कुनै एकजना नेता जाने, एउटा समारोह आयोजना गरेर आफ्ना कुरा सुनाउने र फर्किने मात्रै भयो भने यसले त्यो मर्मलाई सम्बोधन गर्दैन जो यसबेला आवश्यक छ ।
वर्तमान सरकार कामभन्दा प्रचारमा बढी तल्लीन भएको आरोप लागेको छ आम तहमा नै । त्यसैकारण नै हो यो अभियानमार्फत जनतामा चेतना ल्याउनका लागि जनतासमक्ष जाने र यस क्रममा गाउँस्तरसम्म नै पुग्ने गरी बनाएको कार्यक्रमले बुझाउने कुरा त्यही हो । कांग्रेसले भन्दै आएको कुरा हो स्थानीय सरकार भ्रष्टाचारको दललदलमा फँस्दै गएको तथा प्रदेश र संघीय सरकार निरंकुश बन्दै गएको भन्दै लोकतन्त्रको रक्षाका लागि जनतामा चेतना अभिवृद्धि गर्न आवश्यक भयो । राष्ट्रिय जागरण अभियानको उद्देश्य भनेको कांग्रेको नीति, कार्यक्रमलाई पार्टीको स्थानीय तहसम्म आफ्ना कार्यकर्ता एवं आम शुभचिन्तकका बीच व्यापक ढंगले सुसूचित गर्ने, राष्ट्रव्यापी रूपमा पार्टी पंक्तिमा नवीन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्दै पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्ने, नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा व्यापक ढंगले सम्प्रेषण गर्ने, वर्तमान सरकारका भ्रष्टाचारलगायत विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आमनागरिकमा व्यापक ढंगले प्रस्ट्याउने रहेका छन् । यसैभित्र पर्छन् नेपाली समाजमा रहेका फरक मत, संविधान या राज्यप्रणालीबारे विमतिसमेतलाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न विभिन्न स्तरमा आवश्यक छलफल र बहस अघि बढाउने, जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवादमार्फत जनताका सरोकारका मुद्दामा अग्रसरता लिएर पार्टीलाई जनताको हितमा थप समर्पित गराउन, तराई–मधेसलगायत मुलुकका कतिपय भूभागमा रहेका असन्तुष्टिको समाधान सूत्र विगतमा नेपाली कांग्रेस नेतृत्वको सरकारले अघि बढाएकोे प्रस्तावका बारे आमनागरिक बीचमा प्रस्ट्याउँदै त्यसका लागि आवश्यक जनमत र वातावरण निर्माण गर्नका लागि पनि यो अभियान सञ्चालन गर्न लागिएको भन्ने बुझ्नु र बुझाउनु पर्ने कुरा हुनुपर्छ ।
जागरण अभियान जसरी तर्जुमा भयो त्यसअनुसार प्रथम चरणको अभियान २५ वैशाखमा प्रारम्भ भई ११ जेठमा सम्पन्न हुनेछ भने दोस्रो चरण २४ भदौ बीपी जयन्तीका दिन प्रारम्भ भई ७ असोज १५ दिनमा सम्पन्न हुनेछ । तेस्रो चरण ७ पुसमा प्रारम्भ भई १६ पुसमा मेलमिलाप दिवसको दिन सम्पन्न हुने जनाइएको छ । पहिलो चरणमा ७७ जिल्लामा पुगी केन्द्रीय प्रतिनिधिहरू एक महिना बस्ने र निर्धारित कार्यक्रम सम्पन्न गराउनेछन् । दोस्रो चरणमा ३३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पुग्ने र १५ दिन सम्बन्धित क्षेत्रमा बसी निर्धारित कार्यक्रम सम्पन्न गराउनेछन् । यसैगरी, तेस्रो चरणमा ७५३ स्थानीय तहमा केन्द्रीय प्रतिनिधि पुग्ने, १० दिन सम्बन्धित क्षेत्रमा बस्ने र निर्धारित कार्यक्रम सम्पन्न गराउने वातावरण बनाइएको अवस्था हो यो ।
तेस्रो चरणको कार्यक्रममा ७५३ स्थानीय तह रहेका छन यो भनेको अभियानलाई त्यो तहसम्म पुर्याउनु नै हो । यो तह यस्तो हो जहाँ कांग्रेसको करिब ३५ प्रतिशत सत्ता छ । केन्द्र र प्रदेशमा जस्तो उपस्थिति न्यून छ त्यसको विपरीत स्थानीय तह करिब हाराहारीकै उपस्थिति हो । आर्को, यही तह हो जो मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहन्छ । त्यसकारण कांग्रेसले आफनो विशेषताको प्रदर्शनी यहीबाट हुनुपर्छ जसले अरूभन्दा कांग्रेस भिन्न देखियोस् र मतको कदर त कांग्रेसले मात्रै गर्नेरहेछ भन्ने सन्देश जाओस् । के हामी त्यस्तो सन्देश दिन सक्तछौं ? यो अभियानको चुनौती भनेको यही हो । यसका लागि कस्तो गृहकार्य भएको छ भन्नेमा पनि धेरै कुरा भरपर्छ । कांग्रेसभित्र नै एकथरीले भनेका छन् केन्द्रीय तहमा छलफल नै नभै कार्यक्रम तय भयो । त्यहाँ के कुरा लाने भन्ने पहिले त केन्द्रबाट खटिएका नेताहरूलाई नै सामग्रीको प्रचुरता आवश्यक पर्छ । तयारी भएन भने र त्यस्तो अवस्थामा यो ठाउँमा नेता आए गए भन्ने पर्यो भने त्यसले पार्ने क्षति त्यति सहज रूपले पूर्ति हुन सक्तैन । निर्वाचन लगत्तैै गर्नुपर्ने काम करिब डेढ र दुई वर्ष वर्षपछि हुँदैछ । त्यस्तो बेला केन्द्रबाट पनि केही सन्देश जान आवश्यक हुन्छ । त्यसकारण त्यस्तो तयारी पर्याप्त भयो कि भएन भन्ने खोजी नीति भएको हुनुपर्छ । यसको एउटा पक्ष हो कम्तीमा गाउँसम्म जानका लागि चाहिँ समय बाँकी छ । यसको उपयोग होस् भन्ने सुझाव दिउँ ।
स्थानीय तहको आफ्नो यस्तो उपस्थिति शासन सत्ता सँग पनि जोडिएको विषय हो । कांग्रेसको सत्ता रहेको ठाउँमा अरूभन्दा भिन्न भएन भने केका लागि कांग्रेस ? भन्ने प्रश्न त उठ्छ नै । हो, यो अभियानले यसको उत्तर दिन सक्नुपर्छ । त्यो उत्तरमा अरू विषयका साथै आफ्नो संगठनका बारे पनि कुरा उठ्न सक्छन् । देश संघीय संरचनामा गइसकेको अवस्था छ । सोअनुसार कांगे्रसले स्थानीय, प्रदेश तथा संघमा आफूलाई विस्तार गरिसकेको छ भन्ने देखाउने ठाउँ छैन यो बेलासम्म । आफ्नो संगठन कमजोर भयो भने त्यसले दिने सन्देश पनि त्यस्तै हुनेछ । यो अभियान संरचना र संगठन विस्तार सँगै भएको भए कम्तीमा आफ्नैबारे यस्ता प्रश्न सोध्ने अवस्था आउने थिएन अर्थात् अभियानको उद्देश्यलाई यसले झन् तिख्खर पार्ने थियो । त्यसैकारण होला महासमिति बैठकले जागरण अभियानमा जाने निर्णय गरे पनि पुनः केन्द्रीय समितिमा पर्याप्त छलफल नभएको र एजेन्डासमेत तय नभएको भन्ने आरोप छ एउटा पक्षबाट । जागरण अभियान वास्तवमा नै आमजनतालाई जगाउने र सुसूचित बनाउने महत्वपूर्ण विषय हो । यो अभियानमा राष्ट्रिय महत्वका सवालका मुद्दाहरूको विषय जनतालाई सूचित गराउने र जनचेतना सञ्चार गर्न सक्नुपर्छ ।
यतिखेर संसद्मा वर्षे अधिवेशन सुरु भएको छ । त्यहाँ राष्ट्रिय महत्वका सवालहरू, खुला नागरिकता वितरण, भ्रष्टाचार नियन्त्रण, हत्याहिंसा, महँगीलगायतका महत्वपूर्ण विषयमा के कसरी अघि बढ्ने भन्ने आम तहमा नै बहसको विषय हो । यहाँ प्रस्तुत भएका विषय तत्कालै आम तहसम्म पुग्छन र यसले कांग्रेसप्रतिको धारणा बनाउन मद्दत पनि मिल्छ । यी विषय पनि त जागरण अभियानको एउटा अंग हो । राष्ट्रिय महत्वका विषयलाई आमजनताबीच छलफल गराउनुपर्छ भन्ने मानियो तर ती विषयलाइ कसरी तलैसम्म लिएर जाने भन्नेबारे केन्द्रबाट पर्याप्त गृहकार्य नगरिएको भन्ने आरोप लाग्नु हुँदैन थियो । तल्लै स्तरमा पुग्ने भनिएपछि पहिले आफ्नो संगठन संघीय संरचनाअनुसार विस्तार गर्न सकिएको भए यस्तो अवस्थामा प्रभावकारिता बढ्ने थियो र स्वामित्व ग्रहण पनि हुने थियो त्यो निकायबाट । संरचना नहुँदा यो अभियान पछि त्यहाँ प्रस्तुत भएका कुरालाई अझ विस्तार कसले गर्ने भन्ने प्रश्न उठ्छ नै ।
अभियान सञ्चालन भएको यो समय गम्भीर छ । यतिबेलाको देशको शासन सत्ता अनुदार बन्दै गएको देखिन्छ यसले जनतामा निराशा बढाउँछ नै । यस्तो अवस्थामा जनता कांग्रेसप्रति आशावादी बनाउन आवश्यकता नै भइसकेको छ । यही आशा जगाओस् भन्ने अपेक्षाबाट जागरण अभियान सुरु भएको हो । ७५३ स्थानीय निकायमा संरचना बनेको भए र यता प्रदेश र संघीय संरचनाअनुसार संगठन विस्तार भएको भए यसको सन्देश भिन्नै हुने थियो । तर यसका लागि समय नभएको चाहिँ होइन । केन्द्र र प्रदेशमा नभए पनि कम्तीमा स्थानीय तहमा मात्रै त्यस्तो संरचना बनाइयो भने यो अभियानका सम्बाहकहरू तिनै हुनेछन् । केन्द्रले तिनै निकायमा पत्राचार गर्नुपर्ने हुन्छ र आफ्नो तहको सम्पूर्ण काम त्यही तहले सम्पन्न गराउनेछन् । यो भनेको केन्द्रकै लागि र कार्यक्रम सञ्चालन गर्न सहज हुने अवस्था हो । कांग्रेसमा विशेष गरेर युवा निरन्तरको प्रयासबाट महासमिति बैठकले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसकारण यो अभियानको अग्रतामा त्यही समूह रह्यो भने यो झनै प्रभावी हुन्छ । त्यसै पनि जागरण अभियानलाई प्रभावकारी ढंगमा सञ्चालन गर्न सकेमा दलकोे संगठन सुदृढ हुन जान्छ । सधैंभरि सरकार वा सरकारका कामको आलोचना गरेर मात्र हुँदैन यसका लागि आफ्नो आन्तरिक संगठन नै सुदृढ बनाउनुपर्छ । यो एउटा मौका पनि हो । जनजागरण भनेको एउटा कार्यक्रम मात्र नभएर अभियान नै हो । अभियानले अपेक्षा गरेअनुसारको परिणाम नआउँदासम्म त्यसको निरन्तरता खोज्छ । अभियान भनेको अरूलाई जगाउनमात्र होइन आफू पनि जाग्ने अवसर हो । नेतृत्वले आफू जागेको भन्ने सन्देश दिएमा कार्यकर्तामा त्यसको सकारात्मक सन्देश प्रवाह हुन्छ र कार्यकर्तामार्फत आमनागरिकसम्म यो कुरा पुग्छ । नागरिकसम्म आफ्ना कुरा पुर्याउन पनि पहिले आफ्नो संंगठन चुस्त हुनुपर्यो । त्यो नयाँ खडा गरेर वा विस्तार अथवा परिमार्जन गरेर जो गर्दा हुन्छ यस्तो कामलाई अभियानको पहिलो चरण बनाउन आवश्यक छ भनिएको हो । संगठनको विस्तार त्यसकारण अभियानको सफलताको सर्तसँग जोडिन आएको हुनुपर्छ । प्रमुख प्रतिपक्षी कमजोर भएकै कारण सरकार संविधानका भावनामाथि नै बल मिच्याइँ गर्दै अघि बढ्न लागेको आरोप छ । यो अभियानअन्तर्गत कांग्रेसले त्यसको पनि जवाफ दिनुपर्छ । यतिबेला ध्यान दिनुपर्ने कुरा हो कांग्रेस जनतासमक्ष जाँदैछ । त्यसमा अलिकति चुक भयो भने त्यो लरतरोरूपले सच्चिँदैन । यसले विषय छनोट, प्रस्तुति र स्वयम् नेतृत्वकै पनि परीक्षण गर्छ । त्यसमा खरो उत्रिन आवश्यक छ ।
प्रतिक्रिया