देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आन्दोलनलाई नयाँ उचाइ दिन आफू जे गर्न पनि तयार छु: दाहाल

देशान्तर

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनलाई नयाँ उचाइ दिनका लागि आवश्यक रहेको र त्यसका लागि आफू जे गर्न पनि तयार हुने बताएका छन । दाहालले कम्युनिस्ट पार्टी र तिनका नेता–कार्यकर्ता कम्युनिस्ट आदर्शबाट बिग्रँदै गएकाले नयाँ खालको सांस्कृतिक क्रान्ति आवश्यक रहेको पनि बताए ।

उनले आफूले गरेका गल्ती सच्याउन तयार रहेको उल्लेख गर्दै श्रमजीवी वर्गको प्रतिनिधिका रूपमा पार्टीलाई नयाँ ढंगबाट वैचारिक रूपमा मजबुत बनाउन आवश्यक रहेको उल्लेख गरे । कार्लमार्कसको २०१ औं जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो स्थितिमा समीक्षा जरुरी रहेको बताए ।

अध्यक्ष दाहालले पार्टीलाई नयाँ उचाइ दिन एकता भए पनि ठूलो पार्टीभित्र पनि एक्लैजस्तो महसुस हुने वातावरण बनिरहेको बताए । ६ र ७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पुँजीवाद परास्त गर्न सक्छौं । तर हामी किन हिम्मत हार्दैछौं ? किन एक्ला भएका छौं ? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौ भन्दै अध्यक्ष दाहालले हिजो जंगलमा थियौं, जंगलमा भएजस्तो अनभूति थिएन, अहिले काठमाडौंमा लाखौं मानिसबीच हुँदाचाहिँ जंगलजस्तो एक्लो महसुस हुन थालेको बताए ।

दलाल पुँजीवाद परास्त गर्न परिस्कृत पार्टी चाहिएको उनले उल्लेख गरे । ‘हामीलाई एउटा परिस्कृत र परिमार्जित पार्टी चाहिएको छ,’ उनले भने, ‘हामीलाई क्रान्ति र प्रतिक्रान्तिको अनुभवसहितको विचार र कार्यशैली चाहिएको छ, समाजवादको यात्रामा अघि बढ्ने पार्टी चाहिएको छ, हामीले नयाँ सांस्कृतिक क्रान्तिको घोषणा गर्नुपर्छ ।’

उनले कार्लमार्क्सको सर्वहारा जीवनको उदाहारण दिँदै अहिलेका कम्युनिस्टहरूको बदलिँदो शैलीबारे टिप्पणी गरे । ‘कार्लमार्क्सले जिन्दगीभर संघर्ष गर्नुभयो, घर थिएन, गाडी थिएन जिन्दगीभर दुःख गर्नुभयो । हामीसँग अहिले घर छ, गाडी छ । कता हरायौं ? हाम्रो ऊर्जा र संकल्प कहाँ गयो ? हाम्रो गल्ती यहीनेर छ, सच्याउनुपर्छ,’ अध्यक्ष दाहालले भने ।

कम्युनिस्ट पार्टी स्थापनाकाल, त्यसपछिका संघर्षहरूमा गरेको योगदान एवं नेता कायकर्ताको उर्जालाई उदाहारण दिँदै दाहालले त्यो सबै हराउँदै गएकाले नयाँ बहस र छलफल आवश्यक रहेको बताए । अध्यक्ष दाहालले पार्टी एकताका बाँकी काम केही दिनभित्र पूरा हुने जानकारी दिए ।