देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकप्रिय संगीतकार बिजु बज्रको निधन

देशान्तर

काठमाण्डौ । संगीतकार बिजु बज्रको आइतबार हृदयाघातबाट काठमाण्डौको सिभिल हस्पिटलमा निधन भएको छ ।

बज्रलाई बिहान साढे एघार बजेतिर स्वास्थ्यमा अचानक गड्बडी भएपछि तत्काल सिभिल हस्पिटल पुर्याइएको र चिकित्सकहरुको प्रयास विफल भइपछि साढे बाह्र बजेतिर मृत घोषित गरिएको संगीतकार हरि लम्सालले जानकारी दिए ।

संगीतकार लम्सालका अनुसार संगीतकार बज्रको पार्थिव शरीरलाई सोमबार बिहान ९ बजे श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने र श्रद्धाञ्जली कार्यक्रमपश्चात भोलि नै अन्त्येष्टि गरिनेछ ।

बज्रको जन्म २०२८ सालमा गुल्मीको वामी टक्सारमा भएको थियो । उनका पिता जुठाराज र आमा लक्ष्मीदेवीको कोखबाट जन्मिएका उनी माहिलो सन्तान हुन् ।

उनले पन्ध्र सयभन्दा बढी गीतमा संगीत गरेका छन् र थुप्रै मन छुने गीत रचना गरेका छन् । २०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षण पास गरे पछि संगीत क्षेत्रमा व्यवसायिक रूपले लागेका थिए ।

सुगम पोखरेलको स्वरमा रहेको तिमी म भन्दा कोसौँ टाढा छौ, कर्णदासको स्वरमा रहेको बिस्तारै छायो आँखामा अँध्यारो आगन्तुक खरेलको स्वरमा रहेको कुन रङको कमी थियो र सानु रेशमा सुनुवारको स्वरमा रहेको मै ठुली भइछु रे लगायतका गीतहरु उनका बहुचर्चित गीत मानिन्छन् ।

उनी काठमाडौंको बबरमहलमा परिवारका साथ बस्दै आएका थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी २०४८ सालमा परिवारसहित काठमाडौं आएका हुन् ।

उनलाई गत आश्विन ६ गतेका दिनमा एक्कासी हृदयघात भएको थियो । उनलाई स्वास्थ्य उपचारका लागि देश विदेशबाट ठुलो सहयोग प्राप्त भएको । तर आइतबार भएको हृदयघातबाट भने उनी बाच्न सकेनन् ।