काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ठ स्थापना दिवस र पार्टी एकताको मञ्च नै छाडेर हिडेपछि अहिले उनि र्चामा छन । पार्टी अध्यक्षको रुपमा रहेको केपी शर्मा ओली र पुष्पकमल दाहलको मञ्चभित्र हाली मुहाली देखेपछि नेपाल बाहिरिएको उनिपक्षका नेताहरु बताउछन् ।
तर, कारण बन्यो कुर्चीको । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औं वार्षिकोत्सव कार्यक्रममा नौवटा कुर्ची मञ्चमा राखिएका थिए । सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुइटा विशिष्ट वा अध्यक्ष बस्ने कुर्ची थिए । अरू सातवटा सामान्य फलामका । अर्थात् विशिष्ट र कनिष्ठ झल्किने खालको दृश्य कुर्चीको व्यवस्थापनमा देखिन्थ्यो ।
झन्डै साढे १ बजे कार्यक्रम हलमा चार नेता अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेल एकै पटक भित्रिए । उनीहरू छिर्नेबित्तिकै हलमा हुटिङ भयो । उनीहरूले अभिवादन गरे । त्यसअघि नै वरिष्ठ नेता झलनाथ खनाललगायतका मञ्चमा पुगिसकेका थिए । केपी ओलीको दायाँ सिटमा खनाल बसिसकेका थिए ।
पार्टीको वरिष्ठता क्रममा ओली र दाहालपछि नेपाल छन् । ओलीको दायाँ सिटमा खनाल, दाहालको बायाँ सिटमा वामदेव गौतम बसेका थिए । खनालभन्दा पल्लो सिटमा बस्नुपर्ने अवस्था नेपाललाई आयो । नेपाल पार्टीको वरिष्ठता क्रम ख्याल गर्ने नेता पर्छन् ।
महासचिव विष्णु पौडेलले दुई जना अध्यक्षले मात्र सम्बोधन गर्ने भन्दै अध्यक्ष दाहाललाई मञ्चमा बोलाए । जब ओली र दाहालले मात्र मञ्च पाउने घोषणा भयो, नेता नेपाल मञ्चबाट बाहिरिए । नेपालनिकट एक नेताका अनुसार मञ्चमा दुई अध्यक्षलाई मात्र बोल्न दिने गरी कार्यक्रम डिजाइन गरिएको नेपालले हलमा पुगेपछि मात्र पत्तो पाए ।
कम्युनिस्ट पार्टीको स्थापना दिवसमा पार्टीको नेतृत्व गरिसकेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री समेत भएका व्यक्तिहरू बोल्न पाउनेमा नेपाल ढुक्क थिए । ‘झलनाथ खनालसँग कुर्सी नमिलेको भन्ने प्रचार भयो तर खास कुरा त्यो थियो । नेपालनिकट ती नेताले भने, ‘पार्टीको स्थापना दिवस र एकताको सन्देश दिने घोषणासभामा आफूलाई बाइपास गर्ने, ओली र दाहाललाई मात्र नेता मान्ने प्रवृत्ति देखियो, त्यसमा उहाँलाई चित्त बुझेन ।’
पार्टीभित्र एउटा ठूलो समूहको प्रतिनिधित्व नेपालले गर्छन् । उनी ओली र दाहाल बराबरकै हैसियत र भूमिका पार्टीभित्र रहेका छन । पार्टीभित्र पछिल्लो समय ओली र दाहालभन्दा अरू कोही नेता नभएको जस्तो भएपछि नेपाल बाहिरिएको बताइन्छ ।
नेता नेपाललाई मन नपर्ने त्यही दृश्य सोमबारको मञ्चमा पनि दोहोरियो । गत वर्ष भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको प्रचारप्रसारमा ओली र दाहालका तस्बिर मात्र व्यापक प्रयोगमा ल्याइएको थियो ।
अन्य कार्यक्रममा पनि उनीहरूका तस्बिर मात्र देखाउने शैली नेता नेपाललाई मन पर्दैन । ‘यो विषय पार्टी्भित्र पटकपटक उठ्ने गरेको पनि छ तर सच्चिएको छैन,’ सचिवालयकै एक नेताले भने, ‘नेताहरूबीच सामन्ती संस्कार झल्किन्छ, एउटै मञ्चका कुर्सीका स्तर फरक पारिन्छन्, बस्ने स्थानलाई विशिष्ट र कनिष्ठका रूपमा सजाइन्छ ।
विगतमा नेपालले असहमति राख्दै आएका दृश्यहरू नै सोमबार मञ्चमा दोहोरिन थालेपछि नेता नेपाल मञ्चबाट बाहिरिएका थिए । नेपाल साँखुमा निर्धा्रित कार्यक्रम भएकाले त्यसमा गएको भन्ने बाहिर आयो । मञ्चबाट असन्तुष्ट बनेका नेता नेपाल साँखु होइन, सोझै आफ्नो निवास कोटेश्वर गएका थिए । अध्यक्षद्वयको कार्यशैलीप्रति सचिवालयका अन्य नेताहरू पनि सन्तुष्ट छैनन् ।
आइतबार सचिवालय बैठकमा नेता नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले आपत्ति नै जनाए । जिल्ला नेतृत्वको नामावली माग्दा अध्यक्षहरूले सूची दिएनन् । त्यसप्रति उनीहरूले बैठकमा आपत्ति जनाए । नेता श्रेष्ठले ‘तपाईंहरू बेनेभोलेन्ट डिक्टेटर हो’ भन्दै बैठकमा अध्यक्षहरूको कार्यशैलीको चित्रण गरे । यसअघि श्रेष्ठले अध्यक्षहरूको कार्यशैलीमै प्रश्न उठाउँदै पार्टीको प्रवक्ताबाट राजीनामै दिने घोषणासमेत गरेका थिए । पछि नेताहरूको आग्रहमा उनले उक्त पद स्विकारेका थिए ।
पार्टीका बैठक नराख्ने र सचिवालयका नाममा तीन जना मिलेर काम गर्ने गरेको भन्दै स्थायी समितिमा रहेको नेताहरूले पटकपटक आपत्ति जनाउँदै आएका छन् । गत मंसिरमा बसेको स्थायी समिति बैठकमा नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई लगायतले पार्टीलाई व्यक्तिको खल्तीबाट चलाउन थालेको भन्दै आलोचना गरेका थिए । नेता गौतमले १६ पृष्ठ लामो आरोपपत्र पेस गरेका थिए । जिल्ला नेतृत्व चयन प्रक्रियामा पनि स्थायी समितिका नेताहरूले असन्तुष्टि जनाइरहेका छन् ।
यसरी मिल्यो भागबन्डा
नेकपाले पूर्वएमाले र पूर्वमाओवादीको जिल्ला नेतृत्वलाई नै जिम्मेवारी दिँदै जिल्लाको एकता घोषणा गरेको छ । अध्यक्ष र सचिव दुई पक्षले भागबन्डा गरेका छन् । पूर्वएमाले पक्षले ४४ जिल्लाको नेतृत्व लिएको छ । पूर्वमाओवादी पक्षले ३३ जिल्ला पाएको छ ।
एउटाले अध्यक्ष लिएको स्थानमा अर्को पक्षले सचिव पाएको छ । नेकपाको स्थापना दिवसका अवसरमा सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमबाट नेतृत्वको नाम सार्वजनिक गरिएको थियो । नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्लाको नेतृत्व चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो ।
उक्त मापदण्डमा जनप्रतिनिधिका रूपमा रहेकाहरू पनि पार्टीको अध्यक्ष र सचिव बन्न सक्ने सहमति बनाइएको थियो । यसअघि जनप्रतिनिधिका रूपमा निर्वा्चित, मन्त्री, सांसदलगायत जिल्लाको नेतृत्वमा नरहने खालको मापदण्ड बनाइएको थियो । यसमा लामो समय विवाद भएपछि जिल्लाको पुरानो नेतृत्वलाई नै निरन्तरता दिने सहमति भएको हो ।
नेकपाले जिल्ला कमिटीमा विगतमा कार्यदलले सिफारिस गरेबमोजिमको सदस्य संख्या रहने निर्णय गरेको छ । जिल्ला कमिटीमा साबिक जिल्ला कमिटीका सदस्यहरू रहने उल्लेख छ । त्यस्तै कुनै कमिटीमा सदस्य संख्या थप्न मिल्ने अवस्था भए सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षम मध्येबाट थप्नुपर्नेछ ।
जिल्ला नेतृत्वमा पूर्वएमाले पक्षमा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधरको हिसाबकिताब भएको थियो । पूर्वएमालेले पाएको ४४ वटा अध्यक्षमा २८ जना ओली र १६ जना नेपाल पक्षधर परेका छन् । सचिवमा पूर्वएमाले पक्षले पाएको ३३ स्थानमध्ये २२ जना नेपाल र ११ जना ओली पक्षका परेका छन् । अध्यक्ष र सचिवमा पूर्वएमाले पक्षले पाएको कुल ७७ पदमध्ये ३९ जना ओली पक्ष र ३८ जना नेपाल पक्षका परेका छन् ।
प्रतिक्रिया