काठमाडौँ । संसदीय निर्वाचनमा हार व्यहोरेको डेढ वर्षपछि संगठन सुदृढीकरणको लक्ष्यसहित नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान घोषणा गरेको छ । वैशाख ११ गते लोकतन्त्र दिवसको सन्दर्भ पारेर सुरु हुने कांग्रेसको ‘हिमाल पहाड तराई मधेस, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नौ महिनासम्म चल्नेछ । तीन चरणमा हुने अभियानको पहिलो चरणका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।
पहिलो चरण वैशाख ११ देखि जेठ ११ गतेसम्म एक महिना, दोस्रो चरण भदौ २४ गतेदेखि असोज ७ सम्म १५ दिन र तेस्रो चरण पुस ७ देखि पुस १६ गतेसम्म १० दिन हुनेछ । अभियानका दौरान पार्टीको महासमिति बैठकले पारित गरेका एजेन्डाहरू तल्लो तहसम्म प्रवाहित गर्ने, विगतमा पार्टीले गरेका महत्वपूर्ण कामहरूको प्रचार गर्ने, वर्तमान सरकारका अनेक भ्रष्टाचारलगायत विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे आम नागरिकमा प्रष्ट्याउने, राजनीतिक असन्तुष्टिहरूको समाधानका लागि संविधान संशोधनको पक्षमा जनमत बनाउने लगायतका उद्देश्य निर्धारण गरिएका छन् ।
अभियानकै दौरान कांग्रेसको क्रियाशील सदस्यता वितरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी कांग्रेसले गरेको छ । अभियानले पार्टीभित्र आन्तरिक एकताको सञ्चार गर्ने र पाँच लाख क्रियाशील सदस्यहरूलाई क्रियाशील बनाउने विश्वास कांग्रेसले लिएको छ । ‘यो अभियानपछि कार्यकर्ता र जनतासँग कांग्रेसको नयाँ सम्पर्क विस्तार हुनेछ ।
जनतामाझ गएर कांग्रेसले आफ्नो राजनीतिक सान्दर्भिकता पुष्टि गर्नेछ’, अभियानबारे प्रष्ट्याउँदै प्रवक्ता विश्वप्रकाश शर्माले भने । शर्माका अनुसार अभियानले पार्टीभित्रको विवाद निरूपण, आन्तरिक क्रियाशीलता वृद्धि तथा सरकारका जनविरोधी कामविरुद्ध खबरदारी गर्नेछ ।
हिमाल, पहाड, तराई, मधेस सबैतिर कांग्रेसको जागरण अभियानले लोकतन्त्रप्रेमी जनताको सरोकार सम्बोधन गर्न मद्दत गर्नेछ । हाम्रा पाँच लाख क्रियाशील सदस्यहरू सक्रिय हुनेछन् भने पार्टी सुदृढीकरणका लागि बल पुग्नेछ’, शर्माले भने ।
कांग्रेसका कार्यक्रमहरू आसन र भाषणमा मात्रै केन्द्रित हुने गरेका आरोप लाग्ने गरेका छन् । अभियानबाट कांग्रेसले केही औपचारिकता अन्त्य गर्ने तयारी गरेको छ । आसनग्रहण लागि दर्जनौं नाम बोलाउने र घण्टौं समय खर्च गर्ने परम्परा हटाउँदै यस पटकदेखि सभापति र प्रमुख अतिथिको आसनग्रहण गराउने र उपस्थित सबैलाई सामूहिक आसनग्रहण गराउने कांग्रेसले जनाएको छ ।
वक्ताहरूको सूची घटाउने र सभामा खादा÷ब्याच वितरणको खर्च पनि नगरिने कांग्रेसले जनाएको छ । देशभरका ७७ वटै जिल्लामा एउटै ब्यानर र उस्तै प्रकृतिका कार्यक्रहरू तय गरिएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले जागरण अभियान घोषणा गरे पनि पार्टीपंक्तिमा खास ऊर्जा भने सञ्चार हुन सकेको छैन । यसको मुख्य कारण भ्रातृ संस्थाहरूको भद्रगोल नै हो । मुख्य भ्रातृसंस्था नेपाल विद्यार्थी संघको केन्द्रीय समिति नै छैन भने तरुण दलमा चार जनामात्रै पदाधिकारीले काम गरिरहेका छन् । जिम्मेवारी नपाएका पदविहीन सयौं नेताहरू भए पनि बिना भूमिका जागरण अभियानमा पठाउँदा प्रभावकारी नहुने बुझाइ कांग्रेस वृत्तमा छ ।
नेपाल महिला संघमा विवादका कारण लामो समयदेखि बैठक बस्न पनि सकेको छैन । विधानअनुसार महाधिवेशन गर्न नसकेपछि स्वतः विघटन हुनुपर्ने नेपाल दलित संघमा महाधिवेशनको घोषणाले फरक तरंग सिर्जना भएको छ । जागरण अभियानका लागि क्रियाशील हुनुपर्ने अन्य भ्रातृसंस्थाहरू पनि उस्तै समस्याबाट ग्रसित छन् । यस्तो अवस्थामा कांग्रेसले घोषणा गरेको अभियान सफल हुनेमै धेरैले शंका व्यक्त गर्दै आइरहेका छन् ।
संगठनभित्रका कमजोरी नसुधारेसम्म अभियान सफल नहुने बताउँछन्, पूर्व आमन्त्रित केन्द्रीय सदस्य महेन्द्र शर्मा । ‘नेपाल विद्यार्थी संघजस्तो संस्थालाई रिक्त राखेर जागरण अभियान सफल हुँदैन । अभियानको उद्घाटन हुँदासम्म नेविसंघ कार्यसमिति नबनाउने हो भने जागरण अभियान नुनबिनाको तरकारी जस्तो हुन्छ’, शर्माले देशान्तरसँग भने ।
यसअघि सभापति शेरबहादुर देउवाले नेविसंघले छिट्टै नयाँ नेतृत्व पाउने दावी गरिसकेका छन् । नेविसंघको तदर्थ समितिमा उमेर हद लगाउने वा नलगाउने भन्ने विषय यथावत् छ । उमेर हद नलगाउने पक्षमा रहेका सभापति देउवाले राजीव ढुंगानालाई नेविसंघको नेतृत्व दिने तयारी थालेका छन् । नेविसंघको तदर्थ समिति बनाएसँगै तरुण दललाई पनि पूर्ण दिने वचन देउवाले आन्तरिक बैठकमा दिँदै आएका छन् ।
जागरण अभियानको पहिलो चरणका लागि कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । वैशाख ११ गते ७७ वटै जिल्लाबाट एकैसाथ उद्घाटन हुने जागरण अभियानको काठमाडौंमा भने सभापति देउवाले उद्घाटन गर्नेछन् । पदाधिकारीहरू अनुुकूल हुने जिल्लामा पुग्नेछन् छन् भने केन्द्रीय सदस्यसहितका नेताहरूलाई कार्यविधिसहित जिल्ला तोकेरै खटाइएको छ । उनीहरूलाई सम्बन्धित जिल्लामा एक महिना बस्नुपर्ने गरी खटाइएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय समितिले पारित गरेको विधान सच्याउन माग गर्दै आइरहेका छन् । महासमिति बैठकको म्यान्डेट विपरीत पारित भएको विधान नसच्याए विशेष महाधिवेशन बोलाउनेसम्मको चेतावनी अधिकांश जिल्ला सभापतिहरूले दिएका छन् । यस्तो अवस्थामा जागरण अभियानका दौरान जिल्लामा पु¥याइने विधान कसले बाँड्ने भन्नेमा विवाद देखिएको छ ।
आफैंले सच्याउन माग गरेको विधान बाँड्न अधिकांश सभापतिहरू तयार छैनन् । कांग्रेस केन्द्रीय कार्यालयले विधान छापिसकेको पनि छैन । ‘हामीले राखेका मागबारे सम्बोधन नभई हामीले विधान बाँड्ने कुरा आउँदैन । महासमितिको भावना विपरीतको विधान सच्याउनुको विकल्प छैन’, एक जिल्ला सभापतिले देशान्तरसँग भने । जिल्ला सभापतिहरूको मागबारे पार्टीभित्र छलफलसमेत नभएको अवस्थामा थालिएको अभियान यही कारण असफल हुने हो कि भन्ने चिन्ता पनि बढेको छ ।
प्रतिक्रिया