काठमाडौं । स्रष्टासम्मानको २५औं वर्ष पूरा गरेको अवसरमा लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले भव्य रुपले स्रष्टासम्मानको रजत वर्ष मनाउने भएको छ । रजत वर्षको अवसर पारेर साहित्य कला मन्दिरले यस वर्ष देखि ८ जना सर्जक–कलाकारहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । विगतमा फरक फरक विधाका स्रष्टाहरुलाई सम्मान गर्दै आएकोमा यो वर्षदेखि कवि गोपालप्रसाद रिमालको नाममा थप एक सम्मान–गोपालप्रसाद रिमाल काव्यसम्मान पनि सुरु गरिएको साहित्य कला मन्दिरले जनाएको छ ।
साहित्यकला मन्दिरले यस वर्ष गंगादेवी चौधरी स्मृतिसम्मानबाट आख्यानकार पद्मावती सिंह, इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मानबाट मोदनाथ प्रश्रित, सरस्वती सम्मानबाछट वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारी, नारायण गोपाल संगीत सम्मानबाट लोक, आधुनिक संगीतका प्रसिद्ध साधक गणेश रसिक, अरनिको ललितकला सम्मानबाट नेपाली चित्रकला क्षेत्रका विशिष्ट साधक किरण मानन्धर, बालकृष्ण सम रंगसम्मानबाट अभिनेत्री भुवन थापा चन्द , गोपालप्रसाद रिमाल काव्य सम्मानबाट कवि दिनेश अधिकारी र नेपाल नवप्रतिभासम्मानबाट फरक क्षमता भएकी सृष्टि केसीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
यी सम्मानहरुमध्ये गंगादेवी चौधरी स्मृति सम्मानका लागि नगद रु. १ लाख १ रुपैयाँका साथै प्रशस्ति–पत्र र अन्य प्रत्येक सम्मानका लागि रु. ५१ हजार नगदका साथै प्रशस्ति–पत्र रहेको छ । उक्त सम्मानहरू संस्थाद्वारा यही बैशाख २७ गते, शुक्रवारका दिन काठमाडौंस्थित अग्रवाल सेवा केन्द्रमा आयोजना गरिने विशिष्ट समारोहमाँझ प्रदान गरिने जनाइएको छ । साहित्यकला मन्दिर साहित्यकार एवं उद्योगी बसन्त चौधरीद्वारा आफ्ना मातापिता लूनकरणदास चौधरी र गंगादेवी चौधरीको नाममा स्थापित संस्था हो ।
प्रतिक्रिया