देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ लगानी जुटाउने उद्देश्यले जेट एयरवेजका सबै उडान बन्द

देशान्तर

भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ ।
इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो ।
जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान शुरु गर्ने आशा पनि व्यक्त गरेको छ ।
कम्पनीमाथि एक अर्ब २० करोड ऋणको बोझ छ र हप्तौंदेखि ऋणदाताको खोजीमा कम्पनी रहेको छ । कम्पनीले जारी गरेको वक्तव्यमा ऋणदाताको खोजी भइरहेको तर अपेक्षित नतिजा प्राप्त भइनसकेको जनाएको छ ।
भारत सरकारले जेट एयरवेजको योजनामा लगानीका सम्भावना पहिल्याउन राज्य सञ्चालित बैंकहरुलाई अनुरोध गरिसकेको छ । यस कम्पनीमा हाल २३ हजारले रोजगारी पाएका छन् । जेट एयरवेज २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका थिए । उनले गत महिना अध्यक्षको पदबाट राजीनामा दिएका थिए ।
कम्पनीका पाइलट, इन्जिनियर र ग्राउन्ड कर्मचारीले महिनौंदेखि तलब सुविधा पाउन सकेका छैनन् । बिमान सेवाको स्थगनसँगै टिकट लिइसकेका विश्वभर हजारौं यात्रु अलपत्र परेका छन् ।