देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्रष्टा हुने कि कार्यकर्ता ?

देशान्तर

राजनीति आफैँमा नराम्रो होइन । यद्यपि, जोजसले राजनीतिलाई व्यवसाय वा सत्तामा पुग्ने माध्यमका रूपमा मात्र लिए, यसले राजनीतिलाई अत्यन्तै फोहोरी खेलका रूपमा चित्रण गर्न बाध्य पा¥यो । आज विश्वमै राजनीतिलाई ‘डर्टी गेम’का रूपमा लिने गरिन्छ ।

राज्य सञ्चालनको उपयुक्त र प्रभावकारी नीति हुनुपर्ने हो राजनीति तर त्यसो हुन सकेन । सत्ता र शक्तिका लागि प्रतिस्पर्धा यसरी बढ्यो कि राजनीतिले छोएका र छुने कुनै कुरा वा विषय स्वच्छ हुन सकेनन् । हुँदाहुँदा राजनीतिको नशा लागेका कोही व्यक्तिसमेत इमानदार र असल हुन सकेनन् । अरू त अरू, राजनीतिक स्वतन्त्रता र अधिकारको अभियानमा समाजका हरेक पक्ष भिड्न थाले । मजदुर, शिक्षक, विद्यार्थी, महिला, दलित, जनजाति आदि आदि सबै राजनीतिको प्रत्यक्ष प्रभावमा परे । भावना र संवेदनामा रमाउने स्रष्टा पनि राजनीतिको प्रभावबाट मुक्त हुन सकेनन् । यो वा त्यो राजनीतिक दलको झन्डामुनि बसेर ‘स्वतन्त्र लेखक’ बन्न चाहनेहरू बढ्दै गए ।

राजनीति छुद्र र कठोर हुन्छ तर साहित्य, कला, संगीत कोमल, शालीन र संवेदनशील हुन्छन् । यिनको कर्म र स्वभाव कतै मिल्दैन तर हामी स्रष्टा यी विपरीत जस्ता पक्षलाई समायोजन गर्न खोज्छौं, जुन अत्यन्त अस्वाभाविक लाग्छ ।

हामीकहाँ पनि राजनीतिको प्रत्यक्ष प्रभाव साहित्य, कला र संगीतमा देखिन्छ । स्रष्टाहरूमा राजनीतिक विभाजन स्पष्ट देखिन्छ । विशेषगरी वाम, जो आफूलाई ‘प्रगतिशील’ दाबी गर्छन् र लोकतान्त्रिक वा प्रजातन्त्रवादी खेमामा नेपाली स्रष्टा विभक्त देखिन्छन् । उनीहरू दुई फरक राजनीतिक विचारधारालाई अनुसरण गर्छन् । लगभग सँगसँगैदेखि सुरु भएका यी दुई खेमाका प्रतिनिधि संस्था छन्, प्रगतिशील लेखक संघ र नेपाली लेखक संघ ।

प्रगतिशील लेखक संघमा वामपन्थी विचारधारामा विश्वास गर्ने स्रष्टाहरू गोलबद्ध छन् भने नेपाली लेखक संघमा विशेषगरी नेपाली कांग्रेससँग नजिक स्रष्टाहरू छन् । यद्यपि, यी संगठनभित्र पनि अनेक उपगुट छन्, जसका कारण यी पनि यिनका माउ पार्टी जस्तै अनेक टुक्रामा विभक्त भइरहन्छन् ।

समग्र कम्युनिस्ट विचारधारामा विश्वास गर्ने स्रष्टाहरूको साझा संगठन भनेर चिनिएको प्रगतिशील लेखक संघ (प्रलेस) भर्खरै विभाजनमा गएको छ । उग्रवामपन्थी विचार र नरमपन्थीहरूको मतभेदजस्तो देखिने गरी तीन दर्जन बढी यसका पदाधिकारी र सदस्यले प्रलेसबाट अलग भएको घोषणा गरेका छन् । एकातिर यसको वार्षिक सम्मेलन हुँदै गर्नु र अर्कातिर केही जिम्मेवार व्यक्तिहरू संस्थाबाट बाहिरिँदै गर्नुले सात दशकदेखिको प्रगतिशील लेखनलाई स्वाभाविक रूपमै निरुत्साहित गरिरहेको छ । एउटै र उस्तै विचारधारा भएकाहरूमा पनि एकमत हुन किन सक्दैन ? भन्ने प्रश्न पनि सँगसँगै उब्जाएको छ यसले ।

पछिल्लो समय नेपाली कम्युनिस्ट आन्दोलनमा आएको विचलन (विचलन किनभने अब नेपाली कम्युनिस्ट नामधारीहरू कम्युनिस्टका आदर्शमा रहेनन्, सत्ता प्राप्ति नै उनीहरूको मुख्य अभीष्ट रह्यो) का कारण फरकफरक कम्युनिस्ट नाम गरेका राजनीतिक दलहरू विभक्त हुन थाले । यससँगै ती ती दलमा आस्थावान्हरूमा पनि विभाजन हुनु अस्वाभाविक होइन ।

तर मूल प्रश्न के हो भने स्रष्टा, कलाकार राजनीतिक रङले देखिनु उचित हो ? कुनै विशेष परिस्थितिमा राजनीतिक अभियान र आन्दोलनमा समाजका सबै पक्ष सक्रिय हुनु अन्यथा होइन । यो विश्व राजनीतिक इतिहासमा पनि भइरहेको कुरा हो । नेपालमा पनि विगतमा भएकै हो । तर सधैं राजनीतिक दलका झन्डा बोकेर दलकै नीति र निर्देशनअनुसार चल्नु स्रष्टाका लागि दुर्भाग्य बन्छ, बनिरहन्छ ।

आखिर राजनीतिक दलका मुखपत्र जस्ता सिर्जना गरेर, राजनीतिक नारालाई साहित्यका नाममा चर्चा गरेर असल साहित्यकार हुन सकिन्न भन्ने बोध नगरेर नेताभक्ति र दलभक्तिका खातिर साहित्यकार भइटोपलेका केही व्यक्तिहरूका कारण पनि यस्ता अनेक नामका संगठन जन्मिन्छन्, विघटन हुन्छन्, फुट्छन् अनि फेरि जुट्छन् र फेरि फुट्छन् । यही नियति अहिले प्रगतिशील लेखक संघमा देखिएको छ ।

अर्को प्रजातान्त्रिक खेमाका स्रष्टाको संगठन भनिएको नेपाली लेखक संघमा पनि उस्तै अवस्था देखिँदै छ । अब वैशाखमा हुनुपर्ने महाधिवेशनको तयारी आजसम्म हुन सकेको छैन । अध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत केही व्यक्तिको पकेटमा रहेको जस्तो गरेर लेखक संघ चलिरहेको छ । संस्थाका विगतका गतिविधिको जानकारी न संस्थामा गराइएको छ, न कुनै औपचारिक निर्णयबाट नै संस्थाका कामकारबाही अगाडि बढाइएको छ । न त यसबीचमा भए गरिएका कामको आर्थिक हिसाबकिताब नै पारदर्शी रूपमा सार्वजनिक गरेर समितिबाट निर्णय गराएर पारित नै गराइएको छ । यसले नेपाली लेखक संघमा पनि ठूलै पहिरो जान सक्ने संकेत गरेको छ ।

यस्ता संस्थालाई पार्टी नेतृत्वको आशीर्वाद, पार्टी नेतृत्वकै खबरदारी र संरक्षण रहनुले पनि यस्ता संस्था खास स्रष्टाका नभएर कुनै अमुक राजनीतिक दलका नेताका कार्यकर्ता व्यवस्थित गर्ने संस्थाका रूपमा रूपान्तरित हुँदै गएका पाइन्छ । यसले स्रष्टालाई स्रष्टा नभएर दलका कार्यकर्ताका रूपमा मात्र प्रस्तुत गरेको छ । तर स्रष्टा स्रष्टाकै रूपमा रहनसके, भाषा, साहित्यको संवद्र्धनमा सबै स्रष्टा एकै भएर लाग्न सके, कुनै राजनीतिक दलका स्वार्थका खातिर नभएर देश, भाषा, साहित्य र संस्कृति र कलाको संरक्षण र संवद्र्धनका खातिर एकजुट भएर लाग्न सके समग्रमा सबैको हित हुने थियो ।