आधुनिक नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास, असंख्य ज्ञात–अज्ञात सपूतहरूका अवर्णनीय बलिदानी संघर्षगाथाबाट निर्माण भएको छ । तर इतिहासमा तिनको नाम कतै उल्लेख भएको पाइदैन, किनभने आजसम्मको इतिहास भनेकै विजेताको मात्र वर्णनानमा सीमित हुन पुगेको छ ।
हिमाल, पहाड र मधेसका गाउँ र बस्तीका जनताका बीचमा बसेर युगान्तकारी परिवर्तनका लागि चाहिने वातावरण निर्माण गर्न निरन्तरको संघर्षमा जुटिरहने वास्तविक योद्धाहरूका इतिहास, त्यसैले लेखिएकै छैन । उनीहरूका क्रान्ति कथा अझै पनि भुइँफुट्टा तत्वको कोलाहलभित्र दबिएको दबियै छ । उनीहरूको निस्वार्थ बलिदानको खोज, अनुसन्धान र मूल्यांकन हुन बाँकी नै छ ।
त्यस्तो खोज र अनुसन्धानका अभावमा प्रजातन्त्र पुनस्र्थापनाका आन्दोलनमा अतुलनीय योगदान गरे पनि अझै पनि ओझेलमा परेका क्रान्तिकारी नेता हुन्– लीलाबहादुर पण्डित ।
भक्तपुरको प्रसिद्ध पर्यटकीय स्थल, नगरकोट र नालाको बीचमा अवस्थित सुडालको जितपुरफेदीमा विसं. १९९० सालमा लीलाबहादुर पण्डितको जन्म भएको थियो । उनका पिताको नाम शमशेरबहादुर थियो र आमा थिइन्– पद्मकुमारी । सामान्य किसान परिवारमा जन्मेकाले उनले विद्यालयको मुख देख्न पाएनन् तर साक्षरताको पाठ भने घरैमा पाएका थिए ।
उनले १७ वर्षको उमेरमा सेनामा जागिर खाएका थिए । तर ६ वर्षपछि उनले आफ्नो मात्र उन्नति र प्रगति गर्नुभन्दा समाजकै विकास र प्रगति भयो भने त्यसमा आफ्नो पनि स्वतः उन्नति हुने ठानेर किसान आन्दोलनमा होमिन जागिर छाडेका थिए । काँठमा तिनताका राजनीतिक दलभन्दा किसान संघ बढी क्रियाशील थियो । उनको राजनीतिक जीवनको प्रारम्भ त्यसैले किसान संघबाटै भएको थियो– २०११ सालमा ।
उपत्यकाभित्र त्यसबेलासम्म किसान आन्दोलन विकसित भइसकेको थियो । तिनताका बिर्ता, रैकर र गुठी गरी तीन प्रकारका जग्गा थिए । गुठी पनि दुई प्रकारका थिए– सरकारी र निजी । त्यसमा पनि अनेक प्रकारका तिरोतिरान थिए । कहीँ जिन्सी तिर्नुपर्ने र कहीँ आधा नगद र आधा जिन्सी तिर्नुपर्ने व्यवस्था थियो । जिन्सीमा पनि सरुवा चामल र धान तिर्नु पथ्र्यो । सबै प्रकारका जग्गा कमाउनेलाई मोही भन्ने चलन थियो तर व्यक्तिका बिर्ता र रैकर कमाउने मोहीभन्दा गुठीका जग्गा कमाउने मोहीको हक बढी सुरक्षित ठानिन्थ्यो ।
नत्र उनीहरू तलसिङबाट अत्यन्त असुरक्षित थिए । सुक्खा, अतिवर्ष, बाढीपहिरो अथवा प्राकृतिक प्रकोपबाट उत्पादन हुन नसके पनि मोहीहरू बाली बुझाउन बाध्य हुन्थे । बाली बाँकी राख्यो कि तलसिङले मोहीबाट जग्गा खोसेर अर्कोलाई कमाउन दिन्थे । त्यस प्रकारको मोहीमाथिको जग्गाधनीको अत्याचार, राणा शासनको अन्त्यपछि पनि कायम रहेको लीलाबहादुर पण्डितलाई चित्त बुझिरहेको थिएन ।
त्यसैबेला त्यस्तो शोषण र अत्याचारका विरुद्ध उपत्यकामा अत्यन्त सक्रिय रहेको नेपाल किसान संघका स्थानीय किसान नेता शेरबहादुर पाँडेको प्रेरणा र प्रोत्साहनबाट उनी पनि त्यो संघको सदस्यता ग्रहण गरेर किसान संघर्षमा उत्रेका थिए । जग्गा जोत्ने वास्तविक किसानलाई मोहियानी हक दिलाउने, तिरो पनि आँठासरह मात्र बुझाउने र बाली बुझाएपछि तलसिङले भर्पाई दिनैपर्ने अभियानले किसान आन्दोलन लोकप्रिय बनिरहेको थियो ।
त्यसैबीच २०१६ सालमा नेपाली कांग्रेसको सरकारले बिर्ता उन्मूलन गरेर जग्गा जोत्ने किसानलाई मोहियानी हक कायम गराउने निर्णय गर्यो । दुर्भाग्यवश किसान संघले त्यसको समर्थन गरेन । सरकारको त्यो निर्णयको समर्थन र विरोधका पक्षमा नेपाल किसान संघ विभाजित भयो र शुद्धीकरण किसान संघको जन्म भयो । कांग्रेस समर्थक त्यही शुद्धीकरण किसान संघका माध्यमबाट उनले बहुसंख्यक किसानको हक, हित र अधिकारका निम्ति मात्र होइन, कृषिको आधुनिकीकरण गरेर उत्पादन बढाउने काममा पनि समर्पित हुने उद्देश्यले नेपाली कांग्रेसमा प्रवेश गरे र पार्टीको संगठन विस्तारमा लाग्न थाले । जग्गा जसले जोत्छ, त्यसमाथि उसैको हक हुन्छ, अर्थात् जसको जोत, उसको पोत भन्ने नारालाई साकार तुल्याउन उनी कटिबद्ध भएर लागे ।
अत्यन्त सरल, शान्त र आफ्नो कामका प्रति लगनशील लीलाबहादुर पण्डित तत्कालीन काँठको पिछडापन र गरिबीको कारण अशिक्षा र चेतनाको अभाव हो भन्ने मान्यता राख्थे । त्यसकारण पनि काँठलाई जगाउन किसानमा जागृतिको चेतना फिँजाउन शुद्धीकरण किसान संघको योजना र कार्यक्रम लागू गराउन दत्तचित्त भएर लागेका थिए । ठीक त्यसबेला अर्थात् २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेर पहिलो निर्वाचित संसद् र सरकार भंग गरेको, प्रधानमन्त्री बीपी कोइराला, सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्रीहरू, सांसद तथा नेताहरूलाई पक्राउ गरेको र सारा देशलाई नै जेलमा परिणत गरेको घटनाले उनलाई विक्षुब्ध तुल्यायो ।
गरिब किसानलाई जग्गाधनी बनाउने सपना साकार तुल्याउन उनले जुन परिश्रम गरेका थिए, त्यो भताभुंग भएको थियो । देश फेरि एक पटक राणाकालतिर फर्केको थियो । राजाको त्यस्तो प्रतिगामी कदमको कांग्रेसले सशक्त विरोध गर्यो । राजाको निरंकुश कदमको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले भारतको पटनामा भएको सम्मेलनको निर्णयअनुसार सशस्त्र संघर्षको आह्वान गर्यो । त्यसका लागि लीलाबहादुर पण्डितजस्ता सैनिक तालिम प्राप्त लडाकुको खाँचो थियो ।
उनी त्यसमा सहर्ष सामेल भए । पूर्व सैनिकका नाताले सशस्त्र संघर्षका विभिन्न मोर्चामा उनले ठूलो योगदान पुर्याएका थिए । नरकटियागन्जको शिविरमा रहँदा उनले नवलपरासी, पाल्पा र चितवनका विभिन्न कारबाहीमा भाग लिएका थिए भने दरभंगा शिविरबाट सर्लाही, मकवानपुर, सिन्धुली र तराईका अनेक घटनामा संलग्न भएका थिए । त्यही क्रममा सेनाले २०१९ सालमा उनलाई उपत्यकामा रेकी गर्न काठमाडौं पठाएको बेला पक्राउ गरेर अ.त.को अर्थात् अर्राष्ट्रिय तत्वको अभियोगका साथै विभिन्न जिल्लाका घटनामा चलिरहेका मुद्दामा मुछेर जन्मकैदको सजाय गरेको थियो ।
१६ वर्ष जेलमा बिताएपछि २०३४ सालको आममाफीमा उनलाई रिहा गरिएको हो । जेलको लामो यातनामय जीवनमा उनले कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, श्रीभद्र शर्मा, ऋषिकेश शाह, बोधप्रसाद उपाध्याय, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, रामहरि जोशी, जगन्नाथ आचार्य, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, केपी शर्मा ओलीजस्ता नेताहरूसँग प्रजातन्त्रको पुनस्र्थापना र राष्ट्रको पुनर्निर्माणका बारेमा विचार विनिमय गर्ने अपूर्व अवसर प्राप्त गरेका थिए । नयाँ पुस्ताका युवाहरूलाई जेलभित्र सम्भव सहयोग प्रदान गरेर उनीहरूभित्रको न्यास्रोपन हटाउन उनी हमेशा तत्पर रहन्थे । उनलाई नया पुस्ताका नेताहरूले श्रद्धा र आदर गरेको एक कारण त्यो पनि थियो ।
जेलबाट रिहा भएपछि राजनीतिक अभियोग लागेका तथा प्रजातन्त्र पुनस्र्थापनाको संघर्षका क्रममा जागिर खोसिएका सैनिकहरूलाई आममाफी पाएकाले सेवाअवधि मिलान गरेर जीवन निर्वाहका निम्ति पेन्सनको व्यवस्था गरिदिने प्रस्ताव पनि भएको थियो । तर उनको स्वाभिमानले सेवा नगरेको अवधि जोडेर प्रदान गर्ने पेन्सन कबुल गर्न सकेन । उनले देशबाट लिने होइन, देश र जनताका लागि आफूले सक्दो दिने हो भन्ने उच्च भावनाबाट प्रेरित भएर शेष जीवन त्यसैमा समर्पित गरे ।
प्रजातन्त्रको पुनस्र्थापनाको आन्दोलनमा उनको त्यस्तो त्याग र बलिदानको सम्मान गरेर तिनताकाको प्रतिबन्धित नेपाली कांग्रेसले २०३५ सालमा उनलाई भक्तपुरको जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनीत गरेको थियो । उनले त्यो पदमा रहेर २०५४ सालसम्म प्रजातन्त्र पुनस्र्थापना र त्यसपछि त्यसको संस्थागत विकासका क्रममा त्यसबेलाका सबै प्रकारका संघर्षका कार्यक्रममा निरन्तर क्रियाशील रहेका थिए । उनको विसं २०७४ साल फागुन द्वादशीमा निधन भएको थियो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादमाथि गहिरो आस्था राख्ने पण्डित, प्रजातान्त्रिक समाजवाद नै भविष्यको नेपालको विकास र उन्नतिको आधार हो भन्नेमा पनि उत्तिकै विश्वस्त थिए ।
प्रतिक्रिया