काठमाडौँ । समूह चरणको अन्तिम खेलमा इरानमाथि ३—० को जित हात पारेको नेपाल हिरो महिला गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
फाइनलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा म्यानमारसँग नेपालले ३—० को हार व्यहोरेको थियो । फाइनलमा समूह चरणको हारको बदला लिँदै नेपाल उपाधि उचाल्ने दाउमा रहेको छ ।
लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २–० ले हराएसँगै प्रतियोगिताको फाइनलमा म्यानमार र नेपाल पुगेका हुन् ।
अन्तिम खेलमा म्यानमारसँग घरेलु टोली भारत पराजित भएपछि नेपाल समूह चरणमा दोस्रो हुँदै फाइनल प्रवेश गरेको हो । म्यानमारका लागि दोस्रो मिनेटमा ज्योली किवाले गोल गर्दै अग्रता दिलएकी थिइन । ८१औँ मिनेटमा भारतले बराबरी गोल गरे पनि रेफ्रीले अफ साइड करार गरेका थिए । ९४औँ मिनेटमा म्यानमारले पेनाल्टीमार्फत गोल गर्दै २(० को जित हात पार्न सफल भयो ।
चार टिम सहभागी प्रतियोगितामा इरानले तीनवटै खेल हारेर प्रतियोगिताबाट बाहिरियो भने म्यानमार तीनवटै खेल जित्दै ९ अंकसहित फाइनलमा स्थान बनायो । नेपालले तीन खेलमा दुई खेल जित्दै फाइनलमा पुग्न सफल भयो । आयोजक भारत भने म्यानमारसँगको फराकिलो जित हात पारेको भए मात्रै फाइनलमा पुग्ने थियो ।
हिजो भएको समूह चरणको अन्तिम खेलमा फिफा वरीयतामा आफूभन्दा ४६औँ स्थानमाथि रहेको इरानमाथि नेपालले ३–० को शानदार जित हात पार्यो । फिफा वरीयतामा इरान ६०औँ स्थानमा छ भने नेपाल १०६औँ स्थानमा रहेको छ ।
निकै शक्तिशाली मानिएको इरानी टोलीमाथि नेपाली महिला टोली हाबी भयो । खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि पहिलो गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् ।
भारतविरुद्ध पनि दुई गोल गरेकी सावित्राले इरानसँग पनि खेलको ८९औँ मिनेटमा नेपालका लागि तेस्रो गोल गरिन् । प्रतियोगिताको फाइनल खेल आउँदो शुक्रबार उडिसाको कांलिगा रंगशालमा हुनेछ ।
प्रतिक्रिया