घनेन्द्र ओझा
लामो समयको सरकारी सेवामा रहेर उच्च प्रशासक मुख्य सचिवबाट निवृत्त भोजराज घिमिरेका गजल, कविता र गीतका कृति र एल्बम यसअघि नै प्रकाशित छन् । अहिले घिमिरेको छन्द–बहरबद्ध गजलकृति ‘निर्बन्ध आकाश’ प्रकाशन भएको छ । त्यसो त कथा र उपन्यासलेखनमा पनि घिमिरेको रुचि देखिन्छ ।
प्रस्तुत पुस्तक ‘निर्बन्ध आकाश’ सम्पूर्ण रुपमा छन्द/बहरमा केन्द्रित गजलकृति हो । यसमा गजलकार घिमिरेले सबै गजलहरु छन्द/बहरमा रचना गर्नुभएको छ । छ दशक उमेर पार गरेका स्रष्टा, त्यसमा पनि औपचारिक अध्ययनको विषय साहित्यभन्दा नितान्त भिन्न, विज्ञान र अर्थशास्त्र भएका, ले साहित्यको जटिल विधा गजल, त्यसमा पनि शास्त्रीय छन्द र बहरमा रचना गर्नु निकै चुनौतीपूर्ण कार्य हो । यद्यपि, निरन्तरको साधना, अध्ययन र मिहिनेतले कुनै काम गाह्रा र अप्ठेरा हुँदैनन् भन्ने कुराको पुष्टि गजलकार घिमिरेले गरिदिनुभएको छ– यस कृतिमार्फत् ।
नेपाली गजलमा बहरको प्रयोग नौलो नभए पनि निकै लामो समयसम्म बहरको प्रयोग नभएकाले बहरको पुनर्जागरण अहिले भएको हुँदा बहरबारे धेरैमा जिज्ञासा हुनु स्वाभाविक हुन्छ । बहरबद्ध कृतिहरुको प्रकाशन र गजलको शास्त्रीयताबारे पुस्तक प्रकाशनको क्रम तीब्र भइरहे पनि सबैतिर, सबैका पहुँचमा पुगिरहेको अवस्था एकातिर छैन भने गजलमा सीमित बहर र छन्दको मात्र प्रयोग भइरहेको अवस्था छ । यसर्थ विभिन्न छन्द र बहरको प्रयोगलाई व्यापकता दिँदै छन्द/बहरमा गजललेखनलाई बढावा दिनु आवश्यक देखिन्छ । यसै कारण पनि यस पुस्तकलाई अत्यन्तै धेरै मिहिनेत गरिएको छ । यो पुस्तक पढेर नवसर्जकले गजलका बारेमा केही नयाँ कुरा प्राप्त गरुन् भन्ने उद्देश्य रहेको पाइन्छ । तर परिष्कारको कार्य भनेको कहिल्यै नसकिने काम हो । जति पटक गरे पनि पुनः परिष्कार गर्ने ठाउँ भेटिन्छ ।
यस पुस्तकमा छन्द÷बहरका गजल मात्र समावेश गरिएको छ । दुईवटा मात्रिक छन्द रोला र पादाकुलक रहेका छन् । यसरी नै दुईवटा उर्वशी र आह स्रष्टाले निर्माण गरेका नवछन्द हुन् । तर स्रष्टा निर्मित अन्य एक दर्जन छन्दमा लेखिएका गजल पनि पुस्तकको अन्त्यमा राखिएका छन् तर तिनको नाम भने दिइएको छैन, सूत्र मात्र उल्लेख छ । बहरमा पनि मूल बहर, मिश्रित बहर र परिवर्तित बहर, तीनै प्रकारका बहरको प्रयोग भएको देखिन्छ । ३४ वटा गजल शास्त्रीय छन्दमा रचना गरिएका छन् ।
यो पुस्तक छन्द/बहरमा मात्र रचना गरिएकाले आफैँमा एउटा महत्त्वपूर्ण प्रयोग र उपलब्धि त बनेकै छ, यसभित्र अर्को रोचक पक्ष अत्यन्तै छोटा पाँच अक्षरका छन्द सम्मोहा, हारी, पंक्तिदेखि २६ अक्षरको भुजङ्गविजिम्भृतसम्मको प्रयोग गरिएको छ ।
भाव र विषयका हिसाबले यस पुस्तकमा सामाजिक, राजनीतिक, मानवीय र वैश्विक जीवनका अनेक विषय प्रस्तुत गरिएको छ । वर्तमान समाजका विकृति र विसंगति, मानवीयताको सङ्कट, प्रकृतिप्रतिको मानवीय असंवेदना, राजनीतिक असहिष्णुता र बढ्दो भ्रष्टाचार, अनियमितता, जनउत्तरदायित्वविमुख नेतृत्वको चरित्र, मानवीय प्रेम, प्रीति–प्रणय जस्ता विविध विषयभाव यस कृतिभित्रका गजलमा प्रस्तुत छन् ।
शिल्पका हिसाबले सबै गजल उच्चकोटिका अवश्य छैनन् तर गजलका आधारभूत मर्म र मान्यताबाट कुनै पनि गजल विमुख छैनन् । यति कुरा प्रष्टसँग भन्न सकिन्छ । बहर/छन्दका साँचामा सीमित शब्दको प्रयोग गरेर रचना गर्नुपर्ने बाध्यता पनि हुन्छ छन्द/बहरमा रचना गर्दा । त्यसमाथि निकै छोटादेखि निकै लामा अक्षरका बहर/छन्दमा रचना गर्दा सबै गजल रचना शिल्पमा पूर्ण हुन्छन् भन्ने कुरा आँकलन गर्नु पनि सही नहोला । तर यस कृतिका गजल पढिरहँदा ८ अक्षरमाथिका १६ अक्षरसम्मका बहर/छन्दमा लेखिएका गजल बढी शिल्पयुक्त देखिन्छन् भने १७, १८, १९ अक्षरमा लेखिएका शिखरिणी, मन्दाक्रान्ता, शार्दूलविबक्रीडित जस्ता छन्दमा लेखिएका गजल पनि निकै सुन्दर लाग्छन् ।
यस पुस्तकभित्र सङ्कलित गजलहरुले नेपाली गजलसाहित्यमा छन्द र बहरको प्रयोगबारेका बहसलाई अझ तीब्र बनाउने त छन् नै, सँगसँगै नेपाली गजलमा बढ्दो लयविहीनतालाई समेत सुधार गर्न पक्कै मद्दत गर्नेछन् ।
प्रतिक्रिया