देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोनोलाई न्यातपोलको स्वागतः माथवरसिंह बस्नेत

देशान्तर

जापानका परराष्ट्रमन्त्री तारो कोनो, नेपालको दुई दिनको भ्रमणका लागि पर्सि काठमाडौं आउने खबरसँगै उनको न्यानो स्वागतका अतिरिक्त यसपालिको जापानको उपहार के होला भन्ने अनुमानले नेपालीहरू रोमाञ्चित हुन थालेका छन् । विशेषगरी भक्तपुरमा त्यस्तो उपहारको चर्चा किन हुन पुगेको हो भने काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्मको ६ लेन चौडा सडक पहिलो पटक जापानले उपहारमा निर्माण गरिदिएको थियो ।

नेपाल र जापानका बीचमा कूटनीतिक सम्वन्ध स्थापना भएको ५० वर्ष पूरा भएको स्वर्णजयन्तीका अवसरमा जापानले नेपाललाई प्रदान गरेका अनेक उपहारमध्ये यातायातका क्षेत्रमा त्यो सडक परेको थियो । यद्यपि जापानले जुन वर्ष त्यो उपहार प्रदान गर्न नेपाल सरकारसँग योजनाको प्रस्ताव आह्वान गरेको थियो, नेपालबाट प्रस्तावको विधिसम्मत तरिकाले छनोट गरेर जापान पु¥याउँदासम्म त्यो वर्षको बजेट निर्माणको अवधि सकिन पुगेको थियो । उनीहरूले चारवटा योजना उपहार दिने प्रस्ताव गरेका थिए, यताबाट तोकिएको समयभित्र तीनवटाको मात्र प्रस्ताव पुगेकाले एउटाको म्याद गुज्रिन पुग्यो । त्यसरी म्याद गुज्रिन पुगेको परियोजना, त्यही कोटेश्वर सूर्यविनायक सडक थियो ।

विलम्बको एउटा मुख्य कारण थियो– परियोजना छनोटको सकस । जापानले नेपाललाई प्रदान गर्दै आएका नियमित परियोजनाका अतिरिक्त स्वर्णजयन्तीका अवसरमा प्रदान गर्ने चार विशेष परियोजना छनोटको नेपाललाई जुन सुविधा प्रदान गरेको थियो, त्यसमा स्वास्थ्य, शिक्षा तथा पर्यटनअन्तर्गतका विकासका पूर्वाधार निर्माणका क्षेत्रमा प्रदान गर्ने परियोजनाका प्रस्ताव, समयमै छनोट भएर जापान पुगे पनि सडकको छनोट भने विभिन्न कारणले विलम्ब हुन पुगेको थियो । त्यसैले बजेट छुट्ट्याउने अन्तिम समयसम्म नेपाल सरकारको प्रस्ताव पुग्न सकेन । प्रस्ताव जुन बेला पुग्यो, त्यस बेलासम्म धेरै ढिला भइसकेको थियो, बजेट छुट्ट्याउने काम सम्पन्न भइसकेको थियो ।

सडकसम्बन्धी परियोजनाको छनोट गर्ने काम भौतिक योजना तथा यातायात मन्त्रलयले गर्नुपर्ने थियो । स्वाभाविक हो, उसले सडक विभागसित त्यस्तो प्रस्ताव माग्यो । सडक विभागले मुग्लिनदेखि नारायणगढ सडकखण्डको स्तरोन्नति तथा चौडा बनाउने प्रस्ताव अघि सा¥यो । मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशक अडिग भएर त्यसका पक्षमा खडा थिए । जापानको सहयोग नियोग– जाइकालाई त्यो प्रस्ताव रुचिकर हुन सकेन, किनभने उनीहरूको प्राथमिकतामा कृष्णभीर थियो ।

वर्षायाममा त्यहाँ बर्सेनि बाढीपहिरो गएर बाटो अवरुद्ध हुने गरेकाले मानिसको आवत्जावत मात्र होइन, विकासका अत्यावश्यक निर्माण सामग्री पनि समयमा उपत्यका भित्रिन नसकेर धेरै ठूलो क्षति व्यहोर्नु परेको उनीहरूको आफ्नै अनुभव थियो । त्यसैले उनीहरू कृष्णभीरको पहिरो जाने ठाउँभन्दा केही वरबाट खोलामा पुल निर्माण गर्ने र पारिपट्टि चार किलोमिटर परबाट अर्को पुल बनाएर फेरि पुरानै बाटोमा जोड्ने सल्लाह र सुझाव दिइरहेका थिए । उता मणिन्दराज श्रेष्ठ, जो जापान सरकारका तर्फबाट नेपाललाई प्रदान हुने आर्थिक सहयोगका निम्ति आधिकारिक नेगोसियटर हुन्, उनीचाहिँ टीकाभैरव र निजगढको फास्टट्र्याक खोल्ने विकल्पलाई नेपालले प्राथमिकता प्रदान गरोस् भन्ने चाहन्थे । त्यस प्रकार तीन भिन्न परियोजना विचाराधीन थिए । मन्त्रालयले छनोट गर्न सकेको थिएन ।

त्यस्तैमा एक रात साढे ९ बजे यो पंक्तिका लेखकलाई मणिन्द्रराजजीको फोनबाट निम्ता आयो, भोलिपल्ट बिहानको कफीका निम्ति । आफ्नो समयका वरिष्ठ पत्रकार तथा प्रखर बुद्धिजीवी मणिन्द्रजीको निम्ता पाउनु आफैंमा सम्मान र गर्वको विषय थियो । नयाँबानेश्वरको उनको अफिसमा म समयमै पुगेँ । मलाई बोलाउनुको कारण रहेछ, त्यही परियोजना छनोटमा प्रकाशमान सिंहको सहयोग जुटाउनु । त्यसबेला प्रकाशमानजी, भौतिक योजना तथा यातायातमन्त्री भएकाले परियोजना छनोटमा उनको निर्णायक भूमिका हुने नै भयो । त्यही प्रभाव, आफूले चाहेको प्रोजेक्ट, अर्थात् फास्टट्र्याक निर्माणका पक्षमा उपयोग गर्न उनले मेरो सहयोग खोजेका थिए ।

गणेशमानजीको समयदेखि त्यो परिवारसँग मेरो अत्यन्त घनिष्ट सम्बन्ध थियो, त्यसैले मेरो सुझाव प्रकाशमानजीले ग्रहण गर्ने मनिन्द्रजीको निष्कर्ष रहेछ । उपत्यका प्रवेशको वैकल्पिक राजमार्गको खाँचो सुरक्षाका दृष्टिले पनि टड्कारो थियो । तिनताका त्यसमाथि छलफल र बहस पनि चलिरहेको थियो । म पनि त्यसका पक्षमा स्पष्ट थिएँ । तैपनि मैले आफ्नो जिज्ञाशा मेट्न सोधें– होइन, जाइकाको मुग्लिन नारायणगढ सडकभन्दा कृष्णभीरलाई जोड दिनुको कारण के हो ?

मनिन्द्रजीको जवाफ थियो– त्यस्तो खास केही होइन । हो, भने यो हो कि जापानीहरू जो टुरिस्टका रूपमा नेपाल आउँछन्, उनीहरू आफ्नो सरकारले उपहारमा प्रदान गरेका योजना देखुन् र स्वदेश फर्केपछि त्यसका बारेमा चर्चा गरून् भन्ने चाहन्छन् । जापानका चाहे पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति वा बुद्धिजीवी किन नहुन्, ती सबै नेपाल आउँदा टुरिस्ट भएर आउँछन् । अनि, जति टुरिस्ट आउँछन्, ९५ प्रतिशत उनीहरू साइड सिइङका लागि पोखरा गाडीबाट जान्छन् । तिनले कृष्णभीरका सडक र पुलमा बनेका स्मारक देखेपछि गाडी रोकेर हेर्छन् र फोटो खिचेर लैजान्छन् ।

मुग्लिनबाट नारायणगढ जाने बाटो कोल्टे पर्ने भएकाले उनीहरूको नजर पर्दैन । लुम्बिनी जानेलाई त्यो बाटो काम लाग्थ्यो तर सम्पन्न जापानीहरू हवाईजहाजबाट जाने भएकाले त्यो सडकमाथि उतिसारो रुचि प्रकट नगरेका हुन् । कुरोको चुरो बुझेपछि मैले अलि ठट्टा गरेजस्तो गरेर भनें– त्यसो भए मणिन्द्र दाइ ! नेपाल आउने जापानी टुरिस्ट जो पोखरा नपुग्लान्, ती पनि भक्तपुर अवश्य पुग्छन् । भक्तपुरको बाटो, पुरानो र साँघुरो भएर २०।२५ मिनेटको यात्रा, आजकल जामले गर्दा डेढदेखि दुई घण्टा लाग्छ । त्यो बाटो बनायो भने सबैलाई राम्रो हुन्छ । नेपाल आउने जापानी टुरिस्ट पनि खुसी हुन्छन् । ओहो ! त्यो बाटोको यात्रा त साह्रै कष्टसाध्य छ । अस्ति भरखर म बनेपा गएर फर्केको थिएँ, भक्तपुरबाट काठमाडौं आइपुग्न दुई घण्टा लाग्यो । तर …उनी खित्का छाडेर हाँस्न थाले ।

मैले सोधें– किन, त्यस्तो हाँस्नुपर्ने गल्ती मैले के गरेँ र ?

उनको जवाफ थियो– एक प्रतिशत मात्र काम लाग्ने कुरा भएको भए पनि हुन्थ्यो, यो त पूरे “होपलेस्” भयो । होपलेस् ? त्यो शब्द राम्रो होइन, त्यो थाहा थियो । तर अंग्रेजी भाषाका मर्मज्ञले समेत त्यो शब्दको प्रयोग गरेपछि मलाई आफूले ठूलै गल्ती गरेछुजस्तो लाग्यो । तुरुन्त अर्को प्रश्न गर्न सकिनँ । एक क्षणपछि उनैले थपे– मैले होपलेस् भनेको किन हो भने उपत्यकाभित्र पहिलेदेखि नै राम्रो भनेर कहलिएका सडकलाई अझ चौडा पार्ने प्रस्ताव, न हाम्रो सरकारले मान्छ, न जापान सरकारले ! दुवैको प्राथमिकतामा नपर्ने भनेको कतैबाट पनि सम्भावना नभएकाले त्यसलाई होपलेस् भनिएको हो ।

त्यसमाथि थप प्रकाश पार्न सक्ने अवस्था मेरो थिएन । उनले पनि रुचि देखाएनन् । परिणाम यो भयो कि हामी दुवै सेलाउँदै गरेको कफी पिउन थाल्यौं । कप रित्तिन लागेको के थियो, मणिन्द्रजीले एकाएक नयाँ विषय फेला पारेजस्तो गरेर भने– ल, एउटा काम गरौं न त ! नेपाल सरकारलाई सहमत गराउने काम माथवरजीको, जापानलाई कन्भिन्स गर्ने काम मेरो । लेट अस ट्राई ।

त्यसमा सहमत भएर हामी छट्टियौं । बेलुका मैले प्रकाशमानजीसँग कुरा गरेँ । कोटेश्वरदेखि सूर्यविनायकसम्म बाटो चौडा गर्न जापानले उपहार योजनामा पारेर सहयोग गर्ने र त्यसका निम्ति मणिन्द्रजीले पहल गर्ने वचन दिएको कुरा सुनेपछि प्रकाशमानजीले पनि भोलि नै मन्त्रालयका तर्फबाट आवश्यक प्रस्ताव तयार पार्न लगाउने आश्वासन दिएर बिदा गरेका थिए । (अर्को अंकमा समाप्त हुने)