लोग कत्ल भी करते है तो चर्चा नहीं । हम आह भरते है तो हो जाते बदनाम !
कम्युनिस्टका दर्जनौं समूहमध्ये एकता केन्द्र फुटालेर बनाएको माओवादीबाट एमाले हुँदै हाल नेकपाका नेता बन्न पुगेका पुष्पकमल दाहालले कांग्रेस महासमितिमा प्रस्तुत भएको तर परिपक्व बनिनसकेको “संविधानबाट धर्म निरपेक्षता हटाएर त्यो स्थानमा हिन्दूधर्म” पुनस्थार्पित गर्न पेस भएको बहुमत प्रतिनिधिहरूको प्रस्तावप्रति अनावश्यक टिप्पणी गरेको घटनाले हिन्दी गजलको माथिका पंक्ति स्मरण गराएको हो ।
उनले चेतावनी दिएका छन्– धर्म निरपेक्षताबाट कांग्रेस पछि हटे पार्टी नै समाप्त भएर जाने छ । राणा प्रधानमन्त्री र राजा महेन्द्रले पनि दिन नसकेको चेतावनी कांग्रेसलाई दिने शक्ति र सामथ्र्य उनलाई कहाँबाट प्राप्त भयो भन्ने बुझ्न त्यसको लगत्तैपछिको पंक्तिले स्पष्ट पार्दछ । उनले भनेका छन्– संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता संविधानका मुख्य चार खम्बा हुन्, त्यसको एउटा खम्बा भत्काएर सिङ्गै घर भत्काउने दुस्साहस नगर्न उनले कांग्रेसलाई सचेत तुल्याएका छन् ।
दाहालले जुन बेला कांग्रेसलाई दुस्साहस नगर्न आफ्नो औकातभन्दा ठूलो चेतावनी दिइरहेका थिए, ठीक त्यसैबेला कांग्रेस महासमितिको बैठकको बन्द सत्रमा सभापति शेरबहादुर देउवामाथि भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रमुखको पदमा दाहाल पुत्रीलाई जिताउन चुनाव प्रचार गरेको आरोप लागिरहेको थियो । त्यो सत्य पनि थियो । चुनावमा तालमेल गरेकाले त्यसो गर्नु राजनीतिक नैतिकता र इमानदारिताको कसौटी थियो । कांग्रेस सभापतिले त्यही गरेका थिए ।
हुन त दाहालले पनि संविधानका चार खम्वाको साक्षी राखेर कांग्रेसलाई सचेत गराउने जुन दुस्साहस गरेका छन्, त्यसैबाट उनको पृष्ठभूमि र शक्तिको स्रोत पनि प्रकट हुन्छ । उनले संविधानका चार विशेषतालाई पशुपतिनाथभन्दा पनि पवित्र र छोयो कि भष्म हुने जुन चेतावनी दिएका छन्, ती कुनै पनि एजेन्डा १२ बुँदे दिल्ली सम्झौताअगाडि तत्कालीन परिस्थितिमा विद्यमान रहेका कुनै पनि पार्टीका एजेन्डा थिएनन् । यति भनिसकेपछि उनले कांग्रेसलाई त्यस्तो चेतावनी दिने आँट कताबाट प्राप्त गरेका रहेछन्, बुझ्न सजिलो भएको छ ।
अतीतमा १० वर्षसम्म कथित् जनयुद्धका नाममा माओवादीले हत्या, हिंसा र आतंकको जुन ताण्डव मच्चायो, त्यसको अन्तरकथा बाह्रबुँदे दिल्ली सम्झौतापछि छिप्नै नसक्ने गरी प्रकट भएको तथ्य कसैबाट छिपेको छैन । त्यही प्रकृतिको काम मिर्जाफर र लेन्डुप दोर्जेले आफ्नो समयमा गर्दा उनीहरू राष्ट्रघातीका पर्याय बनेर बदनाम भएका थिए, किनभने त्यहाँका राष्ट्रवादीहरूले उनीहरूलाई नाङ्गेझार पारेर नङ्ग्याउने काम गर्न कुनै कसर बाँकी राखेका थिएनन् । नेपालमा त्यस्तो काम तत्काल त शान्तिका नाममा भएन, तर त्यसपछि त उठाउनु पर्ने थियो, कसैले उठाएनन् ।
अनि, जो चोर उसैको ठूलो स्वर किन नहोस् ! भारतमा बसेर नेपाल र नेपालीका विरुद्ध कथित जनयुद्धका बहानामा मिर्जाफर र दोर्जेले जे गरेका थिए, त्यही काम गर्ने दाहाल र माओवादीलाई कांग्रेस र यहाँका कथित बुद्धिजीवीहरूले १७ हजार नेपालीको हत्या, किन र कुन राज्यव्यवस्था स्थापित गर्न भएको थियो र आयो के भन्ने प्रश्न गर्नुको बदला उल्टो उनीहरूलाई क्रान्तिकारी र लोकतन्त्रवादीको पगरी गुँथाइदिने काम गरेकाले अहिले माओवादीका माउ नै नकचरो भएर आफूलाई चोख्याइदिनेका विरुद्ध खनिन थालेका छन्– कांग्रेस नै समाप्त पारिदिनेजस्तो हास्यास्पद चेतावनीको झुसिलो डकार ओकलेर ।
त्यसो भनेर संविधानसभाबाट संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक निर्वाचन पद्धतिको एजेन्डा निर्धारित गरेर त्यही मार्गचित्रमा अघि बढ्ने सर्तमा संसद्वादी सात दल र माओवादीलाई १२बुँदे दिल्ली सम्झौता गराउने भारतलाई उड्किन खोजेको होइन, त्यो काम त उनै दाहालले पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाली सेनाका प्रधानसेनापति हटाउन खोज्दा नसकेपछि आफैं हट्नु परेको भोलिपल्ट नयाँबानेश्वरमा माओवादीले आयोजना गरेको विरोधसभामा “विदेशी प्रभुले” आफूलाई हटाएको स्वीकार गरेका थिए ।
विदेशी प्रभु कसलाई भनेको होला भनेर गम खाइरहेका नेपालीलाई जवाफ मिलेको थियो, भारतका तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जीले कतारको टेलिभिजन अलजजिरालाई दिएको इन्टरभ्युमा नेपालका प्रधानसेनापति हटाउँदा अस्थिरता उत्पन्न हुने आशंकाले त्यसो गर्न भारतले रोकेको हो भनेर पुष्टि गरेका थिए । उनले यो पनि भनेका थिए, नेपालको हिंसात्मक द्वन्द्व रोक्न र हतियार उठाएका माओवादीलाई प्रजातन्त्रको मूलधारमा ल्याउन भारतले मध्यस्थता गरेर शान्ति कायम गरिदिएको हो ।
यो दोहो¥याइरहन आवश्यक छैन कि माओवादीको कथित जनयुद्ध नै कांग्रेस र प्रजातन्त्रको विरुद्ध थियो । कांग्रेसको नेतृत्वमा २०४६ सालमा पुनस्र्थापना भएको संसदीय व्यवस्थालाई संस्थागत तुल्याउन बनेको २०४७ सालको संविधान, कांग्रेसका आदर्श र मूल्य–मान्यतामा आधारित थियो । त्यसैका विरुद्ध जनयुद्धको घोषणा गर्ने माओवादीको निशाना प्रजातन्त्र थियो र लक्ष थियो– नयाँ जनवाद ।
लोकतन्त्र, माओवादीको लक्ष्य हुन्थ्यो भने भारतका माओवादीले त्यहाँ जनवादका निम्ति कथित् जनयुद्ध गरिरहन पर्ने नै थिएन, किनभने भारतमा सन् १९४७ देखि नै लोकतन्त्र छ । त्यही लोकतन्त्र ध्वस्त पारेर त्यही ध्वंसमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न माओवादी जनयुद्ध भएको हो– पहिले नक्सालवादीका र अहिले माओवादीका नाममा ।
उनीहरूले नेपालका दाहाल तथा भट्टराई मार्का माओवादीलाई गद्दार मात्र घोषित गरेका छैनन्, माओको नाम बदनाम तुल्याउने कुलंगार भनेर भत्र्सना पनि गरेका छन् । सत्तास्वार्थका लागि भारतीय गुप्तचर संस्थाको डिजाइनमा लागेर माओवादी आन्दोलनलाई प्रचण्ड धोका दिएको आरोप उनीहरूले दाहाल र भट्टराई दुवैमाथि लगाउँदै आएका छन् । उनीहरूका आधिकारिक दस्तावेज त्यसका प्रमाण हुन् ।
सैद्धान्तिक रूपमा प्रजातन्त्रको सबैभन्दा ठूलो दुश्मन अधिनायकवाद हो । अधिनायकवादको उत्कृष्ट उदाहरण भनेकै कम्युनिस्ट शासन व्यवस्था हो । राजा– महाराजा, सैनिक तानाशाह अथवा शेखहरू किन नहुन्, उनीहरू सेनाको समर्थन र सहयोगमा निर्भर हुन्छन् । सेनालाई पर्याप्त सुविधा र सहुलियत दिएर उनीहरूले आफ्नो शासन टिकाउनु पर्ने हुन्छ ।
कम्युनिस्ट शासन पार्टी संगठनमा आधारित हुने भएकाले त्यसले सत्तामाथि कब्जा गरेपछि सेना, प्रहरी, प्रशासन, अदालत र देशको उत्पादन र वितरण पद्धतिमाथि नियन्त्रण गर्ने र राज्यका स्रोत र साधनलाई कम्युनिस्ट पार्टीको मतहतमा ल्याउने हुनाले त्यसलाई उखेल्न लरतरो प्रयासले सम्भव हुँदैन ।
नेपालका कम्युनिस्टहरू यद्यपि सत्ताकब्जा गरेर आएका होइनन्, निर्वाचनबाट सत्तामा पुगेका हुन्, तथापि कब्जाको मानसिकताले कसरी काम गरेको छ, त्यसको उदाहरण प्रधानमन्त्रीको कार्यालयले विभिन्न मन्त्रालय अन्तर्गतका महत्वपूर्ण विभाग र राष्ट्रिय महत्वका ठूला परियोजनामाथि निर्णय र अनुगमन गर्ने सबै अधिकार केन्द्रित गरेको घटनाले सबैलाई छर्लंग पारेकै छ ।
कांग्रेसलाई नेपालका कम्युनिस्टको नाभी कहाँ जोडिएको छ, त्यो कण्ठ छ । उनीहरू जति मच्चिए पनि आखिर थच्चिने कहाँ हो, त्यो पनि प्रष्ट छ । तैपनि कांग्रेसका महासमिति सदस्यहरूले आफ्नो संगठनका वैधानिक निकायका माध्यमबाट संविधानमा संशोधन माग गर्न पाउने नागरिक तथा संवैधानिक अधिकारको प्रयोग गर्दा माओवादीका नेतालाई आफ्नो लुटको लंका नै लुटिन लागेको ठानेर ऊ तर्सेको देख्दा माथिको गजलको पंक्तिको झल्को लागेको हो ।
आफूले सिंगो संविधान च्यात्न अर्काको बुइँ चढ्न पुगेकाहरूले आफ्नै बलवुतामा संविधान संशोधनका निम्ति जनमतसंग्रहको माग गर्दा किन सातो गएको ? किन होसै गुम भएजस्तो गरी अत्तालिएको ? ( लेखक तथा स्तम्भकार माथवरसिंह बस्नेत)
प्रतिक्रिया