काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको काठमाडौँको चक्रपथको निरीक्षणका लागि उच्च चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको चक्रपथको निरीक्षणका लागि चिनियाँ प्रतिनिधिमण्डल यही मङ्सिर २२ गते आउन लागेको चक्रपथ सुधार परियोजनाले जनाएको छ ।
परियोजनाका प्रमुख सुजन खनालले चक्रपथको अन्तिम निरीक्षण तथा अवलोकनका लागि चिनियाँ सरकारका वाणिज्यमन्त्रीको नेतृत्वमा प्राविधिकसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिवार काठमाडौँ आउन लागेको जानकारी दिनुभयो ।
कमीकमजोरी नदेखाएको अवस्थामा अहिलेकै निर्माण कार्य तथा डिजाइनलाई सदर गरी नेपाल सरकारलाई चक्रपथ हस्तान्तरणको मिति तय गरिने परियोजना प्रमुख खनालले जानकारी दिनुभयो । कोटेश्वरदेखि कलङ्कीसम्म निर्माण गरिएको उक्त चक्रपथको डिजाइनसमेत चिनिया प्राविधिकले नै गरेको छ ।
सम्झौता अनुसारको निर्माण कार्य चिनिया निर्माण कम्पनीको तर्फबाट सम्पन्न भइसकेको जानकारी दिंदै परियोजना प्रमुख खनालले नेपाल सरकारको तर्फबाट सर्भिस ट्रयाक, आकाशे पुल लगायतका निर्माण कार्य जारी रहेको बताउनुभयो ।
तत्कालिन चिनिया राष्ट्रपति हु जिन्ताओको नेपाल भ्रमणका बेला चक्रपथ बिस्तारका लागि नेपाल सरकारले औपचारिक प्रस्ताव गरेको थियो । सोही प्रस्ताव अनुरुप चीन सरकारबाट प्राप्त ३१ करोड २० लाख युआन (करीब तीन अर्ब ७५ करोड नेपाली रुपियाँ) को अनुदान सहयोगमा चक्रपथ बिस्तार भएको हो ।
प्रतिक्रिया